तीन वर्षदेखि प्लास्टिकको टहरामा बसेका दुर्गाले पाए सुरक्षित घर

तीन वर्षदेखि प्लास्टिकको टहरामा बसेका दुर्गाले पाए सुरक्षित घर
सुन्नुहोस्

रोल्पा : रोल्पा नगरपालिका-२ धनाराका ६० वर्षीय दुर्गा बुढाले करिब तीन वर्षसम्म हिउँदको चिसो, बर्खाको झरी र गर्मीको चर्को घामलाई थोत्रो प्लास्टिकको टहरामुनि सहँदै दिन बिताए। बोल्न नसक्ने र कान पनि नसुन्ने अपांगता भएका बुढाको दयनीय जीवन अब भने परिवर्तन भएको छ। स्थानीय समाजसेवी, विभिन्न संघसंस्था र गाउँलेहरूको उत्साहजनक श्रमदानबाट उनको लागि सुरक्षित घर निर्माण गरी आइतबार हस्तान्तरण गरिएको छ।

एक कोठा सुत्ने र एक कोठा भान्सासहितको एकतले घर निर्माण सम्पन्न भएपछि आयोजित कार्यक्रममा घरको साँचो दुर्गा बुढालाई हस्तान्तरण गरिएको हो । घर हस्तान्तरणसँगै श्रमदानमा सहभागी सबै श्रमदाताप्रति आभार व्यक्त गर्दै धन्यवाद कार्यक्रम पनि सम्पन्न भएको थियो।

घर निर्माण अभियानको नेतृत्व समाजसेवी रामबहादुर बुढाथोकीले गरेका हुन्। उनले दुर्गाको टहरोमा रहेको कष्टकर जीवन देखेपछि समुदायलाई एकजुट गराएर घर निर्माणको अभियान थालेका थिए। ‘दुर्गाको बिजोग अवस्था देखेपछि उनलाई सुरक्षित घर बनाइदिनुपर्छ भन्ने सोच आयो। अभियान सुरु गरेपछि सहयोगी मन भएका व्यक्ति र विभिन्न संघसंस्था स्वःस्फूर्त रूपमा जोडिँदै गए’, बुढाथोकीले भने।

घर निर्माणमा पूर्व प्रहरी संगठन, भूतपूर्व सैनिक संघ, सूर्यदल गण, थलिबाङ टोल विकास संस्था, पारिजात आमा समूह, बाहीगाउँ भैलो समूह, गर्पा गाउँ, शोलबाङ लहरीखोला टोल तथा धनाराका स्थानीयवासी सक्रिय रूपमा श्रमदानमा जुटेका थिए।

घर निर्माणमा अधिकांश काम श्रमदानबाट सम्पन्न भएको छ। मिस्त्रीको ज्याला ४१ हजार ८ सय रुपैयाँ मात्र खर्च भएको बुढाथोकीले जानकारी दिए। उनले मिस्त्रीले समेत केही दिन निःशुल्क श्रमदान गरेको बताए।

घर निर्माणसँगै आवश्यक सामग्री व्यवस्थापनमा पनि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन्। घरमा आवश्यक फर्निचरको व्यवस्था बुढाथोकी स्वयंले गरेका छन्। लायन्स क्लबका अध्यक्ष ज्ञानेन्द्र आचार्यले भाँडाकुँडा, चन्द्रप्रकाश आचार्यले विद्युतीय वायरिङ, मानबहादुर गुरुङले ओढ्ने-ओछ्याउने सामग्री, रोल्पा नगरपालिकाकी उपप्रमुख गीता आचार्यले कपडा, मनबहादुर नेपालीले ट्याकसुट, युवा व्यवसायी किरण बुढाले घरायसी सामग्री तथा बाहीगाउँ भैलो समूहले खाद्यान्न उपलब्ध गराएका छन्।

घर निर्माणका लागि आवश्यक नगद सहयोग पनि विभिन्न दाताबाट जुटेको छ। अष्ट्रेलियामा रहेका राजु श्रेष्ठले २० हजार, भिमसेन घर्तीले ५ हजार, तुलसी खड्काले २ हजार, भुपेन्द्र डिसीले १ हजार ५ सय ५५, शिव आचार्यले १ हजार २ सय ५, विश्लेषणले १ हजार १ सय ५०, खटकबहादुर खत्री ‘तोराबोरा’ले २ हजार र पूर्व प्रहरी संगठनका अध्यक्ष तेजराज भण्डारीले २ हजार सहयोग गरेका थिए।

घर निर्माण सम्पन्न भएपछि दुर्गा बुढाले बोल्न नसके पनि हातको इसाराबाट खुसी व्यक्त गरेका थिए। उनका बुवाआमाको निधनपछि पुर्ख्यौली घर भत्किएर उनी घरविहीन भए। पछिल्लो समय त प्लास्टिकको टहरामुनि बस्न बाध्य भएका थिए। स्थानीयवासीका अनुसार यो अभियानले विपन्न र असहाय नागरिकका लागि समुदायको एकता, सहकार्य र मानवीय संवेदनाको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको छ। श्रमदानको संस्कृतिले समाजमा अझै पनि मानवता जीवित रहेको सन्देश दिएको उनीहरूको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.