चितवन : शंकास्पद गतिविधिमा संलग्न १२ जना पक्राउ
चितवन : प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई पक्राउ गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लवले आह्वान गरेको बन्दका कारण चितवनमा आंशिक प्रभाव परेको छ। चितवनमा लामो तथा छोटो दूरीका गाडी ठप्प छन्।
सदरमुकाम भरतपुरमा निजी सवारी साधन र मोटरसाइकलमात्रै चलेका छन। सदरमुकाम भरपुर वरपर साना सवारी मात्रै चलेका छन्। मुख्यबजार नारायणगढमा पसल बन्द छन्।
चितवन प्रहरीले शंकास्पद गतिविधिमा संलग्न रहेको आंशकामा १२ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई नियन्त्रणमा लिएर छानविन सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी प्रभु प्रसाद ढकालले बताए।
उनकाअनुसार जिल्लामा कुनै अप्रिय घटना भएको छैन। राति १२ बजेदेखि प्रहरीले सुरक्षा गस्ती कडा बनाएको छ। सोमवार साँझ नै जिल्लाभर सुरक्षा जाँच कडा बनाइएको थियो।