चिया–पाउरोटी
गत हिउँदको कुनै एक दिन पत्रकार किरण दाहालले मेसेज गरेर मेरो चिया÷कफी ‘ह्याबिट’सम्बन्धी केही सोधे। उनले तातो पेयबारे रिपोर्ट बनाउँदै गरेको पनि बताए। त्यस बखत भारतको पिंक सिटी भनिने जयपुरका सम्मोहनकारी दृश्य हेर्दै सडक नाप्दै थिएँ म, साथीहरूसँग। हतारहतारमा केही शब्द टाइप गरेर पठाएँ। उनले चिया÷कफीको इतिहासदेखि पारखीहरूका अनेक खाले सोख र पेय रेसिपीबारे राम्रै रिपोर्ट बनाएछन्। उनको त्यही एउटा जिज्ञासाले भने मेरो स्मृतिको कोठरीमा केही हर्कत गर्न थालिसकेको थियो।
हाम्री आमा उबेला अत्यधिक चिया पिउनेमध्ये पर्नुहुन्थ्यो। चुलोमा चियाको केतली अटुट ! फुर्सदका दिनहरूमा दिनैभर चिया पिउन जुट्ने मान्छे खाली नै नहुने। बर्मेली बस्ताकोटीकी छोरी, चियाको आदत मानौं उहाँको नशानशामा भिजेको थियो। कतिसम्म भने पैंतालीस÷छयालीस सालको नाकाबन्दीमा चिनीको हाहाकार हुँदा त्रिवेणीसम्म पुगेर ल्याएको भेलीसँग समेत चिया पिउनुहुन्थ्यो आमा। एउटा हातमा भेलीको डल्लो लियो र पत्तीको कडक स्वाद भरिएको चिया सान्साना टुक्रा भेलीसँग सुरुप्प पार्यो ! म यही चिया संस्कृतिसँग भिज्दै हुर्किएँ।
अहिले त सितिमिति चिया पिउन्नँ। पिइहाले कालो चिया पिउँछु। सेतो चिया नपिउनेचाहिँ मन नपरेर होइन, शरीरले नै नसहने भएर। पछिल्ला दिनमा मेरो खासा मनपर्दो पेय ग्रिन टी हो। तर, यो नभए थोरै चिनी राखेको कालो चिया। कागती खासै चाहिन्न, एक दुई थोपाको गन्ध पाए ठीकै लाग्छ। कफीचाहिँ जाडो मौसममा बढी मन पर्छ। जाडोमा किन भनेको भने गर्मी मौसममा मेरो ज्यानले कफी भन्ने जिनिस ठ्याक्कै सहन्न। यसले उत्पादन गर्ने गर्मीले हो या केले हो, नाकबाट ह्वाल्लै रगत बग्न थाल्छ। त्यसैले गर्मीमा म यो चिज घरायसी प्रयोगका लागि किन्दिनँ। साथीभाइसँग कफी हाउसमै पुगियो भने त अर्थोक के पिउने ?
रमाइलो कुरो सुनाऊँ, यति भएर पनि धेरै दिनपछि कहिलेकाहीँ बाक्लो दूध चियाको खुब तलतल लाग्छ। दिउँसो घरमा एक्लै बसेको दिन होस्, आफैंले पकाएको कपभरिको दूध चिया खाँदा एकाएक स्मृतिको चक्का घुम्दै पश्चिमतिरको यात्रा तय गर्छ नोस्टाल्जिक लयमा बत्तिँदै बत्तिँदै। आमाको घरको जस्केलो हुँदै पिँढीमा उक्लिन्छ र मझेरीको खाट अघिल्तिर टक्क अडिन्छ। भर्खरै उमालेर स्टिलको थालमाथि राखेका केही थान गिलास हुन्छन् र त्यसैको बगलमा हुन्छ आफ्नै अलग अन्दाजमा पल्याँटी मारेर बस्नुभएकी आमाको आकृति। चियाको एक हल्को हरक नाकबाट फोक्सोसम्म पुगेर यति चिज सम्झन भ्याइसक्दा ठीक यतिखेर भने आँखा अघिल्तिर सेरामिकको कपमाथि बनिहरेको हुन्छ बाफको एउटा पातलो गुम्बज र त्यो हावामा उड्दै उड्दै हृदयभरि बस्न आइपुग्छ।
हुन सक्छ, यो तलतल चियाको नभई ती दिनको स्मृतिको हो। चियापारखी आमाको चिया पिउने अन्दाज र आकृतिको तलतल हो। मथिंगलको स्टेसनमा सुस्तरी साइरन बजाएर आइरहने, गइरहने चित्रात्मक दृश्यका आवृत्तिहरूको तलतल हो। यति बेला म दूध चियाले बिगारेर छोड्ने मेरो शरीरको बायोलोजी बिर्सिदिन्छु। यसरी बिर्संदा आनन्दित हुन्छु। सोच्छु, चल् भाइ कहिलेकाहीँ स्मृतिको मादक लयमा बाँचौं !
