अबदेखि प्राधिकरण घाटामा जाने छैन

अबदेखि प्राधिकरण घाटामा जाने छैन

विद्युत् प्राधिकरण स्थापना भएको ३२ वर्ष पूरा भएको छ । इतिहासको यो कालखण्डमा २०५९ सालदेखि सुरु भएको लोडसेडिङ करिब दुई वर्षयता समाप्त भएको छ । प्राधिकरणले बिजुली आयात गरेर लोडसेडिङ अन्त्य गरेको भए पनि त्यसले मुलुकको अर्थतन्त्रमा पर्याप्त मूल्य अभिवृद्धि गरेको छ । अबका दिनमा जलाशययुक्त आयोजना निर्माण र त्यसअघि गुणस्तरीय विद्युत् ऊर्जा आपूर्ति प्राधिकरणका मुख्य चुनौती हुन् । प्राधिकरणले मुलुकभित्रै १० हजार मेगावाट बिजुली खपत गराउने गरी प्रसारण तथा वितरण संयन्त्रमा व्यापक सुधार गर्दैछ । दुई वर्षदेखि विद्युत् चुहावट नियन्त्रणमा विशेष अभियान सञ्चालन गरेकाले गत वर्षमा मात्र चार अर्ब रुपैयाँ थप आम्दानी हुन सक्यो, जसले प्राधिकरणलाई खुद घाटाबाट नाफामा डोर्‍याउन सफल भएको छ । प्राधिकरणको नाफाले सरकारका अन्य उद्यमलाई पनि चुनौती दिएको छ । प्रस्तुत छ प्राधिकरणको तेत्तीसौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा कार्यकारी निर्देशक कुलमान घिसिङसित अन्नपूर्णकर्मी विकास थापाराजु बास्कोटाले गरेको कुराकानीको सारसंक्षेप :

झन्डै दुई दशकपछि प्राधिकरण कसरी नाफामा जान सफल भयो ?

विद्युत् प्राधिकरण म आएपछि दुई वर्षको अवधिमा नाफामा गएको छ । प्राधिकरण विगत १७ वर्षपछि पहिलोपटक नाफामा जान सफल भएको छ । यसको मुख्य कारण लोडसेडिङ अन्त्य र चुहावट नियन्त्रणमा प्राप्त सफलता हो । बिजुलीको सहज आपूर्ति भएपछि सहरी क्षेत्रमा विद्युत् खपत बढेको छ, जसले आम्दानी पनि बढायो । त्यस्तै बिजुली उत्पादन पनि करिब ५० प्रतिशत बढेको छ । त्यसैले प्राधिकरणको आम्दानी करिब दोब्बरले नै बढेको छ । प्राधिकरणको कुल आम्दानी ३५÷३६ अर्बबाट करिब ६० अर्ब रुपैयाँ पुगेको छ । आम्दानी बढ्ने र चोरी विद्युत् चुहावट (चोरी) नियन्त्रण केही हदसम्म घटेकाले पनि नाफा बढेको हो ।

 विद्युत् चुहावट कति घट्यो ?

विगत दुई वर्षमा करिब ६ प्रतिशतले विद्युत् चुहावट घटेको छ । यसलाई पैसासँग तुलना गर्दा करिब चार अर्ब रुपैयाँ हुन्छ । यसले प्राधिकरणलाई नाफामै लैजान सहयोग गरेको हो । आर्थिक पुनर्संरचनाबाट पनि नाफा गर्न सहज भएको छ । विद्युत्को उत्पादन, प्रसारण र वितरणसहितको मर्मत-सम्भार लागतसमेत वार्षिक १० देखि १५ प्रतिशतका दरले बढ्ने गरेको थियो, यसलाई नियन्त्रण गर्‍यौं । म आएको दुई वर्षमा करिब १४ सय नयाँ कर्मचारी थपिएका छन् । ५÷६ सय त अवकाश पनि भए । यसले प्राधिकरणलाई थप भार पर्ने हुन्छ । त्यसो हुँदा पनि सञ्चालन तथा मर्मत खर्चलाई स्थिर राख्न सफल भयौं । अहिलेको महसुल दरअनुसार हेर्ने हो भने हामी घाटामै हुनुपर्ने देखिन्छ, तर भएकै आम्दानीलाई व्यवस्थापन गरेको र खर्च नियन्त्रण गरेकोले पनि हामी नाफामा जान सफल भएका हौं ।

खर्च व्यवस्थापन गर्दा नाफा बढ्नुपर्ने तर अघिल्लो वर्षको तुलनामा नाफाको वृद्धिदरचाहिँ घटेको देखिएको छ नि ?

