अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप

अत्यधिक गर्मी बढेपछि चितवनका अस्पतालमा बिरामीको चाप
सांकेतिक तस्बिर।
सुन्नुहोस्

चितवन : गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन्।

 
यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबारदेखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबारदेखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजारदेखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन्। 

अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार विगत एक सातादेखि बिरामीको चाप बढ्न थालेको हो। मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उनले बताए।
 
उनले भने, 'अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो।' अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ। 

लामो समयसम्म वर्षा नहुँदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ। अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबारदेखि टिकट काउन्टर थप गर्न लागेको उनले बताए। उनले भने, 'बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुई वटा थप्ने योजनामा अस्पताल रहेको छ।'
 
नियमित अस्पताल आउनेबाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखालालगायतका बढीमात्रामा छन्। उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो। बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ। 

गत माघदेखिको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ। माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गतेसम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन्।
 
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ। उनले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्नसमेत आग्रह गरे। उनले भने, 'अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ।' सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउनसमेत उनले आग्रह गरे।
 
अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ। योसँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उनले बताए।
 
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताए। उनले चैतमाभन्दा वैशाख लागेसँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताए। गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उनले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गरे। रासस
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.