तपाईं छक्क पर्नुहोला, यस्तो बेला च्यूराको फाँक वा पाउरोटीका पिससँग दूधचिया जुरोस्, त्यो जति मीठो जिनिस अर्थोक केही लागे मार्दिनु ! दही–च्यूरा वा दूध–च्यूरा पनि मन पर्छ। तर, तीसँग स्मृतिको त्यस्तो विशेष धागो जोडिएको छैन जति चियासँग जोडिएको छ। चियाको सुर्कीसँग च्यूराको फाँकको त्यो दुर्लभ स्वाद अरूमा कहाँ ! अझ च्यूरा बजारका नभई दसैंको बेला राम्ररी पाकिनसकेको हरियै धान झाँटेर कुटेका घरैका होऊन्। वाह त्यो स्वाद ! त्यस्तै मेरो स्मृतिमा झुन्डिएको मनपर्दो अर्को स्वाद हो, चियामा चोबलिएर जिब्रामा उक्लेको पाउरोटीको। यो अर्कै कुरो हो, अहिले पाउरोटी उबेला जस्तो विशेष लाग्दैन। अरू थोक जस्तै सामान्य लाग्छ। भोकमा भेट्दा मीठो लाग्छ। यत्ति हो।
हामी सान्साना छँदा पाउरोटी अहिलेजस्तो सहजै उपलब्ध हुन्थेन। न त त्यो बिहानको नास्ता वा दिउँसोको खाजाका रूपमा सामान्य प्रचलनमा थियो। पाउरोटी हाम्रा लागि विशेष दिन पारेर घरका सबै जुटेर खाने खाजा थियो। त्यो किनभने घरमा हम्मेसी चल्ती पैसा हुन्थेन। भएको जेजति हुन्थ्यो कि त आमाको चोलाको गोजीमा या पटुकाको फेरमा हुन्थ्यो कि हजुराँको मजेत्रोको छेउमा कसेर बाँधिएको अवस्थामा। घरमा नियमित पैसा कमाएर ल्याउने मान्छे पनि त थिएन। भए पनि यसरी पाउरोटी खानु सोखको कुरा मात्रै हुन्थ्यो। स्कुलबाट फर्किंदा कहिले बिहानको भात हुन्थ्यो, कहिले भुटेर तखतामा राखिछोडेको मकैभट्ट। कहिले हुन्थ्यो सुक्खा रोटी र तरकारी वा अचार। र, कहिलेकाहीँ हुन्थे गहुँका बाक्ला ढुस्स परेका पानीरोटा। तै, केही न केही हुन्थ्यो। किनभने हामीलाई अटुट खाना, खाजा पकाइतुल्याई राख्दिने हजुराँ जो हुनुहुन्थ्यो। यो मानेमा हामी भाग्यमानी हौं पनि। त्यसैले पनि हामीले भोकको उस्तो अनुभव गरेनौं जति श्रम र श्रमजन्य दुःखहरूको गर्यौं।
खैर, यहाँ सप्रसंग चिया–पाउरोटीका रमाइला किस्सा जोड्नु छ।
०००
चिया–पाउरोटी खाने कि त बजार–चोकतिरका रैथाने हुन्थे कि बिहानको दूध बेच्न चोकतिर लागेका गफी गँजडीहरू। मलाई अचम्म के कुरामा लाग्थ्यो वा अझै पनि लाग्छ भने उबेला लोकल काठे डिँगा पालेर दुई–तीन माना दूध बेचेको पैसाले बिहानभरि पसलमा माहुरीको गोलोझैं बसेर गफ चुट्दै चिया खाने मानिसहरूले महिनावारी दूधको पैसो घर ल्याउँथे कि ल्याउन्नथे होलान् ? ती एकैचोटि भात खाने बेलातिर बल्ल घर फर्कन्थे। कतिपय त त्योभन्दा पनि अबेला लखरलखर गर्दै आइरहेका हुन्थे ! यिनीहरू कसका घर भैंसी ब्याएका छन्, कसका छोराछोरीको बिहे बटुल गर्नु छ वा कसको गोरु बलियो र झक्की छ जस्ता गफले बिहान सिध्याइदिन्थे। साथमा दुईतीन राउन्ड चिया र पाउरोटी पनि हजम गर्नु त छँदै थियो।
