बढेको बढ्यै सम्बन्धविच्छेद, भत्किँदै परिवार, टुक्रिँदै मन

बढेको बढ्यै सम्बन्धविच्छेद, भत्किँदै परिवार, टुक्रिँदै मन

ओखलढुंगा :  ओखलढुंगा जिल्ला अदालतमा साउन ३० गते चार वटा सम्बन्धविच्छेदका मुद्दा दर्ता भए । चार जोडीले सम्बन्ध कायम राख्न नसक्ने भन्दै एकै दिन मुद्दा दर्ता गराए । चालु आर्थिक वर्षको पहिलो महिनामा अदालतमा दर्ता भएका कुल ३४ मुद्दामध्ये ८ सम्बन्धविच्छेदका छन् । 

पछिल्लो समय ओखलढुंगामा पति–पत्नी बेमेलका कारण पारिवारिक संरचना भत्किने क्रम बढेको छ । यसको मुख्य कारण सम्बन्ध विच्छेद नै भएको ओखलढुंगा क्याम्पसका उप–प्राध्यापक युवराज दाहाल बताउँछन् । ‘परिवार भत्किने मुख्य कारण दम्पतीको विच्छेद हो’, उनले भने, ‘यसले परिवार र समाजलाई समेत असर पारिरहेको हुन्छ ।’ 

स–साना बालबच्चा छोडेर सम्बन्धविच्छेद गर्ने र नयाँ नाता जोड्ने पनि धेरै छन् ।  यसको मूल कारण दम्पतीबिच असन्तुष्टि र मनमुटाव रहेको दाहालको भनाइ छ । 

अदालतमा औपचारिकरुपमा सम्बन्धविच्छेद गर्न आउने बाहेक अनौपचारिकरुपमा सम्बन्ध जोड्ने र तोड्ने पनि उत्तिकै छन् । अदालतको तथ्याङ्कले हरेक वर्ष सम्बन्धविच्छेद गर्ने बढेका बढ्यै छन् । 

आर्थिक वर्ष ०७३/७४ मा सम्बन्धविच्छेदका ३७ मुद्दा दर्ता भएकोमा अघिल्लो वर्ष अर्थात् ०७४/०७५ मा ४५ ओटा दर्ता भए । तथ्याङ्कमा समेत बर्सेनि सम्बन्धविच्छेद बढ्दै गएको छ । 

अदालतमा आउने मुद्दामध्ये सबैभन्दा धेरै अंश मुद्दा र त्यसपछि सम्बन्धविच्छेदका रहेको अदालतका श्रेस्तेदार तीर्थराज भट्टराईले बताए । ‘सम्बन्धविच्छेद त हरेक वर्ष बढेको बढ्यै छ’, उनले भने, ‘यसले पारिवारिक र सामाजिक विकासमा समेत नकारात्मक असर पार्छ, आश्रित बालबच्चामा विखण्डनको डरलाग्दो असर पुग्छ ।’

भट्टराईका अनुसार सम्बन्ध जोडेको वर्ष दिन नपुग्दै विच्छेद गर्न अदालत धाउनेदेखि सँगै बसेको ५० औँ वर्षपछि पनि सम्बन्ध विच्छेद गर्न आएका छन् । 

आपसमा साझा बुझाइ नहुँदा सानैमा विवाह गरेर पछि अरूतिर सम्बन्ध स्थापित गर्दा यस्ता समस्या धेर आउने उनको ठम्याइ छ । पति–पत्नीबिच लामो समयसँगै नहुँदा आपसमा बढ्ने विश्वासको दुरीले पनि यसमा काम गरेको छ । वैदेशिक रोजगारी पनि सम्बन्धविच्छेदमा कारक रहेको जिल्ला बार इकाइका सचिव अधिवक्ता टुकराज निरौलाले बताए । 

भत्किँदै परिवार 

सम्बन्धविच्छेदले पारिवारिक संरचना भत्किएका छन् । पति–पत्नी सँगै रहेको समृद्ध परिवार भताभुङ्ग हुने गरेको छ । अभिभावक नै छुट्टिएपछि आश्रित परिवारका सदस्य र बालबच्चा समस्यामा पर्ने गरेको अधिवक्ता निरौलाले बताए । 

सम्बन्धविच्छेदमा आउने आमा बच्चा र आश्रितको भन्दा आफ्नो चिन्तामा रहने भएकाले बालबालिकाले पालन पोषण र शिक्षादीक्षा नपाउने गरेको उनले बताए । 

‘सम्बन्धविच्छेद भएका परिवार सप्रेको कमै छन्, समाज पनि यसले विखण्डित हुँदै जान्छ’, उनले भने । सम्बन्ध विच्छेद गर्न आउने धेरै सम्पत्ति र सम्बन्धमा हुने बेमेलकै बढी हुने गरेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.