‘गल्ती नगर्नेले नयाँ मुलुकी संहिताबाट डराउनुपर्दैन’
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन् ।
कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा गरेको मुलुकी देवानीसंहिता तथा मुलुकी अपराधसंहिता लगायतका कानुन लागू हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।
प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यता बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए ।
‘अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो’, प्रधानमन्त्री ओलीले भने, ‘यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपतिबाट लालमोहर लगाइएको हो ।’
प्रधानमन्त्री ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताए । ‘संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरु अहिले विरोधमा उत्रिएको देख्छु’, उनले भने, ‘यसबाट त्रसित हुनुपर्ने केही छैन । यसले समाजलाई मर्यादित बनाउन खाजेको छ, गल्ती नगर्नेहरुले डराउनु पर्दैन ।’
प्रधानमन्त्री ओलीले संहितामा कमीकमजोरी भए संशोधन गर्न सकिने पनि बताए । ‘यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसका लागि सरकारका सबै निकाय क्रियाशिल छन् ।’