हाम्रा घर लोग्नेमान्छे थिएनन्। भएका एउटा दाजु काठमाडौं त्रिचन्द्र क्याम्पसमा पढ्दै हुनुहुन्थ्यो। त्यसैले हाम्रामा कति बेला ‘लौनीछोरा’ आइपुग्लान् र भातभान्साबाट उछार होला भन्नुपर्ने थिएन। तर, गाउँबाट बजारतिर तेर्सिएका लोग्नेमान्छेहरू चियासँगै गफको रन्कामा रल्मलिँदा तिनका घर–चुलाबाट छुट्ने बियाँलोको कटाक्ष टड्कारै सुनिन्थ्यो, ‘आफू च्यापाउरोटी खा’र अघाउँचन् केरे ! हाम्लाई चटारो परेको किन बुझ्थे !’ यसप्रकार चियापाउरोटी गृहिणीका आक्षेपको सोखिन खान्कीका रूपमा आरोपित हुन अभिषप्त थियो भन्ने मानौं।
अहिले यसो गम्छु, उतिसारो किन्न पनि नपाइने भएर न पाउरोटी त्यस्तो ‘चिज’ बनेको रहेछ। सबैको पहुँचको वस्तु नभएकाले। उस्तै परे गृहकलह नै सिर्जना हुने चिजसमेत भएकाले। अहिले कसैले यसो भन्छ त ?
मथिंगलको स्टेसनमा सुस्तरी साइरन बजाएर आइरहने, गइरहने चित्रात्मक दृश्यका आवृत्तिहरूको तलतल हो यो। यति बेला म दूध चियाले बिगारेर छोड्ने मेरो शरीरको बायोलोजी बिर्सिदिन्छु। यसरी बिर्संदा आनन्दित हुन्छु। सोच्छु, चल् भाइ, कहिलेकाहीँ स्मृतिको मादक लयमा बाँचौं !
मलाई यही पाउरोटी नामको खानेकुरो अलिअलि मन पर्थेन ! कति मन पथ्र्यो भने एक दुईपल्ट खाएर यसको स्वाद पाएपछि म घर अगाडिको पूर्वपश्चिम राजमार्ग हुँदै साइकलको क्यारीमा पाउरोटीको टोकरी लिएर हिँड्ने मान्छे कति बेला आउँछ भन्दै कुर्ने भएँ। कारण हाम्रो नजिकको चोक, बजारमा पाउरोटी ल्याउने, बेच्ने यही एउटा मान्छे हो भन्ने मैले बुझेकी थिएँ। आफूसित कथम् पैसा भएर उसलाई पर्खंदाको कुरो अर्कै भइहाल्यो तर पैसा नभए पनि उसित मागेपछि एकाध पिस दिएर छोड्थ्यो। त्यसैले म उसलाई कुर्थें। काले काले हँसिलो पाउरोटीवाला बडो मनकारी थियो। ‘भैया दिनुन...’ भन्दै कुद्न थालेपछि म तबसम्म दगुर्थें जबसम्म उसले साइकल रोकेर हातमा पाउरोटी थमाउन्नथ्यो। त्यसपछि त्यो मनकारी पाउरोटीवालाका सुकिला सेता दाँत हार लागेर मुस्कुराएको मलाई भर्खरैजस्तो लाग्छ। सानै थिएँ। सायद यसरी मैले हातमा पाउरोटी लिएर दंग पर्दा ऊ आफूले गाउँमा छाडेर आएका छोराछोरी पो सम्झँदो हो कि ! न वा अरू नै केही सोच्दो हो। तर, एक फाँक सुकिलो मुस्कुराएपछि ऊ साइकल चढेर बाटो लाग्थ्यो।
यस्तो एवं रीतले हुन थाल्यो। मैले यसरी कुर्न नभ्याएको दिन ऊ आफैं साइकलको घन्टी बजाउँथ्यो। त्यहाँ न कुनै भाषाको जरुरत पथ्र्यो न औपचारिकताको। म खुरुरु निस्किन्थेँ। ऊ पिस वा भक्कुमध्ये जुन छ त्यो पाउरोटी मेरा हातमा राखिदिएर छोड्थ्यो। कुनै दिन मलाई नदेखेपछि साइकल रोकेर हाम्रो घर अगाडिको गुलमोहरको छायामा अलि बेर पर्खिन्थ्यो। जब आमाले यो सब प्रकरणको भेउ पाउनुभो, मैले खुब गाली खाएँ। आमाले पाउरोटीवालालाई पनि थर्काएर भन्दिनु भो, ‘पैसा दिएर किन्दा दिनू नत्र नदिनू !’
