संसदद्वारा अन्तर्राष्ट्रिय आतंकवाद महासन्धि अनुमोदन

संसदद्वारा अन्तर्राष्ट्रिय आतंकवाद महासन्धि अनुमोदन

 काठमाडौं : प्रतिनिधिसभाको सोमबारको बैठकले अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध र अवैध लागुऔषध कारोबारविरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धि अनुमोदन गरेको छ । महासिन्ध अनुमोदन गरियोस् भनी सभामुख कृष्णबहादुर महराले संसद्मा प्रस्ताव प्रस्तुत गर्दा ध्वनी बहुमतले अनुमोदन गरेको थियो ।

यसअघि गृहमन्त्री रामबहादुर थापाले काठमाडौंमा भदौ १४ र १५ गते हुने बिमस्टेक बैठकअघि नै महासन्धि संसद्बाट अनुमोदन गर्नुपर्ने भएको जानकारी दिएका थिए । अन्य ६ राष्ट्रले महासन्धि पारित गरिसकेको उनले बताए । उनले भने, ‘महासन्धिले नेपाल–भारतबीचको खुला सीमालाई पनि ध्यान

दिनेछ । त्यसको अनुगमनमा विशेष नीति अपनाइने छ ।’ उनले सांसदहरूको प्रश्नको जवाफमा भने, ‘यो महासन्धि जनताको राष्ट्रिय आन्दोलन र नागरिक अधिकारविरुद्ध प्रयोग हुँंदैन ।’

अन्तर्राष्ट्रिय आतंकवाद, अन्तरदेशीय अपराध र अवैध लागुऔषध कारोबार विश्वव्यापी बन्दै गएकाले अन्तर्राष्ट्रिय सहयोग र समन्वयबिना नियन्त्रण गर्न नसकिने उनको दाबी थियो । यसपूर्व महासन्धिका एक मात्र संशोधनकर्ता सत्ता पक्षका प्रमुख सचेतक देवप्रसाद गुरुङले संसद्बाट अनुमोदन गरिने कुनै पनि महासन्धिले हिजो झैं भविष्यमा पनि झापा आन्दोलनदेखि जनयुद्ध दबाउनेसम्मका कार्य दोहोरिनु नहुने र त्यसो भए ठीक नहुने चेतावनी दिए ।

संसद्बाट अनुमोदित महासन्धिको धारा १० ले अनुरोध अस्वीकार गर्न सक्ने अधिकार दिएको छ । त्यसमा उल्लेख छ, ‘यदि कसैको सहायताको अनुरोधले आफ्नो देशको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षामा असर गर्छ र आन्तरिक कानुनविपरीत हुन्छ भने कुनै राज्यले सहायताका लागि आएको अनुरोध पूरै वा आंशिक रूपमा अस्वीकार गर्न सक्छ । सहायता अस्वीकार गरेको जानकारी सम्बन्धित पक्षलाई गराउनु पर्छ ।’

महासन्धि अनुमोदन भएपछि बिमस्टेकका ७ सदस्य राष्ट्रबीच अन्तर्राष्ट्रिय आतंकवादविरुद्ध संघर्षमा सहयोगी हुने महासन्धिमा उल्लेख छ । महासन्धीमा अन्तर्राष्ट्रिय आतंकवादको योजना, कार्यान्वयन र तयारी गरिरहेका व्यक्ति वा समूहका जानकारी आदानप्रदान गर्ने, त्यस्ता कार्यमा संलग्न व्यक्ति र समूहको जानकारी आदानप्रदान गर्ने उल्लेख छ । आतंकवादीका योजना, तरिका र तयारीसम्बन्धी जानकारी बिमस्टेक सदस्य राष्ट्रबीच आदानप्रदान हुनेछ ।

अन्तर्राष्ट्रिय आतंकवाद नियन्त्रण र अनुगमन गर्ने विभिन्न विधि र तरिकासम्बन्धी जानकारी सदस्य राष्ट्रबीच आदानप्रदान गरिने महासिन्धमा उल्लेख छ ।

महासन्धिमा अपहरण, बन्धकको उद्धार, नक्कली र जाली नोट कारोबारसम्बन्धी अनुसन्धान, अवैध हतियार वा विस्फोटक पदार्थ कारोबारको अनुसन्धान, जाली राहदानीलगायत विषयमा सदस्य राष्ट्रबीच अनुभव, सूचना तथा जानकारी आदानप्रदान गर्ने उल्लेख छ । आतंकवादी समूहले प्रयोग गर्ने हतियार, बिस्फोटक पदार्थ र अवैध वस्तुको प्रयोग, ओसारपसार रोक्न सहकार्य र समन्वय गर्ने पनि महासन्धिमा उल्लेख छ ।

अन्तरदेशीय संगठित अपराधमा संलग्न व्यक्ति वा समूहबारे जानकारी आदानप्रदान गर्ने, त्यस्ता अपराध रोक्न वा नियन्त्रण गर्न आवश्यक जानकारी सदस्य राष्ट्रबीच आदानप्रदान गर्ने पनि महासन्धिमा उल्लेख छ । सदस्य राष्ट्रबीच संगठित आपराधिक समूह, अपहरण, हातहतियार, विस्फोटक पदार्थ तथा अन्य अवैध वस्तु तस्करी, नक्कली÷जाली नोट तस्करीमा संलग्न, नक्कली राहदानीसम्बन्धी सूचना तथा जानकारी पनि आदानप्रदान हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.