पुरानै गतिमा फर्किन् करिना
मुम्बई : कुनै समय निकै चर्चामा रहेकी बलिउड अभिनेत्री करिना कपुर सैफ अलि खानसँग बिहे भएपछि अभिनयबाट ओझेल परेकी थिइन्। उनको क्रेज घटेको थियो। अझ छोरा जन्माएपछि उनको फिल्मी करिअर नै समाप्त भएको विश्लेषण पनि गरिएको थियो। तर, त्यो विश्लेषण गलत साबित गर्दै उनी आमा बनेपछि लगत्तै फेरि फिल्ममा फर्किन्।
बिहेपछि पहिलेकै गतिमा आफ्नो फिल्मी करिअर सँगै लैजाने नायिका निकै कम हुन्छन्। तर, करिना कपुरले आफूलाई अन्यभन्दा फरक साबित गरेकी छन्। आमा बनेको केही महिनामै उनले आफ्नो तौल घटाएर सुटिङमै फर्किन्। अहिले उनको फिल्मी करिअरले पुरानै गति लिन थालेको छ।
आमा बनेपछि पछिल्लोपटक अभिनय गरेको चलचित्र ‘वीरे दी वेडिङ’ले निकै चर्चा कमायो। व्यावसायिक रूपमा सफल रह्यो। करिनाको प्रमुख भूमिका रहेको उक्त चलचित्र सफल हुनुको जस पनि उनले प्राप्त गरिन्। यो चलचित्रमा उनले थोरै पारि श्रमिक लिएको बताइएको थियो। यसको सफलतासँगै उनले आफ्नो रेट पनि बढाएकी छन्। चल्तीका हिरोइन प्रियंका चोपडा, कट्रिना कैफ, दीपिका पादुकोण जत्तिकै डिमान्ड गर्न थालेकी छन्।
उनी हाल करण जोहरले निर्देशन गर्ने मल्टिस्टार फिल्म ‘तख्त’मा अनुबन्धित भएकी छन्। यो फिल्म ऐतिहासिक विषयवस्तुमा आधारित रहने बताइएको छ। यसमा उनले १० करोड पारि श्रमिक लिएको बताइएको छ। यसपछि उनी ‘गुडन्युज’ नामक फिल्ममा अक्षयकुमारसँग देखिनेछिन्।