संयोगले बनेकी एक कलाकार

संयोगले बनेकी एक कलाकार

काठमाडौं : रंगकर्मी सरस्वती अधिकारी सर्लाहीको लालबन्दीमा हुर्केकी हुन्। स्कुल पढ्दा शिक्षकको आनीबानी नक्कल गर्न उनलाई खुब मन पथ्र्यो। नाच्नेगाउने काममा अगाडि थिइन् उनी। उनी २०६७ सालदेखि काठमाडैाँमा स्थायी रूपले बस्न थालेकी हुन्। बेलाबेला नाटक हेर्न नाटकघर पुगिरहन्थिन्।

नाटक हेर्दाहेर्दै उनलाई त्यसको कलाकार आफू नै हो कि जस्तो लाग्न थाल्यो। प्रत्येक पात्रका संवादले उनलाई छुन्थ्यो। आफू पनि अभिनय गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो। तर नाटक के हो ? अभिनय कसरी गर्ने भन्ने बारेमा केही जानकारी थिएन।

विजय विस्फोटसँग उनले अभिनयको कक्षा लिन थालिन्। त्यहीँ एउटा सर्ट मुभीमा काम गर्ने मौका पाइन्। त्यहाँ रंगकर्मी सरिता शाहसँग चिनाजानी भयो। भन्छिन्, ‘एकदिन घरमा खाना बनाउँदै थिएँ। एक्कासि सरिता दिदीको फोन आयो। नयनराज पाण्डेको उपन्यास ‘लु’ मा आधारित नाटक बन्न लागेको रहेछ। ‘लु’ मा रजिया पात्रको भूमिकामा अभिनय गर्ने मौका पाएँ।’

उक्त नाटकमा उनले गरेको अभिनयको प्रशंसा भयो। उनी भन्छिन्, ‘म संयोगले कलाकार बनेँ। यो क्षेत्रमा पाइला चाल्न प्रोत्साहन मिल्यो।’ उनले काशीदेवी, लु, घोडचढी र ययाती नाटकमा अभिनय गरिन्। साथै केही स्वास्थ्यसम्बन्धी लघुनाटकमा पनि काम गरिन्।

अहिले टेलिसिरियल सिंहदरबार- २ मा एउटा पत्रकारको भूमिकामा अभिनय गरिरहेकी छन्। अचेल त उनलाई अभिनयको लत नै लागिसक्यो। भन्छिन्, जीवनमा सबै कुरा छाड्न सक्छु तर नाटक खेल्न छाड्न सक्दिनँ। अभिनयले मेरो फरक परिचय दियो। साथै उनले सीमित अवसरका साथै असीमित अप्ठ्यारो र दुःख भएको पेसाका रूपमा अभिनयलाई बुझेकी छन्।

एउटा नाटकको रिहर्सल सुरु भएर सो सकिएको दुई÷तीन महिनासम्म पनि पात्रको चरित्रले आफूलाई प्रत्यक्ष असर पार्ने उनी बताउँछिन्।        श्रीमान् मरेकी विधवा पात्रको चरित्र निर्वाह गरेकी थिइन् उनले एक नाटकमा। त्यो बेला उनलाई साँच्चिकै आफ्नै        श्रीमान् मरेजस्तो लाग्थ्यो। चिच्चाइचिच्चाई रुन्थिन् र महिनौ दुःखी भएर बस्थिन्। घरमा यसै बसिरहँदा पनि उनलाई आफू त्यही नाटकको पात्रजस्तो लाग्दो रहेछ। भन्छिन्, ‘आमाले धेरैपटक गाली पनि गर्नु भएको छ। यस्ता नाटकले मलाई पात्रसँग कसरी बाँच्ने भनेर सिक्ने मौका दियो। मैले भूमिका निभाउने हरेक पात्रलाई माया गर्न सिकेँ।’

टेलिसिरियल सिंहदरबारमा अनु अधिकारी नामक पत्रकार महिलाको भूमिकामा अभिनय गरिरहेकी छन्। केही समयअघि स्वास्थ्यसम्बन्धी डकुड्रामामा अभिनय गरेकी थिइन्।

रंगकर्मी सिर्जना सुब्बाले उनलाई सिंहदरबार टेलिचलचित्रमा खेल्ने अवसर जुटाइदिएकी हुन्। नाटकको मान्छे सिरियल खेल्दा कस्तो लागेको छ ? भन्छिन्, ‘नवीन सुब्बा, गौरी मल्लजस्ता व्यक्तित्वसँग काम गर्न पाएकोमा अत्यन्तै खुसी लागेको छ। नाटकभन्दा फरक तरिकाको प्रस्तुत हुने भएकाले पनि रमाइलो लागेको छ।’

टेक, रिटेकको अवसर पाइने सिरियलभन्दा नाटकमा काम गर्न नै तुलनात्मक रूपमा कठिन हुने उनी बताउँछिन्। नाटकमा अभिनय गर्दा दर्शकको प्रतिक्रिया तत्कालै पाइन्छ भने सिरियलमा अगाडि नै सुटिङ र रेकर्ड हुने हुँदापछि मात्र प्रतिक्रिया पाइने रहेछ।

उपयुक्त भूमिका पाएको अवस्थामा चलचित्रमा पनि अभिनय गर्ने सोच राखेकी अधिकारी नेपालमा रंगमञ्चमा मात्रै काम गरेर जीवन धान्न कठिन हुने बताउँछिन्। नाटकका क्षेत्रमा चर्चा, छलफल, वर्कसप चल्न थालेका छन्। यसले नयाँ सम्भावनाको निर्माण हुनेमा उनी आशावादी छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.