समीक्षा बैठक कांग्रेसद्वारा बहिस्कार
भरतपुर : तत्कालीन एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरणपछि भरतपुर नगरपालिकाका मेयर रेणु दाहाल र उपमेयर पार्वती शाह ठकुरीबीच उपन्न असमझदारी बढ्दै गएको छ । राजनीतिक समीकरण फेरिएसँगै मेयर–उपमेयरबीच बढेको असमझदारीबीच महानगरपालिकाको एक वर्ष कार्यावधिको समीक्षा कार्यक्रम कांग्रेसले बहिस्कार गरेको छ । महानगरका सबै योजना तथा कार्यक्रममा आफूहरूलाई पेलेर अघि बढेको आरोप लगाउँदै कांग्रेसले समीक्षा बहिस्कार गरेको हो ।
एमाले–माओवादी केन्द्र एकीकरण भई नेकपा बनेपछि प्रमुख दाहालको र त्यसबेलाको गठबन्धनमा रहेको कांग्रेसबाट निर्वाचित उपप्रमुख शाहबीच दुरी बढेको मात्र नभइ महानगरका विकास निर्माणसम्बन्धी योजना र कार्यक्रममा छलफलसमेत हुन छाडेको छ । उपप्रमुख शाहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसारको जिम्मेवारी आफूले नपाएको गुनासो गरेकी छन् ।
निर्देशिकाअनुसार बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर हुनुपर्ने प्रावधान भए पनि मेयरले हस्तक्षेप गरेको आरोप लगाउँदै उनले महानगरको ९ औं कार्यपालिका बैठक बहिस्कार गरेकी थिइन् । योजना, कार्यक्रम अनुगमन तथा सुपरीवेक्षणमा संयोजक उपमेयर रहने व्यवस्था भए पनि मेयर दाहाल आफैं जाने गरेको उनको आरोप छ । मेयर दाहाल नभए प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी जाने गरेका छन् । निरन्तर पेलेर गएकाले आफू विद्रोहमा उत्रनु परेको उनले बताइन् । ‘कानूनले तोकेको अधिकारसमेत खोसिएको छ’, उनले भनिन्, ‘विकास निर्माणसम्बन्धी कुनै योजनामा छलफल नै नगरी पेलेर जाने परिपाटी हाबी भएको छ ।’
कांग्रेसले समयसापेक्ष कर निर्धारण हुनुपर्ने, बीपी कोइराला क्यान्सर अस्पतालमा निर्माण गरिने सिटी हल अन्यत्र निर्माण गरिनुपर्नेलगायत माग गरेको छ ।
समीक्षामा एक वर्षमा भएका विकास निर्माणसम्बन्धी जानकारी गराइएको थियो । महानगरको विकास कार्यको समीक्षा र भावी योजनाबारे छलफल गरिएको थियो । वर्ष दिनका कार्यक्रमको समीक्षामा कांग्रेसबाट निर्वाचित कुनै पनि जनप्रतिनिधि उपस्थित नभए पनि कांग्रेसका प्रदेश सांसद मिलनबाबु श्रेष्ठ उपस्थित भए । उनी आफ्नो भनाइ राखेर निस्किएका थिए । कांग्रेसले आफ्ना एजेन्डाको बेवास्ता गरेको आरोप लगाएको छ । विकास निर्माणका गतिविधिमाथि कुनै छलफल नगरी बिनाजानकारी समीक्षा कार्यक्रम आयोजना गरेको दाबी कांग्रेसका जनप्रतिनिधिले गरे ।
चितवन कांग्रेसका सचिव उत्तम जोशीले जनप्रतिनिधिलाई बाइपास गरेको र उनीहरूका एजेन्डाको बेवास्ता गरेको आरोप लगाए । ‘मेयर र केही कर्मचारी मात्र बसेर कार्य सञ्चालन गरिएकोमा हाम्रो विरोध हो’, उनले भने, ‘राजनीतिक आस्थाका आधारमा महानगर सञ्चालन गर्न खोजिएको छ । अहिले हामी पर्ख र हेरको अवस्थामा छौं ।’ कांग्रेसले बीपी कोइराला क्यान्सर अस्पतालमा निर्माण गरिने सिटी हल अन्यत्र निर्माण गरिनुपर्ने, समयसापेक्ष कर निर्धारण हुनुपर्नेलगायत माग गरेको छ । राजनीतिक आस्थाका आधारमा कर्मचारीको जिम्मेवारी हेरफेर गरिएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।
मेयर दाहालले भने आफू समन्वय गरेर अघि बढेको दाबी गरिन् । बहिस्कार गरेको खबरले आफू अचम्भित भएको उनले बताइन् । उपप्रमुखसँग आफ्नो सम्बन्धमा कुनै अन्तर नआएको उनको भनाइ छ । कार्यपालिकामा जानुअघि छलफल गरेर मात्र जाने गरेको उनले बताइन् । ‘यहाँजस्तो पर्याप्त छलफल र गृहकार्य अन्यत्र शायदै होला’, उनले भनिन्, ‘अगाडि केही नभन्ने पछाडि कुरा गरेर कसैलाई हित हुँदैन, सबै कुरा भन्नकै लागि गरिएको समीक्षामा नआउनु गलत हो ।’ आफूले विकास निर्माणका काममा सबैसँग समन्वय र छलफल गरेको उनले बताइन्।