नाङ्लाेले चलेको समुदाय

नाङ्लाेले चलेको समुदाय

राजविराज : सप्तरीको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ स्थित बसन्तपुर चोकका मगर समुदायलाई घरमै रोजगारी मिलेको छ । बढ्दो बेरोजगारीले श्रम बेच्न युवा जनशक्ति विदेश पलायन भइरहँदा उनीहरूलाई भने बाँसले नै घरमा रोजगारी दिलाएको हो ।

बाँसको चोयाबाट निर्मित नाङ्लो बेचेर मनग्गे आम्दानी गरिरहेका उनीहरूको जीवनस्तर पनि फेरिएको छ । पुख्र्यौली पेसाबाट घरव्यवहार चलाउन नसकेपछि कतिपयले पेसा परिवर्तन गरिरहेका बेला उनीहरू नाङ्लो बनाएरै खुसीसाथ जीवन व्यतीत गरिरहेका छन् । मगर समुदायको २६ घर बसोबास रहेको यो बस्तीमा १८ परिवारले छाक टार्न कसैको भर पर्नपरेको छैन ।

उनीहरू सबै नाङ्लो बनाउन दिनभर व्यस्त हुने गरेका छन् । बिहान भातभान्साको काम सकिएपछि परिवार नै साँझ नपरेसम्म नाङ्लो बनाउन जुट्छन् । परिवारका सबै सदस्य जुट्दा नाङ्लो बनाउन सजिलो भएको नैनकुमारी मगर बताउँछिन् । ‘घरका सबै मिलेर सँगै काम गर्दा रमाइलो हुन्छ’, उनी भन्छिन्, ‘घरमै श्रमशक्ति भएपछि बाहिरी मजदुर पनि चाहिएको छैन ।’ जीविकोपार्र्जनका लागि नाङ्लोमै भर परेकी जानकी र नैनकुमारीले दुई छोराछोरीलाई महुलीको बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

मगर बस्तीका सबैको दिनचर्या नाङ्लो बनाएर बित्ने गरेको छ । बसन्तपुर चोकका स्थानीयझैं वीरेन्द्र बजारका २०, भलुवाही खैरवोनाका १०, बेंगरी र बक्साहा पाँच÷पाँच परिवारले नाङ्लोलाई नै आम्दानीको मुख्य स्रोत बनाएका छन् । ‘बसाइ सरेर ८० वर्षअघि सप्तरी आएका हजुरबुवा चित्रबहादुर मगरले पनि नाङ्लो बनाउँथे’, स्थानीय कृष्ण राना मगर भन्छन् । बाल्यकालदेखि नै नाङ्लो बनाएको देखेर आफूले सिकेको र मगर बस्तीको पुख्र्यौली पेसा नै बनेको उनको भनाइ छ । ‘हामीले बनाएको नाङ्लो टिकाउ र बलियो हुने भएकाले माग बढी छ, मागअनुसार बजारमा पठाउन सकिँदैन’, उनी भन्छन्, ‘नबिक्ला भन्ने छैन, जति बनाए पनि पुग्दैन ।’

मिहिनेत गरे चार गुणा फाइदा हुने भएकाले पनि बस्तीका मगर नाङ्ला बुन्न आकर्षित छन् । ‘जति बनाए पनि व्यापारीले किनिदिने विश्वास दिलाएर अग्रिम भुक्तानी नै दिने गरेकाले बिक्रीको चिन्ता छैन’, उनीहरू भन्छन्, ‘नाङ्लो लिन व्यापारी घरमै आउने गरेकाले बजारसम्म लैजानुपर्ने झन्झट छैन ।’ स्थानीय नवीन मगरका अनुसार व्यापारीले प्रतिनाङ्लो डेढ सय रुपैयाँमा घरबाटै किनेर लैजान्छन्, बजारसम्म पु¥याउने समय र ढुवानी खर्च पनि जोगिन्छ ।

घरका तीन–चार जनाले नाङ्लो बनाउँदा ४०–५० हजार आम्दानी हुने भएकाले विदेश फर्किने सोच नबनाएको नवीन सुनाउँछन् । मलेसियामा २१ महिना बसेर आएका कृष्ण नाङ्लोबाटै प्रशस्त आम्दानी गर्न थालेपछि विदेश जाने सोच नै त्यागेको बताउँछन् । चोया काट्ने मेसिन भए एक्लैले दिनमा १०–१२ वटासम्म नाङ्लो बनाउन सकिने उनी सुनाउँछन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.