चियाखेतीले तान्यो पर्यटक
बेसीशहर : गण्डकी प्रदेश क्षेत्रमा नै पहिलो पटक लमजुङको क्व्होँलासोँथरमा सुरु गरिएको चियाखेतीले आम्दानीसँगै पर्यटकसमेत आकर्षित गरेको छ । क्व्लोलासोँथर गाउँपालिकाको घलेगाउँ, भुजुङ, पसगाउँ, भोजे, घनपोखरा क्षेत्रमा लगाइएको चियाबारीमा घुम्न आउने आन्तरिक पर्यटक बढ्न थालेका छन् । विश्वमा नै उत्कृष्ट चिया उत्पादन गर्ने पूर्वी नेपालको सिको गर्दै लमजुङमा चिया खेती शुरुवात गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), ईलाका संरक्षण क्षेत्र आयोजना भुजुङको पहलमा २०५५ सालदेखि चिया खेती शुरुवात गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका लमजुङका प्रमुख राजेशप्रसाद गुप्ताले आयोजना क्षेत्रभित्रका नागरिकलाई आयआर्जन र स्वरोजगार बनाउन चिया खेतीको कार्यक्रम गरिएको बताए । इलामको जस्तो भु–बनोट भएकाले यहाँ चिया खेती फष्टाउँदै गएको छ । चिया खेती विस्तारका लािग विभिन्न ठाउँमा नर्सरीसमेत स्थापना गरिएको छ । एक्याप क्षेत्रभित्र भुजुङमा २ सय ५० रोपनी, पसागाउँमा एकसय र घलेगाउँमा ७० गरि एक्यापको अगुवाईमा हालसम्म ४ सय २० रोपनी क्षेत्रफलमा चिया खेति गरिँदै आएको छ ।
एक्यापभित्र पर्ने घलेगाउँमा जिल्ला भू–संरक्षण कार्यालयको सहयोगमा समेत चियाखेति विस्तार गरिएको छ । शुरुमा १० रोपनी क्षेत्रमा ३ बर्षका लागि परीक्षण गरिएकोमा सफल भएपछि स्थानीयवासिन्दाले २०५९ सालदेखि थप क्षेत्रफलमा चियाखेति विस्तार गरेका थिए । यहाँ तक्दा ७८ र गुम्दा नामक चियाको खेति गरिएको छ ।
समुन्द्री सतहदेखि झण्डै १ हजार ७ सय मीटरको उचाइ र सोही हाराहारीमा भुजुङ, घलेगाउँ र पसगाउँको चियाले ग्रामीण भेगमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको क्होलासोँथर गाउँपालिकाका अध्यक्ष प्रेम घलेले बताए । भुजुङमा १५ बर्षअघि इलामबाट चियाको बेर्ना ल्याएर स्थानीयले चिया खेती परीक्षण गरिएको थियो ।
सामूदायिक रुपमा गरिएको चिया खेतिबाट उत्पादन पनि शुरु भएको छ । करिब १ हजार ७ सय मिटरको उचाइमा लगाइएको चियाबारीले पछिल्लो पटक सबैको मन लोभ्याएको छ । चिया खेती हेर्नकै लागि दार्जलिङ, इलाम र झापा लगायतका ठांउमा अब जान नपर्ने भएको छ । ताकी हिमालकै काखमुनी रहेर चियाबारीमा रमाउन सार्क राष्ट्रकै नमुना ग्रामिण पर्यटकिय घलेगाउँ र ग्रामिण पर्यटकिय गाउँ भुजुङ काफि बनेको छ । पछिल्लो समययता पर्यटकिय गाउँहरु भुजुङ र घलेगाउँमा पुग्ने विद्यार्थी, आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख गन्तब्य स्थल चियाबारी बन्ने गरेको स्थानीय विनमाया गुरुङले बताईन् ।
जीवनस्तर उकास्न विस्तार गरिएको चियाखेतिले हिजोआज आन्तरिक तथा बाह्य पर्यटकहरुलाई समेत भित्राउन सहयोग पुगेपछि स्थानीयवासिन्दाले चियाखेतीलाई थप विस्तार गरेका छन् । पुस र माघ बाहेक हप्ता दिनमा चिया टिप्ने गरिएको स्थानीय बताउँछन् । भुजुङमा चिया प्रशोधन केन्द्रको स्थापना गरिएको छ । चिया खेति विस्तार हुँदै गएपछि अबको ३ बर्षमा चियाको ग्रेडिङ र चाल्ने मेशिन खरिद गरिने एक्यापले जनाएको छ ।
गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई चखाउनका लागी त्यही उत्पादन गरिएका चिया प्रयोग गर्ने गरीन्छ । होमस्टेहरुमा पाइने अर्गानिक खाद्यबस्तु अन्र्तगत भुजुङ र घलेगाउँको चियालाई लिने गरीएको छ । राम्रो प्रशोधन हुन नसक्दा बजारसम्म आउन नसकेपछि सदरमुकाम बेसीशहर, पोखरा, चितवन, काठमाडौंदेखि बिदेशी मुलुकमा रहेका आफन्तजनहरुलाई कोसेलीको रुपमा पठाउने गरेको स्थानियबासी बताउँछन् ।