प्राविधिक शिक्षा पढाउने शिक्षक अभाव
बुटवल : प्राविधिक विषयका विद्यालयमा कृषि पढाउने शिक्षक परिवर्तन भइरहँदा पठन पाठनमा समस्या हुने गरेको छ। स्थायित्व नहुँदा विद्यालयमा प्राविधिक विषय पढाउने शिक्षक केही समय पढाउने र राम्रो अवसर पाए अरु ठाउँ जाने गरेका छन्। कृषिमा यो समस्या अझ बढी देखिएको छ।
शिक्षक फेरबदल हुँदा कृषि पढ्ने विद्यार्थीले पठन पाठनमा केही असहज हुने गरेको छ। रुपन्देहीको देबदहमा नगरपालिकामा रहेको केरवानी माध्यमिक विद्यालयमा २ वर्ष अघि ९ कक्षाबाट प्राविधिक तर्फ कृषि विषय पढाइ हुन थालेको हो। यो शैक्षिक सत्रमा ११ कक्षामा पढाइ सुरु भएको छ।
केरवानी माविमा कृषि पढाउने २ जना शिक्षक फेरवदल भइसकेका छन्। बीएस्सी एजी पढेका एक जना शिक्षक छात्रबृत्ति कोटामा एम एस्सी पढ्न अमेरिका गए। अर्का एमएस्सी पास गरेका शिक्षक प्रोजेक्टमा जागीर खान गए। दुई जनाले लोक सेवा अन्तर्गत कृषि सेवामा लिखितमा नाम निकालेर बसेका छन्। अन्तर्वाताबाट छनोट भएमा फेरी २ जना शिक्षक नयाँ राख्नुपर्ने छ।
‘यही स्थायी भएको भए उहाँहरु विदेश पनि हिड्नुहुन्थेन, अर्को जागिर खान पनि जानुहुन्थेन।’ केरवानी माविका प्रअ दुर्गादत्त आचार्य शर्माले भने ‘अन्त अवसर पाउने वित्तिकै उहाँहरु हिँडिहाल्नुहुन्छ, त्यसैले प्राविधिक र व्यवसायीक विषय पढाउनेलाई पनि स्थायीको व्यवस्था गर्न अति आवश्यक छ।’ अहिले साधारण तर्फको शिक्षकको आवेदन खुलेको बेला प्राविधिक तर्फको प्रशिक्षक र सहायक प्रशिक्षकको आवेदन खुलेको छैन।
बुटवल उपमहानगरपालिका सेम्लारको नवरत्न उच्च माविमा २०६९ सालबाट ९ कक्षाबाट कृषि विषय पढाइ हुन थालेको हो। अहिले कक्षा १२ मा दोस्रो व्याचका विद्यार्थीले पढिरहेका छन्। नवरत्नमा पनि ७–८ जना शिक्षकहरु परिवर्तन भइसकेका छन्। ३ जना कृषि अन्तर्गतको सरकारी सेवामा नाम निकालेर गए। एक जना अर्को ठाउँमा पढाउन र बाँकी प्राजेक्टमा जागीर खान गएको विद्यालयका प्राचार्य हेमराज आचार्यले बताए। ‘बाहिर प्राजेक्टमा जानुभयो भने उहाँको मासिक ७०–८० हजार हुन्छ, यहाँ स्थायी नभएपछि ३०–४० हजारमा भुल्न भन्दा उता जानुहुन्छ।’
शैक्षिक सत्रको विचमै शिक्षक परिवर्तन हुँदा अर्को शिक्षक नआउँदा पठन पाठनमा केही समय रिक्तता पनि हुने गर्दछ। अर्को तर्फ एउटा शिक्षकमा बानी परेका विद्यार्थीलाई अर्को शिक्षकको सैलीमा अभ्यस्त हुन समय लाग्ने रुपन्देहीका पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा बताउँछन्।
‘विद्यार्थीले एउटा शिक्षकबाट पढ्दा एक खालको हाउभाउमा सिक्न पाउँथे अर्को शिक्षकले फरक ढंग र तौर तरिकाले पढाउँछन्। त्यसले बालबालीकाको सिकाइमा एडजस्ट हुन गाह्रो हुन्छ।’ उनले भने ‘त्यसैले स्थायीत्वको व्यवस्था हुनुपर्छ। अर्को तर्फ प्राविधिक विषय पढाउने राम्रो खालको शिक्षक पाउन कठीनाइ भइरहेको छ यसको सम्बन्धीत पक्षले छिट्टो व्यवस्थापन गर्नुपर्छ।’
रुपन्देहीमा नवरत्न र केरवानी बाहेक लुम्बिनी सांस्कृतीक नगरपालिकामा रहेको तेनुहवा माविमा कृषि पढाइ हुने गर्दछ। भविष्य राम्रो भएकाले विद्यार्थीहरु यो विषय तर्फ आकार्षित छन्। रुपन्देहीका विद्यालयमा बाहिरी जिल्लाबाट पनि कृषि पढ्न आएका छन्।
पर्वतबाट नवरत्नमा कृषि पढ्न आएकी इच्छा न्यौपाने भन्छिन् ‘यसमा धेरै स्कोप छ, राम्रो छ भनेर सुने, त्यसैले पढेको’ उनले भनिन् ‘पढेर कृषिलाई आधुनिकीकरण गर्ने, समाजलाई रुपान्तरण गर्नेछु।’ तर कृषि पढ्न अरु विषय भन्दा गाह्रो छ। ११ र १२ मा विज्ञान विज्ञान विषय अन्तर्गत पढ्नुपर्ने सबै जसो विषय पढ्नुपर्छ। त्यसबाहेक कृषीको कोर्ष छँदै छ। सैद्धान्तिक सँगै प्रयोगात्मक पनि उत्तिकै आवश्यक पर्छ। त्यसको लागि ल्याबसँगै खेतबारीमै अभ्यास पनि आवश्यक छ।