हिमालको काखमा भलिबल
ताप्लेजुङ : दुई दिनको बाटो हिँडेर तोक्पेगोला पुग्दा मेरिङ्देन गाउँपालिका–६ का देवेन्द्र लिम्बूलाई थकानको कुनै अनुभूति थिएन । भलिबल टिमसहित पहिलोपटक तीन हजार ६ सय मिटरको उचाइमा पुगेका लिम्बू बरु झन् उत्साहित भए । किनकि, वरिपरि अग्लाअग्ला पहाड र त्यो पहाडको कापबाट झरेको झरनासँग साक्षात्कार गर्दै भलिबल खेल्न त्यहाँ पुगेका थिए।
‘बाटामा त यहाँ आएर खेल्न सकिन्छ जस्तो नै लागेको थिएन’, लिम्बूले भने, ‘यहाँ आइपुगेपछि र यहाँको मनोरम दृश्यले बाटाको थकान सबै भुलायो ।’ हिउँदमा सेताम्मे हुने दुर्गम पर्यटकीय गाउँमा साउन ३१ देखि भदौ २ सम्म पहिलोपटक वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।
तोक्पेगोला मिक्वाखोला गाउँपालिका–५, पापुङमा पर्ने तिब्बतसँग जोडिएको सीमावर्ती गाउँ हो । यहाँ सीमान्तकृत समूहमा सूचीकृत तोक्पेगोला (स्थानीय भाषामा ढोप्क्या भनिने) जातिको बसोबास छ । मिक्वाखोला–४, सावाँका लोकेन्द्र थलङ पनि हिमालको फेदीमा भलिबल खेलको अनुभव सँगाल्न मेवाखोलाको तिरैतिर तोक्पेगोला पुगेका थिए । ‘अन्य ठाउँमा त पहिलेदेखि नै खेलेको हो तर यति उचाइमा कहिल्यै खेलेको थिइनँ’, खेल सकिएपछि थलङले भने, ‘यहाँको मैदान प्रवेश गरेपछि साँच्चिकै फरक स्फूर्ति र ऊर्जा थपिएको महसुस भयो ।’ प्रथमलाई नगद ५० हजार पुरस्कार रहेको प्रतियोगितामा ६ टिम सहभागी थिए । तिनमा पापुङको टिम पहिलो र नाल्बु दोस्रो भए ।
तोक्पेगोला जातिको ऐतिहासिक स्थल र सो क्षेत्रमा रहेका सयौं पोखरी, झरना, छहरा, जडीबुटी र पशुपालनको प्रवद्र्धन गर्न प्रत्येक वर्ष नागपञ्चमीको आसपास पारेर तोक्पेगोला जात्रा आयोजना गरिन्छ । पर्यटन प्रवद्र्धन र सामाजिक सद्भावको साथमा स्वास्थ्यका लागि खेलकुद भन्ने नारासहित जात्राको अवसर पारेर भलिबल खेलाइएको वडाध्यक्ष डण्डु लामाले बताए । दुर्गममा जात्रा सञ्चालन गर्न निकै कठिनाइ रहेको लामाको भनाइ छ । ‘अरू गाउँबाट धेरै टाढा रहेको गाउँमा खेलकुद सहितको कार्यक्रम आयोजना गर्नु निकै चुनौतीपूर्ण छ’, उनले भने, ‘भौगोलिक अवस्थाका कारण मैदान राम्रो छैन, यति हुँदाहुँदै पनि खेलाडीको उपस्थिति र उत्साहले सुगम स्थानको भलिबल प्रतियोगिताजस्तै भयो ।’ लामाले यो नेपालकै सर्वाधिक उचाइमा आयोजना गरिएको भलिबल प्रतियोगिता भएकोसमेत दाबी गरे ।
प्रतियोगिताअघि कर्मचारी–सञ्चारकर्मी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण खेल भएको थियो । आफ्नो गाउँपालिकाको पर्यटकीय स्थलमा आएर मैत्रीपूर्ण भलिबल खेल्दा उक्त ठाउँप्रति अझ बढी अपनत्वको भावना जागृत भएको गाउँपालिकाका प्रवक्ता दीपेन्द्र लिवाङ बताउँछन् । हिमालको फेदमा पुगेर खेल सञ्चालन गर्न पाउँदा भलिबलप्रति गर्व महसुस भएको भलिबलका क्षेत्रीय रेफ्री प्रेम लोङ्वाले बताए । ‘ताप्लेजुङसहित नेपालमा यस्ता ओझेलमा परेका सुन्दर ठाउँहरू धेरै छन्’, लोङ्वा भन्छन्, ‘ती ठाउँको प्रवद्र्धन गर्न भलिबलले पनि ठूलो भूमिका खेल्ने रहेछ ।’
आगामी वर्ष प्रतियोगिता अझै व्यापक बनाएर राष्ट्रियस्तरका खेलाडी भिœयाउने र खेल पर्यटनको समेत विकास गर्ने योजना रहेको वडाध्यक्ष लामाको भनाइ छ ।
ताप्लेजुङमा पछिल्लो समय भलिबलको क्रेज बढ्दै गएको छ । सदरमुकाम फुङ्लिङमा हरेक वर्ष तीन लाख रुपियाँसम्म पुरस्कार राशिका प्रतियोगिता हुन थालेका छन् भने प्रत्येक गाउँमा सानाठूला प्रतियोगिता भइरहन्छन् ।