'साग बेच्नेलाई कर जनविरोधी'
भक्तपुर : भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले खर्पनमा साग बेच्ने किसानसँग कर लिएर नगर विकास नहुने बताएका छन्। भक्तपुर घरेलु तथा साना उद्योग संघ र महिला उद्यमी संघद्वारा आयोजित १५ दिने बेहुली श्रृंगार तालिम समापनमा प्रमुख प्रजापतिले नगरपालिकाले सक्नेसँग मात्रै कर लिने बताए।
जनतालाई थप भार हुने गरी कर लगाउनु जनविरोधी कार्य भएको उनको भनाइ थियो। ‘हरेक सञ्चारमाध्यममा स्थानीय तहले जेमा पनि कर लिएको समाचार छ’, प्रमुख प्रजापतिले भने, ‘कर जनतामैत्री हुनुपर्छ। जनतालाई थप भार हुने गरी कर लगाउनु जनविरोधी कार्य हो।’ भक्तपुर नपाले कर नबढाई उल्टै छुट दिएको उनले जानकारी दिए। उनका अनुसार घरजग्गाको करमा पचास प्रतिशत छुट दिइएको छ। त्यस्तै सरकारले १२ प्रतिशत भनेको घरबहाल करलाई १० प्रतिशतमा झारिएको उनले बताए।
तालिममा सहभागी व्युटिसियनलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख प्रजापतिले नगरभित्रका उद्योगी व्यावसायीलाई आफूअनुकूल कर तिर्ने गरी वर्गीकरण गरिएको जानकारी दिए। ‘कोही क वर्गबाट ख वर्गमा झरेर कर तिर्नसक्ने व्यवस्थासमेत गरेका छौं’, उनले भने, ‘कोही म ख वर्गमा बस्दिन क वर्गमा उक्लिन्छु र सोहीअनुसार कर तिर्छु भन्न पनि पाउँछन्।’
कर जाँच गर्नु
नगरप्रमुख प्रजापतिले नपाले कर बढी लियो भनेर आलोचना गर्नुभन्दा लिएको करको सही सदुपयोग भए नभएको नगरवासीले जाँच गर्नुपर्ने धारणा राखे। जनताले तिरेको करमा भ्रष्टाचार र आर्थिक अनियमितता भए त्यसले नगरवासीको विकास निर्माणको माग सम्बोधन नहुने उनको भनाइ थियो। ‘नगरवासीले कर नतिरे नगरको विकास निर्माण सम्भव छैन’, उनले भने, ‘त्यसैले कर लियो भनेर आलोचनागर्नु भन्दा करको सही सदुपयोग भए नभएकोतर्फ सचेत हुनुपर्छ।’
उद्योगले कर तिरेन
नगरप्रमुख प्रजापतिले भक्तपुर नपा २ स्थित औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले नपामा कर नतिरेको गुनासो गरे। त्यहाँ सञ्चालित उद्योगले भक्तपुर नपालाई करिब ७४ लाख रुपैयाँ बराबरको कर तिर्न बाँकी भएको जानकारी दिए। औद्यागिक क्षेत्रका उद्योगी व्यवसायीले कर नतिरेकाले त्यहाँको ढल निकास, बाटो व्यवस्थापन र सरसफाइप्रति वेवास्ता गरेको बताए। ‘आफूलाई उद्योगी व्यवसायी भनेर गर्व गर्ने तर नपालाई कर नतिर्ने पनि कहीं हुन्छ ? ’, प्रमुख प्रजापतिले प्रश्न गरे, ‘नपालाई कर नतिर्ने ठाउँमा नपाले पनि हेर्दैन भन्ने उदाहरण भक्तपुर औद्योगिक क्षेत्र बनेको छ।’
नगरभित्रका करिब १७ हजार घरधुरीसँग मासिक २५ रुपैयाँ सफाइ कर लिएर सिंगो नगरको सफाइ गर्दै आएको उनले स्पष्ट पारे। नपाले सरसफाइमा गरेको खर्च हिसाब गरे नगरवासीबाट उठ्ने कर कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने उनले जानकारी दिए।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जती, सचिव प्रेमकृष्ण खर्बुजालगायतले भक्तपुरको पर्यटनलाई घरेलु तथा साना उद्योगसँग एकाकार गरी लान आग्रह गरे। घरेलु तथा साना उद्योग र यसका मौलिक उत्पादनको प्रवद्र्धन तथा बजारीकरणमा भक्तपुर नपाले सहयोग गर्नुपर्ने उनीहरुले माग गरे।