यो जिन्दगी खै के जिन्दगी ?
सरकारले केही गरिदिन्छ भनेर हामीलाई भरै छैन। पुस्तौं यसरी चलेकै छ। अहिलेचाहिँ के–के न गरिदियोस् जस्तो लाग्दा पनि लाग्दैन
भित्रभित्र खोक्रिएर बाहिर–बाहिर बाँचेको
एटमको त्रासले चुसेको
समस्याको भूतले सताएको
यो जिन्दगी खै के जिन्दगी !
हरिभक्त कटुवालको कविताजस्तो जिन्दगीविहीन जिन्दगी हेर्न चाहनुहुन्छ भने चेपाङ गाउँ जानुहोस्। चितवन, गोरखा, मकवानपुर, धादिङ र आसपासका डाँडाकाँडा र पाखा–पखेरामा कष्टकर जीवन गुजारिरहेका कोही भेटिए भने तिनै हुन् चेपाङ। २०६८ को जनगणनाले ३८ हजार ३ सय ९९ जना भेट्टाए पनि खासमा यो जातिको जनसंख्या करिब एक लाख छ। यिनको ८० प्रतिशतभन्दा बढीसँग आफ्नो जग्गाजमिन छैन। बाह्रै महिना पेटभरि खान पाउने पाँच प्रतिशत पनि छैनन्। अधिकांशको ६ महिनाभन्दा बढी अनिकाल हुन्छ। किनेर खाने उपाय छैन। त्यसैले गिट्ठा–भ्याकुर, टाँकी, सिस्नो, चिउरीजस्ता जंगली उत्पादन अधिकांश चेपाङका अधिकांश छाकका खाना हुन्।
राजधानीनजिकै बस्ने अति पिछडिएको यस जातिबारे केही वर्षदेखि म गहन अध्ययन गरिरहेको छु। त्यही क्रममा पुगें चितवनको टाँडीस्थित गामबेंसीको चेपाङ संरक्षण केन्द्र। त्यहाँ १५० हाराहारी चेपाङ बालबालिकाले संरक्षण लिएका छन्। शिक्षाको अवसर पाएका छन्। वैदेशिक रोजगारबाट फर्किएका केपी किरण शर्मा यसका जन्मदाता हुन्। मानो–मुठी जुटाएर उनी यत्रो समूहको अभिभावक बनेका छन्। तिनै केपीको साथ लागेर हामी चढ्यौं उपल्ला डाँडाहरू। र, हाम्रो लक्ष्य बन्यो ओडारमा बस्ने चेपाङ खोज्ने।
हो, चेपाङ समुदायका केही पाकाहरू अझै ओडारमा बस्छन्। तीन वर्षदेखि ओडार खोज्ने हाम्रो यात्रा चालु छ। एकपछि अर्का पात्र थपिँदै गइरहेका छन्। केहीलाई मनकारी मित्रहरूले उद्धारसमेत गरिसके। कतिका घर बनाइदिए। कतिका आङमा लुगा भरिदिए। कतिका केही छाकमा चामल हालिदिए। केही अझै ओडारमै छन्। मूल कुरो– समग्र चेपाङको जिन्दगीमा ‘जिन्दगी’ भरिदिन केही व्यक्तिले चाहेर सम्भव छैन। सरकारले मनैदेखि चाह्यो भने फेरि यो ठूलो समस्यै होइन।
ओडार खोजाइको यात्रामा भेटिएमध्ये एक थिए– हस्तबहादुर चेपाङ। चितवन सिद्धिको पाइमाराङ जंगलमा भेटिएका उनको ओडारमा दर्दनाक वास थियो। नजिकै गाउँसम्म थिएन। कन्दमूल खोज्न जाने हुती नभएपछि उनी कीरा, फट्याङ्ग्रा, सर्प, बिच्छी–नजिकमा जे आयो, त्यही खाँदा रहेछन्। अविवाहित उनी आफ्नो जिन्दगीसँग अत्यन्त्र सन्तुष्ट देखिए। उनको हालत देख्नासाथ सहन नसकेर सौराहाका होटेल व्यवसायी केशव खनालले घर बनाइदिए। खाने व्यवस्था मिलाइदिए। घर पाए पनि केही समयअघि जाँदा उनी त्यही ओडारमा भेटिए। भन्थे, ‘ओडारजस्तो मज्जा घरमा कहाँ हुँदो रहेछ र ? त्यही भएर म त सुटुक्क यतै आउँछु।’ अर्थात् उनीहरूको जिन्दगी नै ओडार बनेको छ। ओडार नै जिन्दगी बनेको छ। राज्यले त्यसभन्दा बढ्ता देखाइदिन नसकेपछि आखिर गर्ने के ?
