चोकैभरि सीसी क्यामेरा
ललितपुर : कुन ठाउँमा के भइरहेको छ ? कार्यालयमै बसेर सीसी क्यामेराको माध्यमबाट गतिविधि नियाल्छन् ललितपुर महानगरपालिका ३ का अध्यक्ष श्रीगोपाल महर्जन। आपराधिक घटना नियन्त्रण र सामाजिक सुरक्षालाई ध्यानमा राखेर वडाका पच्चीसवटै चोकमा सीसी क्यामेरा जडान गरेको जानकारी उनले दिए।
महर्जनका अनुसार सानेपानजिकै रहेको प्रधानसेनापति निवासदेखि वडाका विभिन्न चोकमा क्यामेरा जडान गरिएको हो। उनको वडामा भीआइपीको बसोबास र राजदूताबासहरु छन्। ‘सबैको सुरक्षामा केन्द्रित हुँदै गतवर्षको बजेटबाट १० लाख ८५ हजार रुपैयाँ खर्च गरेर सीसीक्यामेरा राखें,’ महर्जनले भने। सीसी क्यामेरा जडान गरेपछि वडामा अपराध नियन्त्रण भएको उनको दाबी छ। महर्जनले भने, ‘क्यामेरा छ भन्ने थाहा पाएपछि मान्छे नियम उल्लंघन गर्न डराउने रहेछन्।’ कहाँनिर दुर्घटना भयो कार्यालयबाटै नियमन गर्छन् उनी। सीसी क्यामेरामा दुर्घटना, चोरीजस्ता घटनाका फुटेज हेर्न प्रहरी आउने गरेको महर्जनको भनाइ छ।
दुर्घटना गराएर भागेका थुप्रै सवारी भिडियो फुटेज हेरेर पक्राउ गरिएको उदाहरण सुनाउँदै उनले भने, ‘ट्याक्सीमा छोडीएको सामान भेटाउन पनि सहयोग गरेको छ।’ महानगनरीय प्रहरी परिसर जाउलाखेलका प्रहरी उपरीक्षक शेखर खनालले सीसी क्यामेराले अपराध नियन्त्रणमा धेरै सहयोग पुर्याएको बताए।
वडा नम्बर ३ ले जस्तै अन्य स्थानीय तहले पनि सामाजिक सुरक्षामा चासो राख्न आवश्यक रहेको बताउँदै भने, ‘प्रविधिमैत्री हुनुपर्छ भनेर नगरका प्रमुख, वडाका अध्यक्ष लगायतसँग समन्वय गरेर धेरै ठाउँमा सीसी क्यामेरा थप्ने प्रयत्न गरिरहेका छौं।’ सीसी क्यामेरा राखेपछि अपराध रोकथाम हुने र अपराध भएको खण्डमा पनि अनुसन्धान गर्न सजिलो हुने उनको विश्वास छ।
ललितपुरमा प्रहरी आफैंले कुपण्डोल, पुल्चोक, लगनखेल लगायतका सडकमा सीसी क्यामेरा जडान गरेको बताए। खनालले भने, ‘पछिल्लो समय गाडीले हानेर भाग्ने (हिट एन्ड रन) घटना बढेकाले चक्रपथका धेरै ठाउँमा सीसी क्यामेरा थपेका छौं।’
गृह मन्त्रालयको सिसी क्यामेरा जडान तथा सञ्चालन सम्बन्धी कार्यविधि २०७२ ले सार्वजनिक क्षेत्रमा अपराध न्यूनिकरण गर्न, अनुसन्धानमा सहयोग लिन, सवारी व्यवस्थापन सहज गराउन, सडक उल्लंघनका कार्य निरुत्साहित गर्न तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था लगायतका कामका लागि आमनागरिकलाई सुरक्षाको प्रत्याभूत गराउन सिसीटिभी जडान गर्न अनुमति दिएको छ। जडानको अनुमति भने जिल्ला प्रशासन कार्यालयबाट लिनुपर्नेछ। जनप्रतिनिधि आएको वर्ष दिन बितिसक्दा पनि धेरै ठाउँमा कार्यालय व्यवस्थापन हुन सकेका छैनन्। गोदावरी र महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय स्थापना गर्न सकेका छैनन् भने महानगरका वडाहरु प्रायः कार्यालयविहीन छन्।