सुन तस्करी : धरौटी र तारेखमा रिहा दुईजनालाई पनि उच्च अदालतले जेल पठायो
विराटनगर : चर्चित ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेकामध्ये धरौटी र साधारण तारेखमा छुटेका दुई जनालाई पनि उच्च अदालत विराटनगरले थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको छ ।
उच्च अदालत विराटनगरमा मंगलबार भएको बहसपछि जिल्ला अदालत मोरङबाट निलम्बित एसएसपी श्यामबहादुर खत्रीका चालक विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र सुरक्षा गार्ड अम्बरबहादुर थापामगरलाई साधारण तारेखमा रिहा गर्न दिएको आदेश बेरितको भएकाले बदर गरेको हो ।
उच्च अदालत विराटनगरका न्यायाधीश उमेशराज पौडेल र साधुराम सापकोटाको संयुक्त इजलासले ०७५ जेठ ८ गते भएको आदेश बेरितको देखिएकाले उनीहरुलाई थुनामा राखेर पुर्पक्ष गर्न आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी राजकुमार दाहालले बताए ।