'करको कुरा अतिरञ्जित'

'करको कुरा अतिरञ्जित'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले करको विषय मिडिया र सामाजिक सञ्जालमा आएजस्तो ‘भयावह नभएको’ बताएका छन् । संविधानले दिएको अधिकारबाटै स्थानीय तहले कर तय गरेकाले रोक्न नसकिने उनको भनाइ छ ।

‘हामी संघीयताको नयाँ अभ्यासमा गएका छौं । यसमा अभ्यस्थ हुन संस्था र व्यक्तिहरूलाई समय लाग्छ । स्थानीय तहहरू परिपक्व भइसकेका छैनन्’, अन्नपूर्ण मिडिया नेटवर्कका सम्पादकहरूसँग शुक्रबार भएको भेटघाटमा प्रधानमन्त्रीले भने, ‘संविधानअनुसार भएका काम रोक्न मिल्दैन । तर, आफ्ना क्रियाकलपाले लोकप्रिय÷अलोकप्रिय के हुने हो, उनीहरूले सोच्ने विषय हो ।’

जेमा पनि कर लिएको भनी मिडियाले अनावश्यक रूपमा अफवाह फैलाएको उनको आरोप थियो । ‘बेलुन फुल्छ तर धरती जत्रो हुँदैन । करको विषय धरती जत्रै पारिएको छ । यो अतिरञ्जित हो’,उनले भने, ‘तर, अस्वाभाविक, अनुचित, दोहोरो–तेहोरो लिएको रहेछ भने सरकारले सच्याउनेछ । यसलाई रंगीचंगी बनाउनु बेकार हो ।’

महँगो प्रणाली

तत्कालीन माओवादी संघीयताको जोडबलमा थियो । संविधान बनाउने छेका तत्कालीन एमाले अध्यक्ष ओली संघीयताको विपक्षमै नदेखिए पनि पक्षमा खुलेनन् । हाल साना–साना विषयमा कर लगाइएको र भइरहेकामा वृद्धि गरिएको सन्दर्भमा सोधियो, ‘पद्धति महँगो भएको हो त ? ’

उनको उत्तर थियो, ‘त्यो त हो ।’ र, त्यसमा थपे, ‘सेवाभन्दा सञ्चालनमा केन्द्रित हुनु पर्‍यो भने अनि जनताबाट लगातार टिकाटिप्पणी भइरह्यो भने त्यस्तो अवस्थामा सोच्नुपर्ने हुन सक्छ ।’

‘मण्डला उफ्रिने ठाउँ हो ? ’

ओली सरकारले राजधानी उपत्यकामा विरोध प्रदर्शन गर्न निश्चित ठाउँ तोक्यो । बाँकीलाई निषेधित बनायो । त्यसमा पर्‍यो– विरोधका अधिकांश जमघट हुने माइतीघर मण्डला पनि । डा. गोविन्द केसीको १५ औं आमरण अनसन जारी थियो । त्यसका समर्थक मण्डला पुग्थे । त्यही बेला रोक लगाउँदा त्यसैलाई लक्ष्य गरिएको धेरैको ठम्याइ रह्यो । त्यसविरुद्ध मुद्दा पर्‍यो । सर्वोच्चले विरोध प्रदर्शन गर्न फुकुवा गरिदियो ।

प्रधानमन्त्री ओलीले त्यसमा असन्तुष्टि जनाउँदै आएका थिए । शुक्रबार पनि उक्त प्रसंग उठाए । ‘माइतीघर मण्डला उफ्रिने ठाउँ हो ? मण्डलाको अर्थ के हो ? त्यहाँ के गरिन्छ ? त्यो कस्तो ठाउँमा छ ? ’ उनले प्रश्न गरे, ‘त्यहाँ उफ्रिन नपाउँदा लोकतन्त्रमै खतरा पुग्छ ? ’ मण्डलामा प्रतिबन्ध आफूले मात्र नलगाएको र पहिला जसले लगाएको थियो, यसपालि सबैभन्दा बढी विरोध उसैले गरेको उनको भनाइ थियो ।

डा.केसीको आमरण अनसनसमेत कुबेलामा, अनावश्यक रूपमा आएको उनको कथन थियो । ‘जति बेला डा. केसी अनसन बसे, सकारले कुनै कानुन परिवर्तन गरेको थियो ? नयाँ व्यवहार देखाएको थियो ? ’ उनले प्रश्न गरे, ‘त्यो अनसन सिलसिलाको १५ औं शृंखलामा मात्र थिएन र ? ’

‘नियुक्ति खारेज जायज’

प्रधानमन्त्रीले निर्वाचन आचारसंहिता जारी भइसकेपछि कांग्रेसले गरेका राजनीतिक नियुक्ति गैरकानुनी भएकाले खारेज गरेको बताए । ‘आचार संहिता जारी भइसकेपछि निर्वाचनलाई दुष्प्रभावित पार्न, फलानालाई जिताउने÷हराउने प्रयोजनका लागि कांग्रेसले नियुक्ति गरेको थियो । गलत मिलोमतोमा नियुक्त तिनै व्यक्ति अहिले सरकारसँग पाखुरा खैँचिन थाले । अह्राएको टेर्न छाडे’, उनले भने, ‘त्यही भएर त्यस्ता नियुक्ति खारेज गरेका हौं । कांग्रेसले गरेका सबै नियुक्ति रद्द गरिएका पनि छैनन् ।’

आफूमाथि विरोधका लागि विरोध भइरहेको प्रधानमन्त्रीको भनाइ थियो । ‘सरकार हस्तान्तरण नगर्ने कुराबाट आक्रोश सुरु भयो । चुनावको परिणामले कसको के बिगार्‍यो र त्यस्तो भयो ? ’ उनले भने ।

उनले सरकारले ५ महिनामा नेपाल–भारत सम्बन्ध ऐतिहासिक उपलब्धिसम्म पुर्‍याएको, चीनसँगको सम्बन्ध विस्तारमा अघि बढेको, दुवै छिमेकीसँग सन्तुलित सम्बन्ध अघि बढाएको बताए । ‘सरकारले धेरै काम गरेको छ’, उनको भनाइ थियो, ‘तर पहिल्यैदेखि भत्किएको बाटाको जिम्मा लिन सकेन भनेर टिकाटिप्पणी हुन्छ ।’

मिडियामाथि ‘टिप्पणी नगर्ने’ भन्दै उनले भने, ‘एउटाले घरमा गौंथली देखेछ । त्यसलाई खेदाउन घरमै आगो लगाइदिएछ । गौंथली उडेछ । ऊचाहिँ मादल बजाउँदै गीत गाउँदो रहेछ– अब कहाँ बस्छ्यौ गौंथली... बादलमुनि बास भयो तिम्रो... ।’

पैंसट्ठी वर्ष पुरानो मुलुकी ऐन खारेज भएर शुक्रबारदेखि अपराध संहिता र देवानी संहिता लागू भएका छन् । अपराध संहिताका केही प्रावधान प्रेस स्वन्त्रता कुष्ठित पार्ने खालका रहेको चिन्ता बढेको छ । त्यसबारे गरिएको पश्नमा प्रधामन्त्री ओलीले भने, ‘जहाँसम्म अपराध संहिताले कुनै क्षेत्रको स्वतन्त्रता कुष्ठित गर्दैन । गरेको पाइएमा विधिसम्मत ढंगले संशोधन गरिनेछ । कुनै क्षेत्रमाथि दमन गर्ने उद्देश्यले यो कानुन ल्याइएको होइन ।’


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.