अघिल्लो वर्ष हामीले ९७ करोड रुपैयाँ घाटा हुन्छ भनेर अनुमान गरेका थियौं । अन्तिम लेखापरीक्षण हुँदा डेढ अर्ब रुपैयाँजति नाफा भएको थियो । यो पनि अन्तरिम तथ्यांक मात्र हो । अन्तिम लेखापरीक्षण हुनुअघि नै एक अर्ब एक करोड रुपैयाँ नाफा छ । यसमा पनि एक महिनाको अन्तरिम अवधि छ । अन्तरिम लेखापरीक्षण हुँदा नाफा पनि बढ्न सक्छ । प्राधिकरणको खर्च बढी नै रहेको छ । निजी क्षेत्र र भारतबाट आयातीत बिजुलीको लागत बर्सेनि वृद्धि भइरहेको छ ।

 बिजुली खरिदमा कति खर्च भइरहेको छ ?

यो वर्ष करिब ३३ अर्ब रुपैयाँ जति छ । गत वर्ष २८ अर्ब रुपैयाँ थियो । यसमा भारतलाई मात्रै हामीले दिनुपर्ने पैसा करिब १९ अर्ब रुपैयाँ रहेको छ । यसपालि निकै धेरै हो । अब अर्को वर्षबाट आयात घट्दै जाँदा यो खरिद लागत पनि घट्छ ।

 निजी क्षेत्रबाट बिजुली किन्दा प्राधिकरणलाई कति घाटा छ ?

निजी क्षेत्रको बिजुली खरिदमा औसतमा प्राधिकरणले त्यति धेरै घाटा छैन, तर हाम्रा अरू खर्च पनि जोड्नुपर्ने हुन्छ । बिजुली जति धेरै आपूर्ति गर्न सक्यो उति फाइदा हुने हो । करिब सात अर्ब युनिट आपूर्ति भइरहेको छ । यसलाई १० अर्ब युनिट पुर्‍याउँदा आपूर्ति वृद्धि हुन्छ र तर सञ्चालन र मर्मत-सम्भारमा हुने खर्च उही नै हो । बढी बिजुली बिक्री गर्न सके त्यसले थोरै योगदान गर्न सके पनि फाइदामा देखिन्छ । निजी क्षेत्रको बिजुली खरिद दर औसतमा प्रतियुनिट ७ रुपैयाँ छ । हाम्रो औसत बिक्री मूल्यचाहिँ करिब १० रुपैयाँजति छ । यो बीचमा आउने औसत मूल्य भने साढे सात रुपैयाँ हुन आउँछ । सरकारलाई कर, ब्याज, सटही दरमा हुने घाटा, कर्मचारीका लामो समयको दायित्व पनि भुक्तानी गर्नुपर्ने हुन्छ । यसमा हामीले नाफाभन्दा पनि संस्था कसरी अगाडि बढ्दै छ भनेर हेर्नुपर्छ । अब घाटामा जानु पर्दैन, सकारात्मक बाटोमा गयो ।

प्राधिकरणले अब महसुल दर परिवर्तन गर्नुपर्ने बेला भएको हो ?

औद्योगिक क्षेत्रलाई कम र उपभोक्तालाई बढी छ । भारतमा यसको ठीक विपरीत छ । अन्य आन्तरिक उपभोक्ताले बढी तिर्नुपर्ने र उद्योगले कम तिर्नुपर्ने गरी बिजुलीको दर कायम भएको छ । यसलाई परिमार्जन गर्नुपर्ने अवस्था छ । केही औद्योगिक क्षेत्रमा समर्पित वितरण (डेडिकेटेट लाइन) छ । यस्ता लाइन भएका उद्योगले तिर्ने बिजुलीको महसुल दर बढी छ । अब लोडसेडिङ अन्त्य भएकाले यसलाई समान रूपमा बनाउनुपर्ने अवस्था छ ।

डेडिकेटेट लाइनले गर्दा औसत दर माथि गएको हो, यसलाई हटाउँदा औसत मूल्य पनि तल झर्छ । औसत मूल्य घट्नासाथ प्राधिकरणको लागत र नाफामा असर गर्छ । त्यसैले अन्तर्राष्ट्रिय प्रचलनअनुसार विद्युत् महसुल दर परिमार्जन गर्नुपर्छ । यस विषयमा विद्युत् महसुल निर्धारण आयोगलाई प्रस्ताव गरेका थियौं, अहिले त्यो निकाय खारेज भई नयाँ नियमन आयोग गठन हुने अवस्थामा छ । भारतमा हेर्ने हो भने औद्योगिक क्षेत्रको १३२ केभीको दर साढे सात रुपैयाँ मात्रै छ । तर उनीहरूको विद्युत् महसुल बर्सेनि त्यहाँको नियामक निकायले पुनर्विचार गर्ने गर्छ ।

प्राधिकरणको लगानी अनुसारको प्रतिफल निकै कम छ नि ?

