सगरमाथाआरोहणमा पुराना डोरीले बढायो दुर्घटना

सगरमाथाआरोहणमा पुराना डोरीले बढायो दुर्घटना

काठमाडौं : सगरमाथा आरोहणका क्रममा आरोहीलाई सहज बनाउन टाँगिएका डोरी बर्सौंदेखि नउठाइँदा फोहोर बढेको छ। यसले दुर्घटना पनि उत्तिकै हुने गरेको छ। आरोहण सञ्चालक संघ नामक संस्थाले क्याम्प २ भन्दा माथि वार्षिक रूपमा टाँग्दै आएको डोरी हालसम्म नउठाइँदा आरोहणमा समस्या हुने गरेको छ।

वार्षिक करिब पाँच हजार मिटर डोरी टाँगेर छाडिँदा तिनले आरोहीलाई समस्या हुने गरेको फुर्वा नाम्गेल शेर्पाले बताए। सगरमाथामा आरोहणको ६५ वर्षदेखि टाँगिएका डोरी उठाइएको छैन। आरोहण सञ्चालक संघले पछिल्लो समय डोरी टाँगेर बाटो निर्माण गर्ने भन्दै प्रत्येक आरोहीसँग दुई सय अमेरिकी डलर असुल्दै आएको छ।

डोरी टाँग्ने र सिजनमा आरोहण सम्पन्न भएपछि डोरी पुनः उठाउनपर्ने भए तापनि सरकारी अनुगमन नहुँदा हिमालमा जथाभावी डोरी छाडिएको हो। पुराना डोरी मक्किएको हुने र अनुभव नभएका गाइड र आरोहीले नयाँ डोरी नचिन्दा दुर्घटनासमेत हुने गरेको आरोहीहरूको भनाइ छ। आरोही, गाइड र कम्पनीहरूले टाँगिएका डोरी जसरी पनि उठाउनुपर्ने भने पनि पैसा लिएपछि जिम्मा लिएका संस्थाले काम नगरेको उनीहरूको आरोप छ।

आरोहण सञ्चालक संघले प्रत्येक वर्ष डोरी टाँग्ने जिम्मा लिने र दुई सय डलर संकलन गरी लाखौं कमाएर जिम्मेवारी पूरा नगर्ने भएकाले पर्यटन विभागले तत्काल डोरी संकलन गर्न लगाउनुपर्ने आरोही लाक्पा शेर्पाको भनाइ छ। संघले आरोहण सञ्चालन गर्न पठाएका केही गाइडमध्ये पाँचदेखि आठ जनालाई जनही पाँच सय डलर दिएर डोरी टाँग्ने काममा लगाउने र बाँकी रकम खुलेआम ठगी गर्ने गरेको उनको आरोप छ।

यस वर्ष हिमालयन गाइड नेपाल ट्रेकले आठ जना गाइडको सहयोगमा डोरी टाँगेको थियो। कम्पनीले डोरी टाँग्न जिम्मा दिएअनुसार काम गरेको तर उठाउने प्रचलनै नभएको यस वर्ष डोरी टाँग्ने समूहका प्रमुख आरोही पासाङ तेन्जिङ शेर्पाले बताए। कम्पनीले भने चार हजार डलर पारि श्रमिक र डोरी खरिदमा केही रकम खर्च गरे तापनि तीन सय २६ जना विदेशी र २० जना नेपालीबाट दुई सय डलर डोरी खर्च लिएको थियो। उक्त रकम असुल गरिए पनि पर्यटन विभागले यस विषयमा कुनै अनुगमन नगरेको आरोही गाइडहरूको गुनासो छ।

टाँगिएको डोरी हिउँले पुरिदा हिमपहिरो जाने, चुचुरोसम्मै डोरीले बाटो हिँड्न समस्या बनाउने, फोहोर हुँदा हिँउ नअडिने, आरोही झुक्किएर दुर्घटना हुने जस्ता समस्या हुने गरेको आरोहीहरूको भनाइ छ। क्याम्प ३ र साउथ कोलको बीचमा रहेको एल्लो रकमा जथाभावी छरिएका डोरीले आरोही झुक्किने र दुर्घटना हुने गरेको छ।

संघले ल्होत्से र नुप्से हिमाल आरोहण गर्ने आरोहीबाट समेत रकम असुल्छ। तर पछिल्लो समय क्याम्प २ भन्दा माथि जताजतै फोहोर बढेपछि हिमालमा विकराल समस्या बढ्दै गएको छ। फोहोर संकलनका लागि सरकारले कुनै पनि कार्यक्रम सञ्चालन गरेको छैन। प्रत्येक अरोहीले ८ किलोग्राम फोहोर आधारशिविर ल्याउनुपर्ने कानुनी प्रावधानलाई समेत सरकारले अनुगमन गर्न सकेको छैन। यता पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले भने टाँगिएका डोरी संकलन गर्न पहल थाल्ने बताए। कम्पनी र आरोहीसँग कार्यक्रम आयोजना गरी सुझाव लिएपछि डोरी र अन्य फोहोर संकलन गर्न सम्बन्धित संस्थाहरूलाई लगाउने विभागले तयारी गरेको उनको भनाइ छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.