रबर खेती फस्टाउँदै
भद्रपुर : झापामा धानपछि रबर खेती फस्टाउँदै गएको छ। गोरखामा २०४१ सालमा गोरखकाली रबर उद्योग स्थापनापछि यसको खेती हुन थालेको थियो। झापामा हाल मासिक १० टन रबर उत्पादन हुने गरेको छ।
यहाँ २०४८ सालमा थालिएको रबर खेती हाल करिब ९ सय ५० बिघा क्षेत्रफलमा फैलिएको छ। यो खेतीमा झन्डै १ सय ५० भन्दा बढी किसान आबद्ध रहेको जनाइएको छ।
अघिल्लो वर्ष झापामा १ करोड ४४ लाख रुपैयाँबराबरको रबरको कच्चा पदार्थ उत्पादन भएको थियो। नेपालमा वार्षिक १५ अर्ब रुपैयाँबराबरको रबर माग रहे पनि पाँच प्रतिशत मात्र आपूर्ति हुने गरेको जनाइएको छ। साबिकको शनिश्चरे गाविस–३ बाट सुरु भएको रबर खेती शनिश्चरे, खुदुनाबारी, बुधबारे, धाइजन, पृथ्वीनगर, भद्रपुर, घेराबारी, राजगढ, सुरुंगासम्म विस्तार भएको छ। यसबाहेक मोरङ र सुनसरी जिल्लामा पनि १५ हजार हेक्टर क्षेत्रफलमा रबर खेती गरिएको साना किसान प्राकृतिक रबर उत्पादक संघले जनाएको छ।
रबरको एउटा रूखले ३५ वर्षसम्म लगातार चोप दिन्छ। चोप दिन छाडेपछि रूख बिक्री गर्दा त्यसको पनि मूल्य राम्रो आउने भद्रपुरका ईश्वरी तिमिल्सिनाको भनाइ छ। उनका अनुसार रबरको काठ पानीजहाज बनाउन पनि प्रयोग गरिने हुनाले विदेशमा यसलाई बहुमूल्य मानिन्छ।
अर्जुनधारा नगरपालिकाको कृषि शाखा प्रमुख सालिकराम भट्टराईका अनुसार बिरुवा लगाएको सात वर्षपछि मात्र चोप आउन थाल्छ। त्यसपछि यसले ३५ वर्षसम्म निरन्तर आम्दानी दिइरहने भएकाले किसान रबर खेतीतर्पm आकर्षित भएको उनको भनाइ छ।
रबरबाट साइकल, गाडीलगायतको पांग्रा, बेलुन, कन्डम, इरेजर आदि ३५ हजारभन्दा बढी सामग्री बनाउन सकिने जनाइएको छ। जिल्लाका रबर किसानलाई लक्ष्य गरी यसअघि राष्ट्रिय औद्योगिक बाली विकास कार्यक्रममार्पmत तीन र जिल्ला कृषि विकास कार्यालयले दुई जनालाई अनुदान दिएको थियो।
सरकारले २०७४ सालमा झापालाई ‘रबर जोन’ जिल्लासमेत घोषणा गरेको थियो। १ हजार हेक्टरमा खेती लगाइए त्यसलाई ‘सुपर जोन’ र ५ सय हेक्टरमा खेती गरे ‘जोन’ घोषणा गर्ने चलन रहेको जनाइएको छ। सरकारले किसानको आपसी सदभावलाई ध्यान दिएर क्षेत्र निर्धारण गर्नुपर्ने किसान पुष्प रेग्मीको भनाइ छ। झापामा आगामी २०८२ साल असारसम्म सुपर जोन परियोजना सञ्चालनमा ल्याउने योजना छ।
नगदे बालीका रूपमा चिनिएको रबर खेती सामुदायिक वन समूहले पनि लगाउन थालेपछि प्रवद्र्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ काठमाडौंले झापालाई ‘रबर जोन’ घोषणा गरेको वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताए। ‘किसानले खेत मासेर रबर लगाउनुपर्दैन’, उनले भने, ‘किनभने, धान हुने ठाउँमा रबर हुँदैन र रबर हुने ठाउँमा धान हँदैन।’
झापामा जति रबर किसान छन् उनीहरू आपैmं प्राविधिकसमेत हुन्। भारतको केरलाबाट प्राविधिक ल्याउनुपर्ने भएकाले जिल्लाका दुई–चार जनाले सिकेर आएपछि सबैले एकअर्कामा ज्ञापन बाँड्ने गरेको जनाइएको छ। ब्राजिलबाट सुरु भएको मानिने रबर खेती २१ देखि ३५ डिग्री तापक्रममा फस्टाउने विज्ञ बताउँछन्।