प्राधिकरणको लगानी हेर्ने हो भने करिब साढे दुई खर्ब रुपयाँ भइसकेको छ । वार्षिक नाफा एक अर्ब पुग्न थालेको छ । यस हिसाबले हेर्ने हो भने लगानीअनुसारको नाफा निकै कम छ । विश्व बैंकको दर हेर्ने हो भने कम्तीमा ६ प्रतिशत नाफा हुनुपर्ने हो । यसबाट कम्तीमा १२-१५ अर्ब नाफा हुनुपर्ने हो । यो नाफा भएको अवस्थामा मात्रै संस्थाको स्थायित्व हुन सक्छ । हामीले नाफा गर्न नसकेकै कारण कुनै एक जलविद्युत्मा लगानी गर्नुपर्दा सरकारको भर पर्नुपर्ने अवस्था छ । एउटा आयोजनामा लगानी गर्दा सरकारको पैसा खोजिरहनुपर्ने अवस्था छ । अब तामाकोसीसहितका आयोजना बन्दै गरेकाले यसबाट उत्पादन हुने ऊर्जालाई राम्रोसँग व्यवस्थापन गरेर नाफामा जान सक्ने देखिइसकेको छ ।

तामाकोसी आइसकेपछि बर्खाको बिजुली खपत कसरी व्यवस्थापन हुन्छ ?

तामाकोसी मात्रै हैन, अर्को वर्ष दुईचारवटा अरू पनि आयोजना आउने तयारीमा छन् । त्रिशूली थ्री ‘ए’, कुलेखानीसहितका करिब साढे पाँच सय मेगावाटका आयोजना निर्माण सम्पन्न हुँदैछन् । यीसहित करिब सात सय मेगावाट आउँदैछन् । त्यसपछि बर्खामा बिजुली धेरै उत्पादन हुने देखिन्छ । हामीले उद्योगलाई धेरै बिजुली दिन सकिरहेका छैनौं । जति धेरै बिजुली उद्योगलाई दिन सक्यो उति खपत बढ्ने गर्छ । हामीले इनर्जी बैंकिङको योजनालाई पनि अगाडि बढाएका छौं । बर्खामा बिहार, उत्तरप्रदेश पठाउने र हिउँदमा उताबाट आयात गर्ने गरी योजना अगाडि बढाइरहेका छौं । जलाशययुक्त आयोजना निर्माण नगरुञ्जेल यसरी नै चलिरहने हो ।

हामीले १० वर्षका लागि यस्तो योजना बनाएका छौं र चारवटा भिन्न-भिन्न स्थितिको विश्लेषण गरेका छौं । अहिलेको अवस्था आयात मात्रै हो । त्यसपछि हामी हिउँदमा आयात र बर्खामा निर्यातमा जान्छौं । दुई वर्षपछि निर्यात बढी हुन्छ र सुक्खा मौसममा मात्रै आयात गर्नुपर्ने हुन्छ । पाँच वर्षपछि हामी बिजुली निर्यात मात्रै गर्छौं । हामीले भारत तथा बंगलादेशमा निर्यात गर्ने भनेका छौं । बर्खामा मात्रै निर्यात गर्नेभन्दा उनीहरूले नमान्न सक्छन् । यसका लागि हामीले व्यापार संयन्त्र बनाउनुपर्ने हुन्छ । लामो समयपछि जलाशाययुक्त आयोजना आयो भने त्यसले व्यवस्थापन गर्न सक्छ ।

. इनर्जी बैंकिङ अवधारणालाई भारतले सहयोग गर्ला ?

भारत निकै सकारात्मक छ । संयुक्त समन्वय समितिमा छलफल भइरहेको छ । बंगलादेशसँग पनि हामी जान सक्ने अवस्था बनेको छ । भारतको विद्युत् मन्त्रालयले दुई वर्षअघि जारी गरेको सीमापार विद्युत् निर्यातसम्बन्धी निर्देशिकालाई पुनर्विचार गर्दैछ । यसपछि भारतीय बजार खुला हुने अवस्था छ ।

भारतीय बजार खुलेन भने हामीले यहीं ऊर्जा खपतको विकल्प सोच्नुपर्ला नि त ?

