स्थानीय सरकारलाई स्रोत र कर्मचारीको अभाव, ६ वडाको एउटै कार्यालय
बनेपा : काभ्रे जिल्लाका स्थानीय तहमा पर्याप्त स्रोत साधन र कर्मचारी नहुँदा सेवाप्रवाहमा समस्या हुँदै आएको छ। स्थानीय तह कार्यान्वयन भएको १५ महिना भइसक्दा पनि कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा जिल्लाका अधिकांश गाउँपालिका र नगरपालिकाका वडामा दैनिक प्रशासनिक काम प्रभावित हुँदै आइरहेको हो।
आफूहरूलाई दैनिक आवश्यक पर्ने प्रशासनिक काम र पुनर्निर्माणमा समेत समस्या भइरहेको सेवाग्राहीको गुनासो छ। जिल्लाको विकट गाउँपालिकामा कर्मचारी जान नमान्ने समस्याका कारण झन् समस्या बढ्दै गएको स्थानीय सरकारको गुनासो छ।
‘गाउँपालिकामा कार्यकारी नै छैन तीन वडा एउटै सचिवले हेर्नुपर्ने बाध्यता छ कसरी प्रभावकारी सेवा दिन सकिन्छ ? ’, चौरीदेउराली गाउँपालिका प्रमुख दिननाथ गौतम भन्छन्, ‘३५ कर्मचारी आवश्यक रहेको गाउँपालिकामा जम्मा दुई जना कर्मचारीले गाउँपालिका सञ्चालन गर्दै आएका छन्।’ उनले थपे ‘प्रमुख प्रशासकीय अधिकृत नै छैनन्, भएको पनि सरुवा भएर गए बाँकी एक लेखा अधिकृत र एक सुब्बा कर्मचारी छन्।’ उनका अनुसार, गाउँपालिकाको समस्या बारे पटक–पटक कर्मचारी नभएको केन्द्र र प्रदेश सरकारलाई जानकारी गराए पनि सुनुवाई नहुँदा आफूहरू समस्यामा पर्दै आएका छौं। चौरीमा एक वडा सचिवले तीन वटा वडामा बारअनुसार काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाई छ।
लामो समयदेखि एकजना प्रमुख प्रशासकीय अधिकृतका भरमा सिंगै गाउँपालिका सञ्चालन गर्नुपर्ने बाध्यता रहेको विकटमा रहेको महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा बताउँछन्। ‘सरकारले तोके अनुसारको कर्मचारी नै नहुँदा दैनिक सेवाप्रवाहमा समस्या हुँदै आएको छ, एक वडा सचिवले दुई÷तीन वटा वडा हेर्नुपर्ने बाध्यता छ।’ जिल्लामा सम्बन्धित निकायबाट पर्याप्त कर्मचारी नखटाइँदा प्रशासनिक कामदेखि भूकम्प लाभग्राहीले लिनुपर्ने सेवामा समेत समस्या हँदै आएको जिम्बाले बताए।
बेथाञ्चोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना, रोशी गाउँपालिका अध्यक्ष डिबी लामा, खानीखोलाका अध्यक्ष कृष्णबहादुर खुलाल, भुम्लुका अध्यक्ष गुमानध्वज कँवर, तेमाल गाउँपालिका सलामसिंह तामाङ, मण्डन देउपुर नगरपालिकाका टोपबहादुर वाईबा, नमोबुद्ध नगरपालिका टिपी शर्मा तिमल्सिना पाँचखाल नगरपालिकाका मेयर महेश खरेलसमेत कर्मचारी अभावमा सोचेजस्तो सेवाप्रवाह गर्न नसकेको गुनासो गर्छन्।
निर्वाचित भएको १५ महिना बिते पनि कर्मचारीको उचित व्यवस्थापन हुन नसक्दा प्रभावकारी सेवा दिन नसकेको बेथानचोक गाउँपालिका अध्यक्ष गोपाल तिमल्सिना बताउँछन्। ‘६ वडाका लागि जम्मा तीन सचिव रहेको र अन्य शाखासमेतमा कर्मचारी अभावले काम हुन सकेको छैन’, उनले भने। मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइवाले वडासचिव पर्याप्त नहुँदा एकै स्थानबाट ६ वडाको काम गर्नुपरेको दु:खेसो पोखे। ‘कर्मचारीको अभावमा वडा नं. ३ र ४, ५ र ६, ८ र ९ वडा सँगसँगै राखेर सेवा दिइरहेका छौं।’ उनले कर्मचारी नहुँदा सेवाग्राहीसमेत असर परेको गुनासो पोखे। सरकारले सिंहदरबारको अधिकार गाउँगाउँमा आउने बताए पनि वडामा सचिवसमेत नहुँदा सास्ती भोग्नुपर्ने बाध्यतामा छन्।