प्रशिक्षक बिना विश्व च्याम्पियनसिप खेल्दै कुसुम

प्रशिक्षक बिना विश्व च्याम्पियनसिप खेल्दै कुसुम

काठमाडौं : हंगेरीको बुढापेस्टमा बुधबारदेखि सुरु हुने आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी कुसुम तामाङले प्रतिस्पर्धा गर्दै छिन्। ५७ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्न लागेकी कुसुम बिनाप्रशिक्षक हंगेरी पुगेकी छन्। हरेक प्रतियोगितामा प्रशिक्षक पनि अनिवार्य रूपमा सहभागी हुनुपर्ने प्रावधान छ। तर, नेपाल बक्सिङ संघले प्रशिक्षक नपठाई व्यवस्थापकका रूपमा संघका सदस्य पुष्करराज पन्तलाई हंगेरी पठाएको छ।

संघका अध्यक्ष राम अवालेले प्रशिक्षकहरू अहिले इन्डोनेसियामा सञ्चालन भइरहेको एसियाली खेलकुद (एसियाड) मा व्यस्त भएकाले कुसुमसँग प्रशिक्षक पठाउन नसकिएको बताए। ‘बक्सिङका प्रशिक्षकहरू एसियाडमा व्यस्त छन्। उनीहरु त्यहाँ व्यस्त हुँदा हंगेरीमा प्रशिक्षक पठाउन सकिएन’ अध्यक्ष अवालेले भने ‘हाम्रो प्रशिक्षक नभए पनि विभिन्न देशका प्रशिक्षकसँग सहयोग मागिएको छ। 
उनीहरूले कुसुमलाई सहयोग गर्छन्।’ उनले बजेट अभावका कारण हंगेरीमा प्रशिक्षक पठाउन नसकेको बताए। ‘राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी एसियाडमा गएकाले सरकारबाट कुनै सहयोग पाउन सकेनौं। संघले मात्र धेरै जनालाई पठाउन नसक्ने भएकाले दुई जनालाई मात्र हंगेरी पठाएका हौं’ अध्यक्ष अवालेले भने।

संघका सदस्य ओमनारायण श्रेष्ठले भने सुरुमा आफूलाई हंगेरी जान भनिए पनि आफ्नो ठाउँमा प्रशिक्षकलाई पठाउन आग्रह गरेको बताए। ‘अध्यक्षज्यूले सुरुमा मलाई जान भन्नु भएको थियो। मैले बिनाप्रशिक्षक नजाने अडान लिएपछि अध्यक्षले अर्का सदस्य पुष्करलाई पठाउनु भएछ’ सदस्य ओमनारायणले अन्नपूर्ण पोस्ट्सँग भने। उनले नेपालमा बक्सिङका अनुभवी प्रशिक्षकहरू थुप्रै भए पनि अध्यक्षले उनीहरूलाई किन नपठाएको भन्ने कुरा आफूलाई थाहा नभएको बताए।

उनले ‘स्टार’ कोचबिना प्रतियोगिता स्थलमै प्रवेश गर्न नपाइने भएकाले आफूले जान नमानेको बताए। ‘स्टार कोचबिना रिङ त परको कुरा प्रतियोगिता स्थलमै प्रवेश गर्न पाइँदैन। यस्तो अवस्थामा मैले त्यहाँ जानुको औचित्य देखिनँ र गइनँ’ सदस्य ओमनारायणले भने। उनले एसियाडमा सहभागीबाहेक थुप्रै प्रशिक्षक नेपालमै रहेको बताए।

बक्सिङका पूर्वमुख्य प्रशिक्षक प्रचण्ड शर्माले नेपालमा बक्सिङका धेरै अनुभवी प्रशिक्षक हुँदाहुँदै उनीहरूलाई बाइपास गरेर संघका सदस्यलाई पठाउनु रहस्यमय भएको बताए। ‘नेपालमा धेरै राम्रा प्रशिक्षक छन्। उनीहरूलाई किन बाइपास गरियो थाहा भएन’ पूर्व मुख्यप्रशिक्षक शर्माले भने।

शर्माले विश्व च्याम्पियनसिप जस्तो ठूलो प्रतियोगितामा प्रशिक्षक नपठाएर राष्ट्रकै बेइज्जत भएको बताए। ‘संघले खेलाडी पठाएँ भनेर झारा टार्ने काम मात्र गरेको छ। यसअघि इन्चोन एसियाडमा पनि नेपालको प्रशिक्षक नहुँदा भियतनाम र भारतीय प्रशिक्षकसँग हारगुहार गर्नु परेको थियो,’ शर्माले भने ‘एउटा प्रशिक्षक पनि पठाउन नसक्नु राष्ट्रकै बेइजती हो।’

 च्याम्पियनसिपमा भाग लिन नेपाली टोली गत आइतबार हंगेरी प्रस्थान गरेको थियो। कुसुम चार महिनाअघि थाइल्यान्डमा भएको एएसबीसी युथ बक्सिङ च्याम्पियनसिपको दोस्रो चरणमा पुगेकी थिइन्। उनले त्यही प्रतियोगिताको वरीयताका आधारमा च्याम्पियनसिप खेल्ने मौका पाएकी हुन्। उनी राखेप च्याम्पियनसिपको विजेता खेलाडी हुन्।

त्रिपुरेश्वरमा आयोजित बिदाइ कार्यक्रमपछि कुसुम र व्यवस्थापक पुष्करराज पन्त। अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.