चितवन कोराकमा अर्का पात्र भेटिए– पूर्णबहादुर चेपाङ। उनी झन्डै दुई दशकदेखि ओडारमा रहेछन्। उनका अभिभावक बितिसके। अविवाहित पूर्णबहादुर भाइ–बुहारीसँग त्यही ओडारमा बस्थे। बुहारी जब अर्कैसँग गइन्, भाइ पनि बेपत्ता भए। कहाँ गए, उनले अझै भेट्न सकेका छैनन्। खोलाबाट छिर्ने ओडार नै उनको घर हो। त्यहाँ उनले १७ वर्षभन्दा बढी कटाए। बर्खामा भित्रै बाढी पसेर बिजोग बनाउँथ्यो। केही सामाजिक व्यक्तिले बल्ल जस्तेटहरो बनाएर उनलाई नजिकै ओत्याएका छन्। गाउँलेले दया–मायाले दिने खानाले पेट भर्छन्। नत्र जंगलतिर गएर कन्दमूल खोज्छन्।
हाम्रा जनप्रतिनिधिलाई हेरौं– आरनसम्ममा कर लगाएर आफूलाई अत्यधिक सुविधा तोकिरहेका छन्, तर करिब एक लाख आवाजविहीन चेपाङलाई हेरिदिने कोही छैन। हुनेखानेसँग यही प्रयोजनमा कर नै उठाएर किन नहोस्, राज्यले हेर्नैपर्छ।
ओडारमा बस्ने चर्चायोग्य अर्का पात्र हुन्– रूपसिंह चेपाङ। चितवनकै लोथरको युर्ती खोला किनारामा उनको ओडार रहेछ। एक छोरीबाहेक सबै सन्तान पहिल्यै बिते। श्रीमती बितिन्। छोरी–ज्वाइँले दुःखजेलो गरेर नजिकै सानो झुपडी बनाएका छन्। रूपसिंह भने त्यसकै आडमा ओडारमै वर्षौंदेखि बस्दा रहेछन्। उनको मार्मिक अवस्था देखेर केपी किरणकै पहलमा दाताहरूले सानो घर बनाइदिएका छन्। तर उनी पनि भागेर त्यही ओडारमा बस्न गइरहन्छन्। हाँस्दै भन्छन्, ‘के गर्ने हजुर, यस जुनीमा घरमा बस्न सिक्नै पाइएन।’
धादिङ, धुसाको ओडारमा रमाइरहेका आइतराम चेपाङको जिन्दगी उस्तै जिन्दगीहीन छ। उनका अभिभावकको नजिकै सानो झुपडी थियो। त्यहीं उनका बाबु–आमाको अज्ञात रोगले मृत्यु भयो। झुपडी पनि लगत्तै पहिरोले बगायो। एक्ला उनी ओडारतिर सरे। ‘जनता आवास’ कार्यक्रमअन्तर्गत सरकारले उनलाई घर बनाइदियो। केही दिन बस्न नपाई २०७२ को महाभूकम्पले त्यसलाई चिरा–चिरा बनाइदियो। अन्ततः उनी पुनः त्यही ओडारमा फर्किएको पाइयो। ओडारमै दराज सजाएका उनी आफ्ना दुःखका कथा मीठो हाँसेर सुनाउँछन्। हेर्दा वृद्ध देखिने उनलाई खासमा उमेरसम्म थाहा छैन। बिहे गरेका छैनन्। नगर्नुको कारण भन्छन्, ‘पैसा छैन। पैसाविना कसैले छोरी दिँदैन।’
