पानी नपरेपछि रोपाइँ घट्यो

पानी नपरेपछि रोपाइँ घट्यो

भोजपुर : आकाशे पानीको भरमा खेती हुने स्थानमा पर्याप्त पानी नपरेपछि किसानले यो वर्ष चाहेअनुसार धान खेती गर्न पाएका छैनन् । पानी कम परेकाले साउन सकिन लाग्दासम्म जिल्लाभर करिब ८४ प्रतिशत मात्र रोपाइँ भएको छ । हिउँदयाममा सुक्खा खडेरी र वर्षातमा कम पानी परेका कारण मुहान र मूलमा पानीको सतह घटेपछि गत सालको तुलनामा यो वर्ष झन्डै पाँच प्रतिशतले रोपाइँ घटेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

पानी नपरेपछि खेतमा धुलो उड्न थालेको टेम्के मैयुङ गाउँपालिका कोट पिप्लेका मणि राईले सुनाए । ‘पानी कम परेकाले धान रोप्ने काम पनि त्यतिकै थाती राख्नुपरेको छ । पानी नभएपछि अगाडि रोपेका धानका बीउ पनि सुक्न थालेका छन्’, उनले भने, ‘कहिले आकाश गर्जिएला र धान रोपौंला भन्ने भएको छ ।’

यो वर्ष कम पानी परेपछि रोपाइँ घटेको कार्यालयका सूचना अधिकारी युकमणि भट्टराईले जानकारी दिए । उनले भने, ‘पानी कम परेकाले जिल्लाका कोट, गोगने, दलगाउँ, दक्षिणी क्षेत्र, उत्तरी केही क्षेत्रमा रोपाइँ हुन सकेको छैन । पोहोरसालको तुलनामा यसपालि पाँच प्रतिशत जति कम रोपाइँ भएको छ ।’

जिल्लाको १८ हजार ९७ हेक्टर क्षेत्रफलमा हुने धान खेतीमध्ये करिब सात सय हेक्टर पानी पुग्ने क्षेत्रफलमा बर्खे र हिउँदे गरी दोहारो धान खेती हुने गरेको तथ्यांक छ । बाँकी क्षेत्रमा भने एक बाली मात्रै हुने गरेको छ । तर गत वर्षको तुलनामा यो वर्ष अधिकांश कृषक धान खेती छाडी नगदेबाली तथा फलफूल खेतीतर्फ उन्मुख भएपछि करिब एक हजार हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन घटेको सुनाउँदै सूचना अधिकृत भट्टराईले भने, ‘पछिल्लो समय कृषकहरू पारम्परिक धानखेतीलाई छाडेर छिटो र राम्रो आयआर्जन गर्न अन्य पेसा अंगालेका छन् । भएको सयौं मुरी फल्ने धान खेती जमिनमा अलैंची, अम्रिसो, रुद्राक्ष, सुन्तलालगायत नगदेबाली तथा फलफूल खेती गर्न सुरु गरेकाले धानखेती गर्ने जमिन मासिएको हो ।’

०७३ सालको तुलनामा गत वर्ष तीन हजार आठ सय २० मेट्रिक टनले धान उत्पादन बढेको थियो । उन्नत जातको बीउ विजन, प्रशस्त सिँचाइ र उचित समयमा मलखाद वितरणले जिल्लाभर गत वर्ष कुल ४० हजार एक सय मेट्रिक टन धान उत्पादन भएको कार्यालयको तथ्यांक छ । ७५ प्रतिशतभन्दा बढी किसानले मुख्य बालीको रूपमा धान खेती गर्ने गरेका छन् ।

जिल्लामा स्थानीय जातका अट्टे, जीरा मसिना, मन्सुली, पोखरेली, बास्मती जातका धान खेती हुने भोजपुरमा उत्तरी साङपाङ, देउराली, दिङ्ला, हेलौंछा, बोया, पूर्वी तिवारी भञ्याङ, चरम्बी, याङपाङ, चम्पे, दक्षिणी मानेभञ्ज्याङ, बैकुण्ठे, बासीखोरा, रानीबास, बालंखा, दुम्माना, हसनपुर, पश्चिमी अन्नपूर्ण, छिनामखु, नागी, खावा, दिल्पा र सिद्देश्वर, गुप्तेश्वर, बोखिम, भोजपुर, टक्सार, भैंसीपंखालाई मुख्य धान उत्पादन पकेट क्षेत्रको रूपमा लिइन्छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.