लेखन अनुभूतिबारे तीन हस्ती
काठमाडौं : कवि तोया गुरुङको ‘सूर्यदह’ कविता प्रकाशनपूर्व सेन्सरमा थियो। पञ्चायतकालमा गुरुङका कतिपय कविता सेन्सरमा परेका थिए। उनको ‘सूर्यदह’, ‘धुपी’, ‘देवल घुमेपछि’, ‘पुनरावती’ लगायतका कवितासंग्रह प्रकाशनमा छन्। ‘सेन्सर नै लगाउनुपर्ने कवितामा त्यस्तो के लेखेको थिएँ र मैले ? ’ भन्दै उनी आज पनि प्रश्न गरिरहेकी छन्।
तोयाको छेउमै बसेका थिए, आख्यानकारद्वय ध्रुवचन्द्र गौतम र भागीरथी श्रेष्ठ। मार्टिन चौतारीमा शनिबार आयोजित ‘आह्वान अनुभूति’ छलफल कार्यक्रममा यी तीनै हस्ती आफ्ना लेखन अनुभूति सुनाउन तम्तयार थिए।
गुरुङले ‘पञ्चायतकाल नै त्यस्तै थियो वा म नै सनकी पो थिएँ कि ? ’ भन्दै गर्दा धुव्रचन्द्र गौतम आफ्ना जवानीका दिनहरू सम्झँदै थिए। त्यति बेला उनको रुचि लेखनमा होइन, गायनमा बढ्दै थियो। गौतम भन्छन्, ‘म सुरुमा लेखक होइन, गायक बन्न चाहन्थेँ।’ गायक बन्ने सपना बोकेका गौतमको रुचि पछि फिल्ममा पनि बढ्दै गएछ।
अर्कोतिर भागीरथीले आफ्नो लेखनको सुरुआतदेखि अहिलेसम्मका कथाको रचनागर्भ सुनाउँदै गइन्। दिनभरि कोठाभित्र बसेर लेख्दा उनलाई समाजले आलोचना पनि ग¥यो। भागीरथीले भनिन्, ‘तर श्रीमान् र परिवारबाट कहिल्यै हस्तक्षेप भएन।’ आज ७० वर्षको उमेरमा पनि उनको लेखन डगमगाएको छैन। ‘जसले जे जे भने पनि कथा लेख्ने चाहना कहिल्यै मेटिएन’, उनले भनिन्, ‘मैले निरन्तर लेख्दै गएँ।’
गौतमले एक हरफ गाना पनि गाएर सुनाए। केही समयको गायन यात्रापछि आफू फेरि कविता लेख्न उत्साहित भएको उनले बताए। २०४० सालमा उनको ‘अलिखित’ उपन्यासले मदन पुरस्कारसमेत प्राप्त गरेको छ। उनले भने, ‘म लेखनबाहेक अरू केही जान्दै जान्दिनँ।’ आफ्नो लेखनशैलीबारे प्रस्ट्याउँदै उनले थपे, ‘मेरो अलि असरल्ल व्यक्तित्व छ, अब लेख्न जाँगर ममा छैन तर लेख्ने ऊर्जा भने छ।’
भागीरथीले भन्ने आफ्नो कथा लेख्ने प्रेरणा आफ्नो जन्मघर भएको बताइन्। ‘मेरो लेखनको धरातल मेरो माइती देश हो’, उनले भनिन्, ‘त्यहाँका हरेक घरका दुःख पीडाबाट मेरा कथाहरू जहिल्यै उत्पे्ररित भएका छन्।’ उता कवि तोयाले आफ्नो कविता पढ्ने धेरै भए पनि कविताको गहिराइ बुझ्ने कम भएकोमा गुनासो गरिन्। भनिन्, ‘मेरो कविता सबैले पढ्छन् तर मेरो सिर्जना केका लागि हो, त्यसको गहिराइमा जाँदैनन्।’