यहाँ उत्पादन भएको बिजुली यहीं खपत गर्ने हो । एक युनिट बिजुली हामी आफैंले प्रयोग गर्दा एक सय रुपैयाँ कमाइ गर्न सक्छौं भने बेचेर त जम्मा पाँच रुपैयाँमात्रै पाउने हो । बेच्दा त जतिमा बेचेको हो, त्यति मात्रै आउँछ । त्यसलाई आफूले प्रयोग गर्दा त त्यसबाट अधिक लाभ लिन सकिन्छ । हामीले यसका लागि माग आउने ठाउँ बनाउनुपर्छ । काठमाडौंभित्र मात्रै अहिले दुई हजार मेगावाट बिजुली वितरण गर्न सकिने गरी पूर्वाधार बनाउनुपर्छ ।

भैरहवा, विराटनगर नेपालगन्जसहितका धेरै ठाउँमा बिजुली खपत गर्ने गरी पूर्वाधार बनाउनुपर्छ । पाँच वर्षमा सबैलाई बिजुलीको पहुँच भन्ने अभियानमा जान सकिन्छ । यसका लागि ठाउँठाउँमा सबस्टेसन, ४०० केभी लाइनसम्मको पूर्वाधार आवश्यक छ । करिब पाँच हजार मेगावाट औद्योगिक करिडोरले प्रयोग गर्ने गरी हामी अगाडि बढिसकेका छौं । ऊर्जा माग कसरी बढाउने भन्ने विषयलाई पनि मुख्य प्राथमिकताका साथ अगाडि जानुपर्छ । अहिले अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) पनि आउँदैछ । त्यसपछि पेट्रोलियम र ग्याँस विस्थापन गर्ने गरी विद्युत् खपत बढाउनुपर्छ । यो भयो भने १० हजार मेगावाट त आन्तरिक खपतमै बढाउन सकिने गरी जानुपर्ने हुन्छ ।

उसो भए अब प्राधिकरण कहिल्यै घाटामा जाँदैन त ?

भोलि कुनै पनि प्राविधिक कारण वा प्रणालीमा आउने ठूला समस्याको अवस्थामा करोडौं नोक्सानी हुन सक्छ । एउटा आयोजनाले नै अर्बौं रुपैयाँ आम्दानी दिएको हुन्छ । यसर्थ अब कहिल्यै पनि प्राधिकरण घाटामा जाँदैन भन्दा पनि हामीले थिति बसाइसकेका छौं ।

तपाईं आइसकेपछि पनि निर्माणाधीन प्रसारण लाइनका आयोजनाहरूले किन गति लिन सकेन ?

प्रसारण लाइन निर्माणको गति हुँदै नभएको होइन । केही लाइनमा आएको समस्याले सबैलाई समस्या भएको होइन । करिडोरका कुरा गर्दा वन, वातावरणीय प्रभाव मूल्यांकनलगायतका कारणले ढिलो भएको देखिन्छ । प्रसारण लाइनको समस्या लामो चरणसम्म जाने, हरेक व्यक्ति तथा निकायसँग समन्वय गर्नुपर्र्ने, बाटो (राइट अफ वे) मा परेकालाई क्षतिपूर्ति दिएर आयोजना अगाडि बढाउनुपर्ने हुन्छ । जग्गा अधिग्रहणका समस्या निकै जटिल हुँदै गएका छन् । अर्को पाटो केही प्रवद्र्धकका कारण पनि प्रसारण लाइनको काम ढिलाइ भएको पाइन्छ ।

कोसी करिडोर प्राधिकरणले आफैंले बनाएर पनि समस्या अझै छ नि ?

यो आयोजनाबाट अहिले आउने भनेको २३ मेगावाटमात्रै हो । यसका लागि ३३ केभी तयारी छ । सबस्टेसन पनि तयारी छ ।

प्राधिकरणले सहायक कम्पनी चलायमान भइरहेका छैनन्, यसले प्रोजेक्ट मात्रै होल्ड गरे र कम्पनी अगाडि बढेनन् भन्ने आरोप छ नि ?

