चीनलाई ‘मितिनी’ र ‘सोल्टी’ पनि

चीनलाई ‘मितिनी’ र ‘सोल्टी’ पनि

काठमाडौं : सरकारले चीनलाई उपहारस्वरूप दोस्रो जोडी गैंडा साउनभित्रै हस्तान्तरण गर्ने भएको छ। उपहार दिइने ‘मितिनी’ र ‘सोल्टी’ भालेपोथी जोडी गैंडा मंगलबार चितवनबाट काठमाडौं ल्याइएको छ।

दुई जोडी गैंडा चीन सरकारलाई दिने प्रतिबद्धताअनुसार सरकारले एक महिनाअघि एक जोडी हस्तान्तरण गरिसकेको छ। मितिनीलाई गत वैशाखमै नियन्त्रणमा लिइएको थियो भने सोल्टी गतवर्षको बाढीमा बगेपछि नवलपरासीको त्रिवेणीबाट उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी नारायण रूपाखेतीले जानकारी दिए। ‘कागजपत्र तयारीको काम भइरहेको छ, बिहीबार बेलुकीसम्म गैंडा चीन जान्छन्’, उनले भने।

गैंडा राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा राखिएको छ। चीनबाट आएका दुई प्राविधिकसहित ३० जना टोली गैंडा हेरचाहमा खटिएका छन्। गत असार २८ गते प्रधानमन्त्री केपी ओलीले ‘भद्र’ र ‘रूपसी’ जोडी गैंडा चीनलाई हस्तान्तरण गरेका थिए। २०७३ असार २६ गते नेपाल सरकारले चीनलाई दुई जोडी गैंडा उपहार दिने निर्णय गरेको थियो। सरकारले भाले र पोथी गैंडा हस्तान्तरण गरे पनि कृत्रिम गर्भधारण जस्ता अन्य प्रक्रियाबाट सन्तान उत्पादन गर्न नपाइने सहमतिसमेत गरेको छ। संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियमन तथा नियन्त्रण गर्न बनेको ऐन २०७४ ले एक आर्थिक वर्षमा एक जोडा गैंडा मात्र दिन पाउने व्यवस्था गरेपछि एकै पटक दुई जोडी दिन नसकिएको विभागले जानकारी दिएको छ।


नेपालले यसअघि ‘भद्र’ र ‘रूपसी’ चीनलाई उपपहारस्वरूप दिइसकेको छ।
 

यता ऐनले साइटिसकै अनुसूची २ अन्तर्गत पर्ने लोपोन्मुख वन्यजन्तु वा वनस्पतिको नमुना कारोबार व्यापारिक प्रयोजन गर्न नपाइने व्यवस्था गरेको छ। नेपाल संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि, १९७३ को पक्ष राष्ट्र हो। महासन्धि कार्यान्वयन गर्न संकटापन्न वन्यजन्तु र वनस्पतिका विभिन्न प्रजातिको संरक्षण र अन्तर्राष्ट्रिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्नु राज्यको दायित्व हो। सरकारले यसका लागि संविधानको धारा २९६ को उपधारा (१) बमोजिम ऐन बनाएको छ। नेपालले हालसम्म विभिन्न देशमा २८ गैंडा उपहार दिइसकेको छ।

विश्वमै दुर्लभ मानिने एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै पाइन्छ। नेपालमा पछिल्लो गणनाअनुसार छ सय ४५ वटा गैंडा छन्। यीमध्ये चितवनमा मात्रै ६ सय ५ वटा गैंडा रहेको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.