चेपाङ समुदायको जिउँदो इतिहासलाई हामीले भिडियोमा कैद गर्दै गयौं। जोगाउँदै गयौं। डकुमेन्ट्री यात्राका क्रममा पुगियो– सिद्धि खोला किनारस्थित बन्दीपुरे चेपाङको ओडारमा। उनको ओडारवास मार्मिक थियो। मिडियामै पहिल्यै समाचार आएपछि डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा उनको ठाडो निर्देशनमा सरकारले घर बनाइदियो। भट्टराई त्यही घरमा गएर एक रात सुते पनि। दुर्भाग्य, भुइँचालोले त्यसलाई धराप बनाइदियो। परिवारका अरू सदस्य डराई–डराई त्यहीं बस्दा रहेछन्। हामी पुग्दा बन्दीपुरे भने ढुक्कले सुत्न ओडारमा आएका थिए। उनको मार्मिक कहानी खिचेको केही दिनमै फोन आयो– बन्दीपुरेको निधन भयो। घरवासको स्वाद लिनै नपाई उनी परमधाम भए।
‘के खानुहुन्छ ? ’, मैले सोधेको थिएँ।
‘गिठा–भ्याकुर’, उनको जवाफ थियो, ‘धनीमानीको पो टन्न खेतीपाती हुन्छ। भात खान पाउँछन्। हामी चेपाङको न खेती हुन्छ, न त भात खान पाइन्छ।’
सम्भवतः भात खानै नपाई उनको जिन्दगी सकियो। कसैले दयामायाले दिएको एकदुई छाकलाई के खाएको भन्नु ?
गोरखा भुम्लीचोको दुइटा ओडारमा अलगअलग पात्र भेटिए– गर्जबहादुर र जितबहादुर चेपाङ। बल्लतल्ल घरमा पुनस्र्थापित उनीहरू भूकम्पका यस्ता पीडित थिए, जसले पुनः ओडारमा फर्काइदियो। डरलाग्दो भीरको कापमा मस्त निदाइरहेका थिए गर्जबहादुर। उनलाई न केहीको डर थियो, न त चिन्ता। जितबहादुरको हालत उही थियो। उनीहरू भन्थे, ‘आसै नभएपछि निराश हुनुनपर्ने रहेछ। सरकारले केही गरिदिन्छ भनेर हामीलाई भरै छैन। पुस्तौं यसरी चलेकै छ। अहिलेचाहिँ के–के न गरिदियोस् जस्तो लाग्दा पनि लाग्दैन।’
देश यस्तो भइसक्यो– आफ्नै हात जगन्नाथ। शक्तिमा हुनेले मज्जाले खुट्टा घुमाउँछन्। आफन्तलाई हेर्छन्। आफ्ना समुदायलाई हेर्छन्। कराउन सक्नेले केही पाउँछन्। लुट्नेले खोसेरै लैजान्छन्। हाम्रै जनप्रतिनिधिलाई हेरौं– आरनसम्ममा कर लगाएर आफूलाई अत्यधिक सुविधा तोकिरहेका छन्, तर करिब एक लाख आवाजविहीन चेपाङलाई हेरिदिने कोही छैन। हुनेखानेसँग यही प्रयोजनमा कर नै उठाएर किन नहोस्, राज्यले हेर्नैपर्छ। राज्य निर्दयी र पक्षपाती हुनै हुँदैन।
नपत्याए तपाईं आफैं चेपाङ गाउँ गएर हेर्नुहोस्, तिनको हालत देखेर हरिभक्त कटुवालको कविता दोहोर्याउँदै फर्किनुहुनेछ, ‘यो जिन्दगी खै के जिन्दगी।’