कम्पनी अगाडि बढिरहेकै छन् । विस्तृत योजना नै नबनेका आयोजना अगाडि जाने त कुरै भएन । तामाकोसी- ५, माथिल्लो अरुण पूर्ण प्रतिवेदन तयार भएर अगाडि बढिरहेका छन् । दूधकोसी पनि विडिङमा जाने अवस्थामा छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) नबनेका र वित्तीय व्यवस्थापन नभएका त अगाडि बढ्न सक्ने भएनन् । आँधीखोला (१८० मेगावाट) पनि लामो समयदेखिको आयोजना हो ।

यो आयोजनाको विस्तृत योजना बनिरहेको छ । सम्भावना भए अगाडि बढाउने भन्ने हो । उत्तरगंगाको पनि बेसिन डाइभर्सनको विवाद निरूपण गर्ने काम भइरहेको छ । यसलाई मन्त्रालयमार्फत थप निर्णय गरेर अगाडि जानुपर्ने अवस्था छ । केही विवादित योजनाबाहेक अरू विस्तारै अगाडि बढिरहेका छन् ।

सरकारले एउटा सरकारी निकायको प्रमुखले अर्को निकायको जिम्मेवारी लिन नपाउने भनेको छ ? यसको कारण तपाईंको गतिमा प्राधिकरणका सहायक कम्पनी कसरी बढ्न नसक्लान् नि ?

सहायक कम्पनीबाट बन्ने योजनामा प्राधिकरणको प्रत्यक्ष नभए पनि परोक्ष सहयोग हुन्छ । यस्ता योजना अगाडि बढाउन त्यस्तै कुनै समस्या हुँदैन । अगाडि बढेका आयोजनालाई प्रणालीमा ल्याइसकेपछि त्यसले अवश्य पनि गति लिन्छ ।

नेपालको ऊर्जा क्षेत्र अबको पाँच वर्षमा कस्तो हुन्छ ?

नेपालको ऊर्जा क्षेत्र पाँच हैन, अबको तीन वर्षमै आत्मनिर्भर हुनेछ । लोडसेडिङ व्यवस्थापन भइसकेपछि अब खपत बढाउने र उत्पादन बढाउने नै हो । यसलाई व्यवस्थित रूपमा अगाडि बढाउनु नै प्रमुख चुनौती हो । अहिल्यैदेखि नै जलाशययुक्त आयोजना अगाडि बढाउनुपर्छ । नेपालभित्र विद्युत् ऊर्जा बजार खोज्ने र सीमापार विद्युत् व्यापारमा पनि जानुपर्छ । भारत, बंगलादेशदेखि चीनसम्मलाई नै सीमापार विद्युत् बजारका रूपमा अगाडि बढाइरहेका छौं । उद्योगका लागि नेपालको जलविद्युत् उपयुक्त हुन सक्छ । ऊर्जाको मूल्य पनि घटाउँदै जानुपर्ने हुन्छ ।

अबको एक वर्षमा खिम्ती ५० प्रतिशत सित्तैमा आउँदैछ । यसपछि मूल्य पनि घट्छ । यो सबैको अवस्था हेर्दा नेपालमा ऊर्जा आगामी पुस्ताले धेरै सस्तोमा प्रयोग गर्न पाउने अवस्था छ । पाँच हजार मेगावाटको आयोजना नेपालले सित्तैमा उपयोग गर्न पाउने भएपछि पक्कै पनि बिजुली सस्तो हुने नै भयो । यसका लागि जति कम्पनी आइरहेका छन्, ती कम्पनी ३० वर्षपछि त सबै सरकारी हुनेछन् । सरकारले त्यतिबेला कसैलाई पनि बिजुलीको पैसा तिर्नुनपर्ने भएपछि पक्कै पनि ऊर्जा सस्तो हुन्छ । पछिल्लो समय जलविद्युत्को लागत पनि घट्दै जान्छ । आज महँगो तिर्नुपरे पनि दीर्घकालीनमा जलविद्युत् धेरै नै सस्तो पर्छ ।

चीनसँग सरकारले ऊर्जा सहायतासम्बन्धी समझदारी भएको छ, प्रगति अघि बढेको छैन नि ?

चीनसँग भएको सम्झौताअनुसार प्रसारण लाइन बनाउने तयारीमा छौं । केरुङ-रसवागढी हुँदै गल्छीसम्मको प्रसारण लाइन बनाउने भन्ने विषयमा सहमति भइसकेको छ । दुई देशबीच सम्झौता भएर उच्चस्तरीय समिति बनेको छ । अब यसलाई आगामी दुई सातापछि चीनमा हुने बैठकपछि थप अगाडि बढाइँदै छ ।

लोडसेडिङ पूर्णरूपले हटाउन र भारतको आयात प्रतिस्थापन गर्न पनि जलाशययुक्त आयोजना आवश्यक छ । तर यो दिशामा त सरकार र प्राधिकरणबाट केही भएको देखिएको छैन ?

