मारियो मान्जुकिचको सन्न्यास

मारियो मान्जुकिचको सन्न्यास

जागरेब : क्रोएसियाका चर्चित स्ट्राइकर मारियो मान्जुकिचले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। रुस विश्वकपमा क्रोएसियालाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका मान्जुकिचले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरेका हुन्।

इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक फुटबल खेलिरहेका मान्जुकिचले सामाजिक सञ्जाल इन्स्ट्राग्राममार्फत सन्न्यासको घोषणा गरेका हुन्। राष्ट्रिय टोलीमा ११ वर्ष बिताएका मान्जुकिचले क्रोएसिया विश्वकपको उपविजेता बन्नु नै आफ्नो ठूलो सफलता रहेको बताउँदै सन्न्यासको उपयुक्त समय पनि यही रहेको बताए।

‘रुस विश्वकपमा प्राप्त गरेको रजत पदकले मलाई नयाँ ऊर्जा दिएको छ। यो अविश्वसनीय उपलब्धिले मलाई सन्न्यासजस्तो कठिन निर्णय लिन सहज बनाएको छ’, ३२ वर्षीय मान्जुकिचले भनेका छन्, ‘हामीले हाम्रो सपना साकार बनायौं र ऐतिहासिक सफलता हात पार्‍यौं। यो मेरो खेल जीवनकै सबैभन्दा महत्वपूर्ण सम्झना रहनेछ।’

रुसमा गत महिना सम्पन्न विश्वकपमा क्रोएसियाले फाइनल यात्रा तय गर्दा मान्जुकिचले महत्वपूर्ण भूमिका खेलेका थिए। विश्वकपमा खेलेका ६ खेलमा तीन गोल गरेका मान्जुकिचले इङ्ल्यान्डविरुद्धको सेमिफाइनलमा अन्तिम समयमा गोल गर्दै क्रोएसियालाई फाइनलमा पुर्‍याएका थिए। अत्यन्त प्रतिस्पर्धात्मक फाइनल खेलमा भने क्रोएसिया फ्रान्ससँग ४–२ गोलले पराजित हुँदै उपविजेता बनेको थियो। सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा विश्वकप खेलेको क्रोएसियाको यो उपलब्धि अहिलेसम्मकै सबैभन्दा ठूलो हो। सन् १९९८ मा सेमिफाइनलसम्म पुगेको क्रोएसिया फ्रान्ससँग २–१ गोलले पराजित भएपछि चौथो स्थानमा चित्त बुझाउनु परेको थियो।

सन् २००७ मा राष्ट्रिय टोलीमा डेब्यु गरेका मान्जुकिचले ८९ खेलमा ३३ गोल गरेका छन्। उनले आफ्नो टोलीलाई रुस विश्वकपमा छनोट गराउन ११ खेलमा पाँच गोल गरेका थिए।

सन् २०१५ मा युभेन्ट्समा आबद्ध भएका मान्जुकिचले ९२ खेलमा २२ गोल गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.