कर्णालीमा मुख्यमन्त्रीका लागि दाबी पेश गर्न प्रदेश प्रमुखको आह्वान
वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले नयाँ सरकार गठन प्रक्रिया अघि बढाएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार सूचना जारी गर्दै संविधानको धारा १६८ को उपधारा (२) बमोजिम बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयद्वारा जारी पत्रअनुसार मुख्यमन्त्री कँडेलले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम साउन ९ गते साँझ ५ बजे लिखित राजीनामा दिएका थिए । उक्त राजीनामा सोही मितिदेखि लागू हुने गरी प्रदेश प्रमुखबाट स्वीकृत गरिएको पत्रमा उल्लेख छ ।
राजीनामा स्वीकृत भएसँगै संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको हो ।

प्रदेश प्रमुखको कार्यालयले इच्छुक प्रदेश सभा सदस्यलाई आवश्यक समर्थनसहित साउन १२ गते साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेश गर्न आग्रह गरेको छ ।
मुख्यमन्त्री कँडेलको राजीनामासँगै कर्णाली प्रदेशको राजनीतिक समीकरण फेरिएको छ। नेकपा र कांग्रेसका १६ जना सांसदले निवर्तमान मुख्यमन्त्री कंडेलबिरुद्व अविस्वासको प्रस्ताव दर्ता गराएका थिए । उनीहरुले नेपाली कांग्रेसका संसदिय दलका नेता जीवन शाहीलाई मुख्यमन्त्रीमा प्रस्ताव पनि गरेका थिए ।
शनिबार मात्र संघमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र नेकपाका संयोजक पुष्पकमल दाहालले प्रदेश सरकारहरुमा सहकार्यका लागि ३ बुँदे सहमति गरेर नयाँ गठबन्धन गरेपछि कर्णालीमा कांग्रेसका लागि ठूलो धक्का लाग्यो । अब नेकपा र एमालेको गठबन्धनबाट नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस !