‘कविता जीवनको आराधना हो’
काठमाडौं : ‘पहिलेदेखि नै मैले पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिको श्रुति परम्परागत ज्ञानको भण्डार मुन्धुममा काम गरिराखेकाले अहिले पनि त्यसैमा व्यस्त छु। योबाहेक हिजोआज खास उल्लेख गर्नै पर्ने काम गरिराखेको छैन’, शुक्रबार ८० औं जन्मदिन मनाएका कवि बैरागी काइँलाले भने। मुन्धुम संस्कृतिको खोजी, लेखन, नयाँ पुस्तासँगको संवादमै अहिलेसम्म उनी रमाएका छन्।
आफैंले ‘उल्लेख’ गर्नुपर्ने कुनै काम नगरेको भन्ने काइँला अहिले पनि नयाँ पुस्ताका किताब पढिरहन्छन् र ती किताबमाथि हुने गरेका विमर्शतिर पुगिरहेकै हुन्छन्। केही दिनअघि मात्रै विमोचन भएको कथाकार नरेश नातिको किताब ‘बिर्सेको देश’ को विमोचनमा उनी प्रमुख अतिथि थिए। छोरी नामोती नेम्बाङको हात समातेर उनी कार्यक्रमतिर पुगिरहेकै हुन्छन्। कहिलेकाहीँ घरमा खबर नै नगरी पनि उनी एक्लै कार्यक्रममा हिँडिदिने गर्छन्। उनको व्यस्तता अहिलेसम्म घटेको छैन।
शुक्रबार उनले परिवारसँग केक काटेर ८०आंै जन्मदिन मनाए। उनका एक छोरी र श्रीमती छन्। नयाँनयाँ प्रविधि र ग्याजेटमा रुचि राख्ने कवि काइँला घरमा पनि प्रायः एकान्तमा बस्न मन पराउने छोरी नामतीले बताइन्। उनी भन्छिन्, ‘बुवा अत्यन्तै अनुशासित र समयको ख्याल राख्नु हुनुहुन्छ। निरन्तर काम गरिराख्नुहुन्छ।’ हरेक काम लगावका साथ गर्नुपर्छ भन्ने कुरा आफूले बुवाबाट नै सिकेको उनी बताउँछिन्।
नेपाल प्रज्ञा प्रतिष्ठानमा २०६६ देखि २०७० सालसम्म उनले कुलपतिको जिम्मेवारी सम्हालेका थिए। पाँचथरको पौवा गाउँमा १९९६ सालमा जन्मेका बैरागी काइँलाले किराँत, लिम्बू जातिमा रहेको धर्मशास्त्र मुन्धुमबारे पाँच दशकदेखि निरन्तर खोज, अनुसन्धान, गरी दर्जनौं किताब प्रकाशित गरेका छन्।
कवि काइँला भन्छन्, ‘उमेर, स्वास्थ्य अलि फितलो भएर होला गम्भीर काम गर्न सकिरहेको छैन तर पनि पहिले प्रकाशित संग्रहहरूमा परिमार्जन र संशोधन गरेर प्रकाशित गरौं कि भन्ने योजनामा लागिरहेको छु।’ साथेै उनले आफूले २०४८ सालमा प्रकाशित गरेको लिम्बू जातिमा कोखपूजा, साप्पोक चोमेललाई परिमार्जन गरिरहेको जानकारी दिए।
उनी आयामेली आन्दोलन २०२० मार्फत साहित्य क्षेत्रमा नयाँ युगको सुरुवात गर्ने साहित्यकारका रूपमा चिनिन्छन्। थोरै तर गुणत्मक कविता नेपाली साहित्यलाई दिएका काइँलाका फूल पात पतकर, बैरागी काइँलाका कविताहरू, अन्धा मान्छेहरू र हात्ती शीर्षकका कविता संग्रह प्रकाशित छन्।
लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिनेछ,
तर तिमी मसँग नै किन मर्दैछौ ?
लाग्थ्यो बन्दुक बोकेर म सुरक्षित हुनेछु
तर भयभीत अझ तिमीसँग बढी किन हुन्छु ?
‘वागमती लहरले उठेर बर्सिदेऊ’
काइँलाकै कविता पढेर हुर्किएको बताउने प्राज्ञ अभि सुवेदीको बुझाइमा ‘बैरागी काइ“ला साहित्यभित्रै विचार छर्न सक्ने सिर्जनात्मक विचारका कवि हुन्।’ उनी थप्छन्, ‘उनका कविता सुरुमा अप्ठ्यारा देखिए पनि भाव र गहिराइमा मानवता झल्कने खालका छन्। आयामेली आन्दोलनमा सक्रिय भएर नेपाली कविताको बाटो नै बदल्न सफल कविका रूपमा उनलाई लिन सकिन्छ।’
कवि मनु मञ्जिलको बुझाइमा भने नेपाली गद्य कविताको एउटा अग्लो शिखरका रूपमा कवि काइँलाको व्यक्तित्व झल्कन्छ। उनले कविता लेखनमै नयाँ टेक्निक भित्र्याए। कवितामा विचार हुनुपर्छ भन्ने सिद्धान्त अघि सारे। मञ्जिल थप्छन्, ‘काइँला जनजाति समुदायबाट आएका एक हस्ती हुन्। नेपाली मूलधारका कवितामा काइँलाले सांस्कृतिक विविधताका अनेक रङको मि श्रण गरेर कवितालाई नयाँ आकार दिए।’ उनले छलिएर रहेको संस्कृतिलाई नयाँ रङमार्फत नेपाली कवितामा प्रस्तुत गरे।
कविता जीवनको आराधना हो भन्ने काइँलाले थोरै लेखेर पनि छुट्टै स्थान हासिल गरेका छन्। हालसम्म आफ्नो काममा निकै सक्रिय र सिर्जनशील रहेका काइँलालाई ८० वर्ष पार गरी ८१आंै वर्षमा टेकेको सुखद घडीमा हार्दिक मंगलमय शुभकामना।