अलैंचीमा छलाङ
इलाम : त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर सकेपछि सहपाठीहरू काठमाडांैमा रोजगारी खोज्न थाले। तर, सूर्योदय नगरपालिका–११ माघेका उमेश पौड्यालले घर फर्किएर जमिन कोट्याउन थाले। उनले पहिले ताप्लेजुङ छाड्ने निर्णय गरे। उनी परिवारसहित पाँचथरको फिदिममा आएर कृषिमा लागे। त्यहाँ पनि मन अडिएन, सूर्योदय नगरपालिकामा आएर उनले व्यावसायिक खेत सुरु गरे।
उनले १२ रोपनी जमिन खरिद गरे, अहिले जमिन खाली छैन। परिवारका सबै सदस्य कृषिमै निर्लिप्त भएर लागेका छन्। पौड्याल परिवारले माघेमा आएपछि तरकारी र अदुवा खेती गर्ने निधो गरेको थियो। उनीहरूले स्थानीयको १५ रोपनी जमिन ठेक्कामा लिएर अदुवा खेती गरे।
यस बेलासम्म पञ्चकन्या तरकारी तथा अदुवा बीउ उत्पादन केन्द्र स्थापना गरेका उनले कृषिका लागि काठमाडौं सिनामंगलका चन्द्रप्रसाद सापकोटाको साथ पाए। अदुवा र तरकारीबाट आम्दानी भए पनि पौड्याल परिवारलाई ताप्लेजुङ श्रीजंघा गाउँपालिकामा गरेको अलैंची खेतीको स्वादले छाडेको थिएन। उनीहरू यहाँ अलैंचीको ठूलो खेती गर्न नसके पनि बिरुवा बिक्री गरेर आयआर्जनको बाटोमा लागे।
‘तरकारी र अदुवाबाट परिवार पाल्ने बाटो त थियो तर हामी अलिक धेरै आयका लागि अलैंचीको नर्सरी स्थापना गर्ने तयारीमा थियौं’, उनले भने।
अरूको बिरुवा किनेर दोलखाका किसानको माग पूरा गरेका उनलाई बिरुवाबाटै आम्दानी हुन्छ भन्ने लागेको थियो। उनको उत्साहमा उन्नति समावेशी वृद्धि कार्यक्रमले साथ दियो। उन्नति च्यालेन्ज फन्ट (यूसीएफ)मा सहभागी हुन अवधारणापत्र पेस गर्ने प्रतियोगितामा उनी छानिए। उनले विस्तृत प्रस्ताव पेस गरे। त्यो प्रस्तावमा पनि उत्तीर्ण भएपछि उन्नतिको साझेदारीमा काम सुरु गरेका उनले अलैंचीको कृषि प्रविधिलाई चुनौती मात्र दिएनन्, अलैंची उम्रिने र वृद्धि हुने विश्वव्यापी मान्यतालाई नै भत्काइदिए।
उनले ३८ लाख ५१ हजार रुपैयाँ खर्च गरेर नर्सरी स्थापना गरे। इलाममा यसअघि प्रवेश नै नगरेको स्थायी टनेलको अवधारणा पनि उनले अघि सारे। उनले बासको ठाउँमा स्टिलका सामग्री प्रयोग गरे। टनेलको प्लास्टिक पनि तुलनात्मक रूपमा गुणस्तरीय प्रयोग गरे। उनले नौवटा टनेल बनाएर काम थाले। ३५ हजार लिटर पानी अटाउने पोखरी बनाए। एग्रोनेटले बिरुवा सुरक्षाको व्यवस्था गरे। २ सय जना अलैंची किसानलाई उनले विज्ञ ल्याएर तालिम दिलाए।
उनले तीन रोपनीमा १८ महिनाअघि अलैंचीको नर्सरी गरे। आठ किलो बीउ नर्सरीमा रोपी नसक्दै ठूलै रकम खर्च भयो। अलैंची उम्रिन आठ महिना लाग्ने पढेका उनले सिँचाइ र झारको व्यवस्थापन गर्दै बिरुवा उम्रिने प्रतीक्षा सुरु गरे। उनको नर्सरीमा दुई महिनामै अलैंची उम्रियो।
यूभी प्लास्टिकको ग्रिन हाउसबाट बिरुवालाई चाहिने किरण र तापक्रम मात्र नर्सरीमा प्रवेश गराएकाले बिरुवा वृद्धि भएको प्रतिक्रिया उनले दिए। १८ महिनामा उनको नर्सरीका बिरुवा दुई फिटभन्दा अग्ला भएका छन्। नर्सरीमा ७० प्रतिशतसम्म बीउ उम्रिएको छ। एक किलो बीउमा १ लाख दाना हुने उनले सुनाए। पौड्यालले प्रतिकिलो १२ हजार रुपैयाँका दरले इलामको अलैंची विकास केन्द्र पान्दम र ताप्लेजुङका किसानबाट बीउ खरिद गरेका थिए। भने, ‘पाँचवटा टनेलमा अहिले कम्तीमा ५ लाख बिरुवा उम्रिएको छ।’ यो बिरुवा यसै वर्ष बिक्री गर्दा पनि २५ लाख आर्जन हुने उनले बताए।
