नगरपालिकाको बस सेवाले हटायो कर्मचारीको दैनिक यात्राको सास्ती
धादिङ : संघीय राजधानी काठमाडौंमा बसोबास गर्दै धादिङको स्थानीय तहमा नियमित जागिर गर्नु सहज मानिँदैन। तर धादिङको धुनिवेशी नगरपालिकाले सञ्चालनमा ल्याएको कर्मचारी बस सेवाले यो सम्भव बनाएको छ। बस सेवाका कारण अधिकांश कर्मचारी काठमाडौंमै बसोबास गर्दै दैनिक समयमै कार्यालय पुगेर सेवामा खटिने गरेका छन्।
काठमाडौंसँग सीमा जोडिएको धुनिवेशी नगरपालिकामा कार्यरत अधिकांश कर्मचारी काठमाडौंका विभिन्न स्थानमा बसोबास गर्छन्। उनीहरू दैनिक काठमाडौंबाट कार्यालय आउजाउ गर्छन्। विगतमा सार्वजनिक यातायातमा निर्भर रहँदा समयमा कार्यालय पुग्न कठिन हुने, बेलुका घर फर्कने निश्चित समय नहुने तथा दैनिक यात्रा असहज हुने समस्या उनीहरूले भोग्दै आएका थिए।
यही समस्यालाई समाधान गर्न कर्मचारीहरूले लामो समयदेखि नगरपालिकासँग कर्मचारी बस सञ्चालनको माग गर्दै आएका थिए। नगरपालिकाले आफ्नै स्रोतबाट बस खरिद गर्ने योजना अघि बढाए पनि विरोधपछि उक्त योजना कार्यान्वयन हुन सकेन। त्यसपछि कर्मचारीहरूको पहलमा संघीय सरकारसँग बस उपलब्ध गराइदिन अनुरोध गरिएको थियो। संघीय सरकारले बस उपलब्ध गराएपछि नगरपालिकाले चालक नियुक्त गरी इन्धन, मर्मत–सम्भार तथा सञ्चालन खर्च आफ्नै स्रोतबाट व्यवस्थापन गर्दै नियमित रूपमा बस सेवा सञ्चालन गरिरहेको छ।
नगरप्रमुख बालकृष्ण आचार्यका अनुसार नगरपालिकाको कार्यालय पहिले पृथ्वी राजमार्ग नजिकै थियो। आफ्नै प्रशासनिक भवन निर्माणपछि कार्यालय राजमार्गबाट भित्र सारिँदा नियमित सार्वजनिक यातायातको सुविधा नहुँदा कर्मचारीलाई आवतजावत गर्न कठिन भएको थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै कर्मचारी बस सञ्चालनमा ल्याइएको उनले बताए।
उनका अनुसार बस सञ्चालनपछि सबै कर्मचारी एकै समयमा कार्यालय पुग्ने र कार्यालय समय पूरा भएपछि एकैसाथ फर्कने गरेका छन्। यसले ढिलो कार्यालय आउने वा कार्यालय समयअघि नै निस्कने प्रवृत्तिमा समेत नियन्त्रण आएको छ।
बस सेवाबाट कर्मचारीले दैनिक यातायात खर्च बचाउनुका साथै समयमै कार्यालय पुग्ने वातावरण बनेको कर्मचारी विद्या अर्याल बताउँछिन्। उनका अनुसार पहिले सार्वजनिक बसमा यात्रा गर्दा लामो समय कुर्नुपर्ने, धेरैजसो उभिएर यात्रा गर्नुपर्ने तथा लोकल बसले पटक-पटक यात्रु चढाउने र ओराल्ने गर्दा कार्यालय समयमा पुग्न कठिन हुने गरेको थियो। अहिले ती समस्या हटेको कर्मचारी कुशुम बास्तोलाको अनुभव छ।
नगरपालिकाका अनुसार बस सेवा कर्मचारीका लागि मात्र सीमित छैन। बसमा स्थान उपलब्ध भएका बेला सेवाग्राहीले पनि यही बस प्रयोग गरी नगरपालिका पुग्ने गरेका छन्। यसले कर्मचारीको समय व्यवस्थापन, सेवाप्रवाह र कार्यसंस्कृतिमा सकारात्मक प्रभाव पारेको नगरपालिकाको दाबी छ।
स्थानीय सरकारको पहलमा सञ्चालनमा आएको यो बस सेवा कर्मचारीको सुविधामा मात्र सीमित नभई सेवाग्राहीलाई समेत सहज पहुँच उपलब्ध गराउने अभ्यासका रूपमा स्थापित हुँदै गएको देखिन्छ। कर्मचारीको समय बचत, नियमित उपस्थितिमा सुधार र सेवाप्रवाहमा प्रभावकारिता बढाउन स्थानीय तहले थालेको यो अभ्यास अन्य स्थानीय तहका लागि पनि अनुकरणीय बन्न सक्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस !