एमालेसँग भएको सम्झौता अनुमोदन गर्न कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै
काठमाडौं : एमालेसँग भएको सम्झौता अनुमोदन गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्न लागेको छ। आज बिहान ९ बजे बस्ने गरी सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको छ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले एमालेसँगको सहमति अनुमोदन गर्ने छ। कांग्रेसले राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार र संविधान संशोधनमार्फत वर्तमान राजनीतिक व्यवस्थाको रक्षाका लागि एमालेसँग सत्ता समीकरणमा सहमति गरेको महतले बताए।
सहमतिअनुसार एमाले केपी ओली करिब डेढ वर्ष प्रधानमन्त्री बन्नेछन्। त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने छन्। कांग्रेस एमालेको सहमतिको सरकारमा कांग्रेसले १० मन्त्रालय पाउने भएपछि कुन मन्त्रालय कसले पाउने भन्ने घनिभूत छलफल भएको छ।
कांग्रेसका एक नेताका अनुसार संस्थापन पक्षले ६ वटा मन्त्री, वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षलाई ४ मन्त्रीको नाम सिफारिस गर्ने मोटामोटी सहमति भएको छ। संस्थापन पक्षका एक नेताले भने, ‘यो मोटामोटी खाका मात्र हो। कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषय कार्यसम्पादन बैठकपछि छलफल हुन्छ। सभापतिजीले यसमा काम गरिराख्नुभएको छ।’
प्रतिक्रिया दिनुहोस !