ऊ निल्लै पर्यो।
अब बिस्तारै ऊसित मेरो भेट पातलिँदै जानु थियो। पाउरोटीको यो किस्सासँगै मेरो जीवनबाट सम्भवतः सबैभन्दा पवित्र मध्येको एउटा मीठो र सुकिलो मुस्कान ओझेल पर्नु थियो। उसका आँखामा कुनै त्यस्तो अपवित्र कामना थिएन, यो म बडो विश्वासका साथ भन्न सक्छु। उसको अनुहार मलाई देख्नासाथ चमक्क चम्केर धपक्क बल्थ्यो। खास कुरा त कानसम्म फैलिएर उसका दाँतहरूले असाध्यै मोहक लयमा मुस्कानको जीवन्त चित्र बनाइरहेका हुन्थे। र, यसरी त्यो चित्र एउटा धमिलो स्मृतिमा सीमित भएर रह्यो।
त्यसपछि स्मरणमा बाहेक मैले कहिल्यै त्यो मानिसलाई भेटेकी छैन।
०००
नाताले भतिज पर्ने तर उमेरले मभन्दा धेरै पाका मान्छे हाम्रो गाउँको चोकबजारमा डेरा बस्न आए। तिनलाई दाइ नै भनिन्थ्यो। ती दाइ सरकारी बैंकमा जागिरे थिए। बैंकले दिएको ब्रान्डेड साइकलमा ठाँटले गुड्थे। हाम्रो घर पनि ती प्रायः साइकल लिएरै आउँथे। आमालाई हजुराँ भन्थे र हजुराँलाई पनि हजुराँ नै भन्थे। तिनको स्निग्ध दुधिलो सेतो सर्ट र टलक्क टल्किने गरी क्रिज परेको प्यान्टको नियमित परिधान म अझै सम्झन्छु। तिनी थिए, पोखरा सालडाँडा घर भएका डिल्लीराम तिवारी। भाउजू हामीलाई माया गर्थिन्। उनी पनि फरासिली, रसिली थिइन्। हामीलाई आफ्नो डेरामा बोलाइरहन्थिन्। र खास कुरा, दिउँसो भोक लाग्दा दूधको मीठो चिया र पाउरोटीको खाजा टक्य्राउँथिन्। बाफ रे ! दिन्दिनै च्यापाउरोटी ! भाउजूकहाँ जाने भनेपछि म यत्तिकै हुरुक्क हुन्थेँ !
मलाई लाग्थ्यो, चिया पाउरोटी त धनीहरूले पो खानेकुरो त ! अथवा घरमा स्वास्नी छोराछोरीको पेट मारेर चियापसलमा मग्न हुनेले। यो मेरो त्यति बेलाको अकाट्यजस्तो ठहर थियो। हुन त दाउराको भारी बेच्न वा माथि पहाडतिरबाट सुन्तला, अदुवा, कुचो, नाङ्ला, डोका आदि बेच्न आउनेहरू पनि पसलबाहिरको छेउपट्टि बसेर चियापाउरोटी नै खाएका भेटिन्थे। तर, मेरो दिमागमा पाउरोटी भनेको धनी र पैसावालले नै खाने खाजा हो भन्ने कुरो जाम परेर बसेको थियो। हामी न चियापसलमा जानु न पाउरोटी चोप्दै खाने सहुलियत पाउनु। कठै, म्याकडोनाल्डले अनेक नामनामका रोटी र केकबाट दुनियाँ पिटेको बेला हामीलाई भने पाउरोटी खाने पनि कत्रो लालसा !
