मनीषा बन्ने भइन् लेखिका
बलिउडका तमाम कलाकार अटोबायोग्राफी लेखेर चर्चामा आएका छन् । बलिउडकी नेपाली अभिनेत्री मनीषा कोइराला पनि त्यही लाइनमा उभिएकी छन् । उनले लेखेको पहिलो पुस्तक ‘द बुक अफ अनटोल्ड स्टोरिज’ कस्तो प्रकारको हो भन्नेबारे उनले केही खुलाएकी छैनन् ।
मनीषाले आफ्नो ट्विटर ह्यान्डलबाट ट्विट गर्दै प्रकाशकलाई दिएको धन्यवादका क्रममा लेखेको सन्देश हेर्दा यो उनको अटोबायोग्राफीझैं जीवन भोगाइ रहेको अनुमान गरिएको छ । कोइरालाले लेखेकी छन्, ‘धन्यवाद पेग्विन इन्डिया र गुरविन चड्डा, मलाई आफ्नो कथा सुनाउन प्रेरित गरेकोमा ।
यो मेरो पहिलो किताब हो । आशा छ, अरू धेरै आउनेछन् किनकि म यो काममा रमाइरहेकी छु ।’ कोइरालाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट किताबको फस्र्ट लुक पनि सेयर गरेकी छन् ।
मनीषा सन् २०१२ मा क्यान्सरबाट ग्रस्त भएकी थिइन् । उनले अमेरिका गएर क्यान्सरको उपचार गराइन् । उनले आफ्नो पुस्तकमा क्यान्सर रोगबाट पाएको पुनर्जीवनबारे विस्तृत उल्लेख गरेको अनुमान छ । व्यवसायी सम्राट् दाहालसँग कोइरालाको वैवाहिक जीवन सुखद रहन सकेन । क्यान्सरबाट मुक्त भएपछि उनको ‘सञ्जु’ फिल्म प्रदर्शन भइसकेको छ ।