लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ
लुम्बिनी : लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। मन्त्रीहरूले प्रदेश प्रमुखसमक्ष शपथ लिएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले बिहीबार बुटवलमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ लिएका हुन्।
बर्दियाका जन्मजय तिमिल्सिना सामाजिक विकासमन्त्री, पश्चिम नवलपरासीका देवकरण कलवार वन तथा वातावरणमन्त्री र बाँकेका आदेश अग्रवालले आन्तरिक मामिला तथा कानुनमन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुन्।
लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले)का पाँच, कांग्रेसका पाँच र जसपाका एकगरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । मुख्यमन्त्री आचार्यले बुधबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो।
सोही आधारमा नव नियुक्त मन्त्रीको शपथ गरिएको हो । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।