पहिलो पटक पेपरलेस क्षयरोग परीक्षण
ललितपुर : देशमा वास्तविक क्षयरोगीको संख्या यकिन गर्न पहिलोपल्ट अत्याधुनिक प्रविधियुक्त पेपरलेस क्षयरोग सर्भेक्षण सुरू भएको छ। सर्वेक्षणमा काठमाडौं उपत्यका बाहिरका ९९ र उपत्यकाका १० स्थान परेका छन्। तीमध्ये ललितपुर महानगरपालिकाको वडा नम्बर १३ र वागमती गाउँपालिकाको गिम्दीमा बुधबार सर्वेक्षण सुरु भएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका उपस्वास्थ्य प्रशासक खगेश्वर गेलालले यो प्रविधि अहिलेसम्मकै नयाँ र अत्याधुनिक मानिएको बताए। यो प्रविधिले नयाँ र पुराना क्षयरोगीको संख्या पत्ता लगाउन सघाउने उनको भनाइ छ। विश्व स्वास्थ्य संगठनको करिब २५ वर्ष पुरानो तथ्यांकका आधारमा नेपालमा लगभग ४५ हजार क्षयरोगी भएको अनुमान गरिए पनि प्रविधिले ३०–३५ हजार मात्रै बिरामी देखाएको उनको भनाइ छ।
गेलालका अनुसार वैज्ञानिक तरिकाबाट छानिएका ललितपुर महानगरपालिका र गिम्दी दुवै स्थानमा १२ सय मानिसमा सर्वेक्षण गरिने भएको हो। उनले भने, ‘६ महिनामा सकिने लक्ष्य लिइएको सर्वेक्षणमा पाँच वर्षभन्दा माथिका व्यक्तिमा क्षयरोग भए नभएको परीक्षण गरिनेछ।’ अत्याधुनिक प्रविधिमार्फत बिरामीको डिजिटल एक्सरे, खकार जाँच, जिन एक्सपर्ट (क्षयरोगका जीवाणु के कति छन् हेर्ने माध्यम) र कल्चर गरिन्छ। शंकास्पद क्षयरोगीलाई यी चारै विधिमार्फत जाँच गरिने भएकाले भरपर्दो हुने जनस्वास्थ्यका ल्याब टेक्निसियन शंकर पौडेलले बताए।
प्रशासक गेलालले सय जनामध्ये ४५ जना मानिसमा क्षयरोगको जीवाणु हुने जानकारी गराउँदै भने, ‘रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनेलाई निमोनिया, झाडापखाला र टीबी लागिहाल्छ।’ छातिमा जेलजस्तो भएर जीवाणु बसेको हुन्छ र प्रतिरोधात्मक क्षमता कमजोर हुनासाथ समस्या देखिइहाल्छ। अस्वस्थ खानेकुरा खाने र विपन्न परिवारमा क्षयरोगको समस्या बढी देखिएको उनको भनाइ छ।
दाँत, शरीरका रौं र नङबाहेक सम्पूर्ण भागमा क्षयरोग हुनसक्ने बताउँदै नेपालमा सबैभन्दा धेरै फोक्सोका क्षयरोगी रहेको र यो निकै खतरनाक भएको जानकारी दिए। उनले भने, ‘एक जना बिरामीले वर्षदिनमा १० देखि १५ जनालाई रोग सार्छ।’ सार्वजनिक सवारीमा बिरामीले खोकेमा, थुकेमा धेरै जना संक्रमित हुन सक्ने उनी बताउँछन्।
उपत्यकाका प्रत्येक सय जनामध्ये ४, पहाडका ३ र हिमालमा क्षयरोग न्यून हुन्छ भन्ने पुरानो मान्यता रहेको गेलालले बताए। तर क्षयरोगको (डट्स प्रविधि) प्रत्यक्ष स्वास्थ्यकर्मीको निगरानीमा औषधि खुवाउने कार्यक्रम सञ्चालनपछि क्षयरोगीको संख्या घट्दै गएको र नेपाल सन् २०५० सम्ममा क्षयरोगमुक्त हुने लक्ष्यमा लागेको बताए। क्षयरोगको उपचार गरे स्वस्थ हुने भन्दै उनले भने, ‘पैसा लाग्दैन, समय मात्र दिनु पर्यो, रोग पत्ता लगाएरै छाड्छौं र उपचार निःशुल्क हुन्छ।’