अकबरेले भाउ नपाउँदा किसान निराश
तेह्रथुम : अन्नबाली घटाएर छथर गाउँपालिका–१ आङदिमकी हिमादेवी भट्टराईले पाँच वर्षअघि अकबरे खुर्सानीको खेतीमा लागिन्। ग्रामीण क्षेत्रका कसैले पनि व्यावसायिक रूपमा नगरेको अकबरे खेती थालेको वर्ष नै उनलाई १ लाख आम्दानी भयो। खुर्सानी र यसको नर्सरीबाट उनले वर्षमा २ लाखभन्दा बढी बचत गर्न थालिन्।
अकबरेबाट राम्रो आम्दामी हुने देखेर छिमेकी पनि यसको व्यावसायिक खेतीमा लागे। ओख्रेकी भुमादेवी खड्काले पनि बर्सेनि सोचेअनुसारकै फाइदा लिँदै आएको सुनाइन्। व्यावसायिक अकबरे खेती गर्ने अगुवा किसानमा फाक्चामाराका गुमानसिंह कार्की, ओख्रेका नोचेन्द्र पौडेललगायत दर्जनका हाराहारीमा छन्।
यो वर्ष भने सबै किसान निराश छन्। सिजनमा गत वर्ष प्रतिकिलो ३ सय ५० रुपैयाँसम्ममा बिक्री भएको अकबरेले यस वर्षको सुरुमै मूल्य नपाउँदा किसान मर्कामा परेका छन्। गत सालसम्म लाखौं आम्दानी लिए पनि यसपटक अकबरे सस्तिएसँगै परि श्रम खेर जाने सम्भावना रहेको भुमादेवीले बताइन्। ‘अहिले प्रतिकिलो २ सय रुपैयाँमा पनि बिक्री हुन मुस्किल छ’, उनले भनिन्।
गत वर्षको तुलनामा अहिले ४० प्रतिशतले मूल्यमा गिरावट आएपछि किसान चिन्तित छन्। सानो लगानीमै धेरै आम्दानी लिन सकिने यो खेती पछिल्लो समय धेरै किसानको रोजीरोटीको माध्यम बनेको थियो। तर, मूल्यमा गिरावट आएपछि आफूहरू निराश भएको हमरजुङका हेम लिम्बूको भनाइ छ। ‘गएको वर्षसम्म त खुर्सानी खरिद गर्न व्यापारी किसानको बारीमै आइपुग्थे’, उनले भने, ‘तर, यसपटक हाटबजार निकाल्दा पनि खासै बिक्री भएको छैन।’
छथर क्षेत्रमा उत्पादित अकबरे पर्यटकले कोसेलीका रूपमा लैजाने क्रमसमेत घट्दो रहेको शुक्रबारेकी तिलामाया लिम्बूले बताइन्। ‘अकबरेबाट बर्सेनि लाखौं रुपैयाँ भिœयाउँदै आएका किसान यसपटक भने निराश छन्’, उनले भनिन्।
अकबरेको बजार व्यवस्थापनसँगै स्थानीयस्तरमा उद्योग स्थापना हुन नसक्दा यस्तो समस्या भोग्नुपरेको किसानको दुखेसो छ। गाउँपालिकाले कृषिमैत्री योजना ल्याउन नसकेको स्थानीय प्रकाश पाक्सावाको गुनासो छ। ‘अकबरे प्रशोधनबाट उत्पादन हुने विभिन्न परिकार तयार गर्ने साना उद्योग मात्र सञ्चालनमा आएको भए पनि राहत हुन्थ्यो’, उनले भने।
किसानको उत्पादनलाई बजार व्यवस्थापन गर्न स्थानीय सरकारले चासो नदेखाएको स्थानीयको गुनासो छ। उत्पादन मात्र बढ्ने तर बजार प्रवद्र्धन नहुदा यस्ता समस्या आउने किसानको ठहर छ। सुुुरुमा उत्पादन कम भएर मात्र बजार पाएको आङदिमकी हिमादेवी भट्टराईले बताइन्। ‘गाउँका सबै किसानले अहिले अकबरे खेती गर्छन्’, उनले भनिन्, ‘सबैले फलाएका खुर्सानी कहाँ लगेर बेच्ने भन्ने समस्या छ।’ छथर क्षेत्रका किसानले ० रोपनीसम्मको जमिनमा अकबरे खेती गर्दै आएका छन्।