आजदेखि धुवाँ फाल्ने गाडी निषेध

आजदेखि धुवाँ फाल्ने गाडी निषेध

काठमाडौं : सरकारले वायु प्रदूषण घटाउन भदौ १ देखि देशभर महानगरपालिका र उपमहानगरपालिकामा धुवाँ फाल्ने निजी र सार्वजनिक चारपांग्रे सवारीसाधनलाई निषेध गरेको छ । ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागले यस्ता सवारीसाधनलाई शुक्रबारदेखि सडकमै जफत गरी कारवाही गर्ने जनाइएको छ ।

डिजल र पेट्रोलबाट गुड्ने गाडीले मापदण्डभन्दा बढी धुवाँ फाली प्रदूषण बढाएपछि देशभरका सहरमा शुक्रबारदेखि कडाइ गरेको यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए । उपत्यकाको नागढुंगा, बल्खु, ठूलो भ¥याङ, सल्लाघारी, टेकु र एकान्तकुनामा प्रदूषण मापन गरिँदै आएको उनले बताए । विभागले उपत्यकाबाहिर रहेका भरतपुर, डडेलधुरा, सुर्खेत, विराटनगरलगायत १३ वटा कार्यालयमा प्रदूषण जाँच तीव्र गतिमा थालेको छ ।

सरकारले गत २०७४ फागुन १० मा प्रदूषण मापदण्डभित्र नपर्ने सवारी सञ्चालनमा रोक लगाइने जनाएको थियो । प्रदूषित गाडीलाई २०७५ साल वैशाख १ देखि सडकमा बन्देज लगाउने भनिए पनि प्रदूषण परीक्षण गर्ने मेसिन आपूर्तिमा ढिलाइ भएपछि साउन १ देखि लागू गर्ने मिति तय गरेको थियो । विभागले सवारीसाधन मर्मतसम्भार गरी वातावरणमैत्री स्टिकर लिन एक महिना समय दिएको थियो ।

वायु प्रदूषणको मुख्य कारक सवारीसाधनको प्रदूषण नै रहेको र ३८ प्रतिशत प्रदूषण सवारीसाधनबाट निस्किएको धुवाँ भएको विभिन्न अध्ययनले देखाएका छन् । प्रदूषण नियन्त्रण गर्न सरकारले २०÷२० वटा स्मोक मिटर र ग्यास एनालाइजर मेसिन खरिद गरिसकेको छ । सरकारले प्रदूषण मापदण्ड २०५४ सालमै तोकेको छ । पेट्रोल गाडीका लागि ४.५ प्रतिशत कार्बन मनोअक्साइड र हाइड्रोकार्बन बढीमा हजार पीपीएम (पार्ट पर मिलियन) भन्दा थोरै हुनु पर्छ । डिजेल गाडीको हकमा धुँवाको घनत्व अधिकतम ६५ प्रतिशत एचएसयू (हारट्रिज स्मोक युनिट) हुनु पर्छ ।

सडकको धुलो नियन्त्रण गर्न सम्भव भए पनि सवारीसाधनबाट निस्कने धुलो नियन्त्रण चुनौती बनेको भन्दै सरकारले कडाइका साथ प्रदूषण नियन्त्रण थालेको विभागले जनाएको छ । वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने भन्दै सरकार सन् २०३० सम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी विस्थापित गर्ने योजनामा छ ।

सवारीसाधनको धुलो खतरनाक

पार्टिकुलेट म्याटर (पीएम) १ र २ दशमलव ५ भन्दा साना आकारका धुलो सवारीसाधनबाट उत्पन्न हुने वातावरण विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए । स्वास्थ्यका दृष्टीले सडकको धुलोभन्दा सवारीसाधनबाट निस्कन धुलो खतरनाक हुने उनको भनाइ छ । स्वास्थ्यकर्मीहरूले यो धुलो नाक र मुखमा नबसी सीधै फोक्सो र रक्तनलीमा पुग्ने भएकाले स्वास्थ्यका दृष्टीले खतरनाक भएको बताउँछन् । रूघाखोकी, फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमण हुने, आँखा चिलाउने, छालाको एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुने र मुटुको रोगसमेत बढाउने स्वास्थ्यकर्मीहरूको भनाइ छ ।

प्रदूषित गाडीलाई दुई हजारसम्म जरिवाना

मर्मतबिना सडकमा गुड्ने प्रदूषित गाडीलाई ५ सयदेखि २ हजार रुपैयाँसम्म जरिवाना लिएर मर्मतपछि मात्र गुड्न पाउने कानुनी व्यवस्था गरिएको छ । प्रदूषण मापदण्डभित्र रहेर मात्र सवारी गुडाउन विभागले सूचित गरेको छ । प्रदूषण नियन्त्रण गर्ने जिम्मा सवारीधनीको समेत रहेको भन्दै राज्यले नीति बनाएर सहजीकरण गरेकाले अवलम्बन गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।

वायु प्रदूषणमा सडकबाट २५, कृषि क्षेत्रबाट १८, इँटाभट्टाबाट ११, उद्योगबाट ३, पशुपालनबाट ३, घरायसी फोहोरबाट १ र अन्यबाट १ प्रतिशत वायु प्रदूषण हुने अध्ययनहरूले देखाएका छन् । विभागका अनुसार हाल देशमा ३० लाख बढी सवारीसाधन छन्, तीमध्ये १२ लाखभन्दा बढी उपत्यकामा गुड्छन् । सरकारले २०५३ कात्तिक १५ देखि गाडीको प्रदूषण मापन गर्न थाले पनि पूर्ण कार्यान्वयन भएको थिएन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.