आगामी पाँच वर्षभित्र १४० मेगावाटको तनहुँ सेती आउँछ । योबाहेक कुनै पनि जलाशययुक्त कम्तीमा आगामी सात वर्षसम्म आउँदैन । सात-आठ वर्षलाई कसरी व्यवस्थापन गर्ने भन्ने अहिलेको हाम्रो मुख्य प्राथमिकताको विषय हो । अहिले जति पनि आयोजना छन्, ती सबै पिकिङ रन अफ रिभरलाई प्राथमिकता दिइएको छ । पम्प स्टोरेजको पनि कुरा अगाडि बढाएका छौं । हामीलाई सुक्खायाममा बढी बिजुली चाहिन्छ । पाँच वर्षमा करिब चार÷पाँच हजार मेगावाट आवश्यक पर्छ । पिकमा त हो बढी माग हुने । त्यसको व्यवस्थापनमा कुनै समस्या पर्ने छैन ।

जलाशययुक्त नबनुञ्जेल कसरी व्यवस्थापन होला त हिउँदयामको माग र आपूर्तिबीच ?

हामीले भखरै १० वर्षको ऊर्जासम्बन्धी परिस्थिति विश्लेषण गरेका छौं । यसमा कम्तीमा पाँच वर्षका लागि इनर्जी बैंकिङ आवश्यक पर्छ । त्यसपछि यसको आवश्यकता पर्दैन । सात वर्षपछि एउटा जलाशययुक्त आयोजना आउँदा ठूलो परिवर्तन आउँछ । दूधकोसी जलविद्युत् आयोजनाको पूर्ण प्रतिवेदन आउने तयारीमा छ । यसका लागि एसियाली विकास बैंकले ५० करोड डलर प्रतिबद्धता गरेको छ । यो वित्तीय स्रोतको समेत व्यवस्था भएको आयोजना हो । हामीसँग तयारी आयोजना छैन । तमोर (७६२ मेगावाट) को डीपीआर तयारीमा लागेका छौ । दुईचारवटा जलाशययुक्त आयोजना हुने हो भने हामीलाई कुनै समस्या हुँदैन । सुक्खायाममा सञ्चालनमा आउने आयोजना नै जलाशयुक्त आयोजना हो । अहिलेको औसत आयातको पैसा साढे सात रुपैयाँ हो । यदि जलायशयुक्त आयोजना भएको भए हामी १२ रुपैयाँ ४० पैसा तिर्न तयार छौं । तर पनि यस्तो आयोजना आठ वर्षपछि मात्रै आउने भएका छन् । अहिले राष्ट्रिय प्रसारणबाट लिने हो भने औसत मूल्य साढे चार रुपैयाँभन्दा बढी पर्दैन ।

२०. तत्कालको समाधानचाहिँ के त ?

अहिलेको छोटो समयको अधिकतम समाधानको उपाय भनेकै ऊर्जा आदान-प्रदान (इनर्जी एक्सचेन्ज) हो । अहिले हामीले बर्खामा सय मेगावाट दियौं भने उताबाट सुक्खायाममा एक सय पाँच मेगावाट दिन्छु भनेर प्रस्ताव आइसकेको छ । अहिले १९ अर्बको आयातले अर्थतन्त्रमा दुई खर्ब रुपैयाँभन्दा बढीको आयात घटाएको छ । यहाँ जेनेरेटर वर्षौंको करोडौं मूल्यको आउँथ्यो । वर्षको सात अर्ब त इन्भर्टर मात्रै आयात भइरहेको थियो । हामीले बिजुली आयात बढाउँदा खर्बको लाभ लिन सकेका छौं । इनर्जी राष्ट्रिय जीवन र नागरिकको जीवनको इन्जिन हो । विद्युत् आयात प्रतिस्थापन हुनासाथ अर्बौंको परनिर्भरता रोकिन्छ । हामीले बिजुलीको विश्वसनीयता बढाउन समग्र ऊर्जा क्षेत्रको अवस्था हेर्नुपर्ने हुन्छ । उपलब्ध ऊर्जालाई सुक्खा र बर्खा मौसममा कसरी व्यवस्थापन गर्ने भन्ने नै प्रमुख चुनौती हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.