क्याम्पस पढ्ने भइयो। ठूलो सहरमा पुगेपछि पो संज्ञान भो, सहरमा पाउरोटी त सबैभन्दा सजिलो र सस्तो खाजा हुँदो रहेछ। बिहान भात ढिलो पाके पनि पाउरोटी। दिउँसो के खाने भन्दा पनि पाउरोटी। बेलुकाको खाना पकाउने जाँगर नचले पनि उही पाउरोटी। मम, चाउमिन जस्ता चल्तीका खाजा खान त धेरै ढिलो पो सिकियो ! ती खान नजान्नुका दुःख कहँदा अर्को संस्मरण तयार हुन्छ। तर, पाउरोटी निर्विकल्प जस्तै हुन्थ्यो।
आजकल कहिलेकाहीँ नारायणगढ खाल्डोमा ओर्लंदा सहिदचोकदेखि उँभो प्रगतिपथतिर लम्किन्छु, मात्रै ताजा पाउरोटी किन्न। दिउँसोको खाजा खाने बेला त्यहाँ प्रायः केक र बर्गर खानेको भीड नै लाग्छ। तर, त्यतै कतै छेउतिर हतारहतार चप्पल पाउरोटी (चप्पल आकारको हुने भएर), भक्कु वा बन निस्तै चपाइरहेका कामकाजी मानिसहरू पनि प्रशस्त भेटिन्छन्। पाउरोटीका प्रकारहरूबारे यसो गम्यो, एउटै चुलोमा बनेका खानेकुरा पनि कसरी वर्गीय हुँदा रहेछन् ! फरकफरक मोलका पाउरोटीभित्र पसेर तिनको समाजशास्त्रीय अर्थ र मूल्य खोज्ने तागत र फुर्सद मसित कहाँ ? ग्राहक आउनेबित्तिकै को कहाँ उभिएर अर्डर गर्ने भन्ने मानौं पहिल्यै तय छ। केक, बर्गर खानेहरूलाई विशेष ठाउँ छ। चप्पल र भक्कु खानेलाई सडकको पेटी।
अहिले पनि मेरो गृहस्थमा हतारको खाजा पाउरोटी नै हुन्छ। तर, हाम्रा नानीहरूलाई पाउरोटी खासै मन पर्दैन। खासमा स्वास्थ्यका दृष्टिले पाउरोटी दोहोर्याइरहने खान्की होइन भन्ने मलाई थाहा छ। जब कुनै दिन आफूलाई भ्याइनभ्याइ हुन्छ, बजारका अरू चिजभन्दा यही बरु गतिलो हो भनेर चित्त बुझाउँछु। तर, बच्चा कम बाठा र ‘चुजी’ छैनन् ! जाम, चिज वा बटर दल्दिए बल्ल खाने भन्छन्। यसरी त पाउरोटी कहाँ सस्तो खाजा भयो र ? हतारको मतलब महँगो भनेर जाने हुन्छ। यी मजस्ता किसानीले बनिबुतो गर्ने आमाका छोराछोरी कहाँ हुन् त ? यिनले पाउरोटीलाई भाउ दिऊन् न च्या–पाउरोटी खान हुरुक्क होऊन्।
दूधचियाले पेट बटार्छ। अमिलो डकार आउँछ र ब्यर्थै पिएछु भन्ने बनाउँछ। तर, जब सम्झनाको धागोले तान्दैतान्दै अतीतमा बसेको स्वादसम्म पुर्याउँछ, म सबै आग्रह र असुविधा एकछिन बिर्सिदिएर अलि बेर लगाएर उमाल्छु दूध चिया। त्यसबाट छुटेको हरकले मग्न हुन्छु। एक जोडा पाउरोटीलाई ढाडबाट भाँचेर उही आफ्नो ‘क्लासिक’ शैलीमा डुबाउँछु चियाको कपभित्र र बडो आनन्दपूर्वक च्या पाउरोटीको स्वाद लिन्छु।