अनुगमनमा तनाव भएपछि मन्त्री र सिडिओ कालीमाटी तरकारी बजारमा
काठमाडौं : बिहान कालीमाटी तरकारी बजारमा अनुगमनका क्रममा उत्पन्न विवाद समाधान गर्न मन्त्री र काठमाडौंका प्रमुख जिल्ला अधिकारीसहितको टोली अहिले तरकारी बजार पुगेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादव र काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यसहितको टोली कालीमाटी तरकारी बजार गएको मन्त्रालयले जनाएको छ। सोमबार बिहान तरकारी बजार अनुगमनमा गएको सरकारी टोलीलाई व्यापारीहरूले नियन्त्रणमा लिएका थिए।व्यापारीको नियन्त्रणमा रहेको सरकारी अनुगमन टोलीका सदस्यहरूलाई प्रहरीले उद्दार गरेको छ।
अनुगमन टोलीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडासहितका व्यापारीलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यापारीलाई महानगरीय प्रहरी परिसर टेकु लगिएको छ।
अनुगमनमा उत्पन्न तनाव समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादव र प्रमुख जिल्ला अधिकारी आचार्य तरकारी बजार पुगेका हुन्।