व्यापारीको बजार बन्द फिर्ता
काठमाडौं : नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले सोमबार घोषणा गरेको बन्द कार्यक्रम फिर्ता लिएको छ । बजार बन्द हुँदा किसानको तरकारी खेतबारीमै नष्ट हुने जोखिम उत्पन्न हुने भन्दै महासंघले मंगलबार साँझदेखि बन्द कार्यक्रम फिर्ता लिएको हो ।
महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘हाम्रो बन्द कार्यक्रमले किसान मारमा पर्ने भएकाले किसानलाई मारमा नपार्ने गरी बन्दको कार्यक्रम फिर्ता लिएका छौं । तर हामीले उठाएका मुद्दाहरु सरकारले पूरा नगरेसम्म सांकेतिक रूपमा हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनकाअनुसार बुधबार बिहानदेखि कालिमाटी बजारमा नियमित रूपमै तरकारीको आपूर्ति र बिक्री वितरण हुनेछ ।
घिमिरेकाअनुसार कृषि बजार व्यवस्थित गर्न महासंघले चार वर्षदेखि कृषि, अर्थ, प्रधानमन्त्री कार्यालयमा जानकारी गराउँदै आएको छ । ‘तर आजसम्म हाम्रो माग सुनुवाइ भएन’, घिमिरेले भने ।
महासंघले सोमबार आह्वान गरेको बन्दका कारण कालिमाटी तरकारी बजारमा मंगलबार निकै कम कारोबार भएको छ । अन्य दिनको तुलनामा कालिमाटी बजारमा मंगलबार झन्डै साढे पाँच सय मेट्रिक टन हाराहारी तरकारी भित्रिएको छ । कम परिमाणमा तरकारी भित्रिँदा कारोबार पनि घटेको हो ।
महासंघको अगुवाइमा तरकारी आपूर्ति र बिक्री बितरणमा रोक लगाइएका कारण कालिमाटी बजारमा मंगलबार सय मेट्रिक टन तरकारी मात्रै भित्रिएको थियो । सामान्य दिनमा सात सयदेखि साढे ६ सय मेट्रिक टन हाराहारीमा तरकारी बजारमा भित्रिन्छ । ‘बजारमा आज सय मेट्रिक टन हाराहारी मात्रै तरकारी भित्रियो’, तरकारी बजारका उपनिर्देशक विनय श्रेष्ठले भने, ‘आएको तरकारी विहानै बिक्री भयो ।’ उनकाअनुसार भित्रिएको तरकारी पनि बिक्री भएका कारण दिनभर कालिमाटी बजार सुनसान बनेको थियो ।
तरकारी आपूर्ति गर्ने व्यापारीले अत्यावश्यक वस्तुको रूपमा रहेको तरकारीको आपूर्ति र बिक्रीमा रोक लगाएका कारण बजारमा थोरै परिमाणमा तरकारी भित्रिएको थियो । महासंघले आफ्ना महासचिव भरतप्रसाद खतिवडाको रिहा गर्नुपर्ने माग राखि मंगलबारदेखि देशभरका थोक बजार बन्द गर्ने चेतावनी दिँदै तरकारीको आपूर्ति र बिक्रीमा रोक लगाएको थियो । यसको प्रत्यक्ष प्रभाव कालिमाटी बजारमा परे पनि अन्य बजार भने पूर्ववत रूपमा सञ्चालन भएको थियो । अनुगमनका क्रममा अवरोध गरेको अभियोगमा सोमबार सरकारले खतिवडालाई पक्राउ गरेको थियो ।महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेकाअनुसार कालिमाटी बजारमा तरकारीको आपूर्ति नहुँदा मंगलबार करिब ६० लाख मूल्यबराबरको मात्रै कारोबार भएको थियो । सामान्य दिनमा उक्त बजारमा झन्डै तीन करोड मूल्यबराबरको तरकारी तथा फलफूलको कारोबार हुन्थ्यो । सामान्यतया दिनमा कालिमाटी बजारमा मकवानपुरबाट ३० लाख, काभ्रेबाट ३० लाख, धादिङबाट ४० लाख, ललितपुरबाट २० लाख र तराईका जिल्लाबाट ४० लाख गरी दैनिक करिब एक करोड ६० लाख मूल्यबराबरको तरकारी आपूर्ति हुने गरेको छ । यस्तै भारतलगायत तेस्रो मुलुकबाट दैनिक झन्डै ५० लाखको तरकारी आपूर्ति हुन्छ ।
यसैबीच सोमबार अनुगमनका क्रममा बिल बुझाउन नसकेको अभियोगमा सरकारले जफत गरेको बा ६ च ९६४ र ना ४ च ६६३४ नम्बरको ट्रकको तरकारी सरकारले बिक्री गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ती दुवै ट्रकमा रहेको फर्सी र काक्रो प्रहरीको सहयोगमा बिक्री गरेको हो ।
विभागका शाखा अधिकृत दीपक पोखरेलकाअनुसार कालिमाटीमा कायम रहेको मूल्यभन्दा कम मूल्यमा उक्त तरकारी बिक्री गरिएको हो । सुरुमा फर्सी ४० देखि ५० रुपैयाँ प्रतिकिलो र काक्रो ५० देखि ६० रुपैयाँमा बिक्री गर्न राखिएको थियो । उनले भने, ‘त्यो मूल्यमा बिक्री नभएपछि १५ देखि २० रुपैयाँ घटाएर तरकारी बिक्री गरेका छौं ।’ सर्वसाधारणका साथै सशस्त्र प्रहरीको टोलीले तरकारी खरिद गरेका थिए ।