दोस्रो नर्सरीमा सारेर अर्को वर्ष बिक्री गर्ने हो भने २५ लाख बिरुवा उत्पादन हुने उनको भनाइ छ। भने, ‘२५ लाख बिरुवा सस्तोमा बिक्री भयो भने पनि १ करोड २५ लाख आम्दानी हुन्छ।’ उनका अनुसार पञ्चकन्या तरकारी तथा अदुवा उत्पादन केन्द्रले उन्नति समावेशी वृद्धि कार्यक्रमको यूसीएफमा अवधारणा बुझाउँदा दुई वर्षमा १० लाख मात्र बिरुवा उत्पादन हुने उल्लेख गरेको थियो। निरन्तरको मिहिनेतले अहिले अपेक्षाभन्दा अढाई गुणा बढी बिरुवा उत्पादन भएको उनले बताए।
उनले टनेलमा रामसाई र गोलसाई जातका बिरुवा लगाएका छन्। अलैंची विकास केन्द्र पान्दमका अलैंची विकास अधिकृत लक्ष्मीनारायण शर्माका अनुसार रामसाई जातको अलैंची १ हजार ५ सय मिटर वा सोभन्दा बढी उचाइको क्षत्रेमा फस्टाउँछ। यो जात बढी उचाइमा लगाए विभिन्न रोगको प्रकोप हुने उनले बताए। त्यसैगरी गोलसाई जातले १ हजार ३ सय मिटरभन्दा तल राम्रो उत्पादन दिने उनको भनाइ छ।
टनेलभित्र बिरुवा उत्पादन गर्दा रोग र किराको प्रकोप पनि कम भएको उनको अनुभव छ। अलैंचीको नर्सरीबाहेक उनले ग्रिन हाउसभित्र ब्रोकाउली, काउली, अकबरे, रायो सागलगायत तरकारी खेती पनि गरेका छन्। यसबाट वार्षिक १ लाख रुपैयाँ आर्जन गर्ने गरेको उनले सुनाए। बाँकी टनेल यस वर्ष दोस्रो नर्सरीका लागि प्रयोग हुने उनको भनाइ छ। उनले चार जनालाई नियमित रोजगारी दिएका छन्।
उनले अलैंची बिरुवा अरूभन्दा सस्तोमा बिक्री गर्ने योजना बनाएका छन्। भने, ‘हामीले अलैंचीको तालिम दिएका किसानलाई अरूभन्दा प्रतिबिरुवा एक रुपैयाँ कम्तीमा बिक्री गर्ने योजना बनाएका छौं।’
पौड्यालको प्रयाससँगै अन्य युवा पनि तरकारी खेती र अलैंची नर्सरी स्थापना गर्न उत्साहित बनेको जनहित कृषि सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराईले बताए। लाखौं खर्च गरी विदेश जान तम्सिएका युवाका लागि स्वदेशमै दिगो आयआर्जन गर्न सकिने प्रेरणा पौड्यालले दिएको उनको ठम्याइ छ।
पौड्यालले केही गरौं भन्ने युवासँग मिलेर थप काम गर्ने योजना बनाइरहेको सुनाए। अबको एक वर्षमा आर्थिक रूपमा ‘छलाङ मार्ने’ योजनामा रहेका उनले दोस्रो नर्सरी इलामबाहेक सिन्धुपाल्चोकमा पनि गर्न लागेको सुनाए। भने, ‘त्यहाँ बिरुवाको माग भएको पाएका छौं, हामी त्यहाँ दोस्रो नर्सरी स्थापना गर्ने योजनामा छौं।’ स्थानीय साझेदारसँग मिलेर दोस्रो नर्सरी स्थापना गर्न सके ग्राहकलाई अर्को वर्ष रोग र चोटरहित बिरुवा वितरण गर्न सकिने उनको भनाइ छ। उनका अनुसार देश विभिन्न स्थानबाट बिरुवाको माग आउन थालेको छ।
उन्नतिका सामाजिक तथा आर्थिक विज्ञ केशव सिलवालले अलैंचीका लागि १५ वटा कृषि सहकारी र निजी उद्यमका परियोजनामा आर्थिक सहयोग गरेको बताए। उनका अनुसार १५ मध्ये एउटाले तन्तु प्रजनन्मार्फत बिरुवा उत्पादनमा अनुदान लिएको छ भने १४ ले बिरुवा उत्पादनमा।