दर्जनौं स्थानमा पहिरो
सिन्धुली : प्राविधिक अध्ययन र लागतविनै करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका ग्रामीण सडकहरू वर्षायामसँगै कामै नलाग्ने भएका छन्। वर्षेनी करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका जिल्लाका त्यस्ता सडकमा चार महिनादेखि यातायातका साधन सञ्चालन ठप्पप्राय: भएका हुन्।
राजनीतिक पहँचका आधारमा बजेट विनियोजन गरी बजेट सक्नकै लागि निर्माण गरिएका दर्जनौं ग्रामीण सडकमा बाढी र पहिरोले क्षति गरेपछि यस्तो अवस्था आएको हो। प्राविधिक अध्ययन र लागत साथै वातारणीय प्रभाव मूल्यांकनविनै डोजर प्रयोग गरेर पहाड भत्काउँदाको परिणाम अहिले दु:खद् भएको स्थानीय भनाइ छ।
पहुँचवाला नेताले आफूनजिकका डोजर व्यावसायीलाई बजेट सक्न दीर्घकालीन सोचविनै निर्माण गरेका सडकमा हिउँदमा जोखिमपूर्ण यात्रा गर्ने गरेको भए पनि वर्षात् सुरुसँगै बाढी र पहिरोले बगाएर नामोनिसानसमेत नराखेको फिक्कल गाउँपालिकाका स्थानीय राजन परियारको गुनासो छ।
‘गाउँमा मध्यपहाडीको च्याखुटारबाट फिक्कलसम्म जाने ग्रामीण सडक निर्माण गर्न वर्षेनी करोडौं रुपैयाँ खर्च गर्ने गरेको भए पनि वर्षाका कारण सडक भत्केर कामै नलाग्ने अवस्थामा पुगेको छ’, उनले भने। करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएका सडकमा अहिले यातायातका साधन सञ्चालनको त कुरै छोडौं, मान्छे पैदल हिँड्नसमेत समस्या भएको उनले गुनासो गरे। ‘पहाडै थर्काएर ठुला डोजर लगाएर निर्माण गरिएका सडक वर्षाका कारण पूरै बग्न थालेपछि सडकमुनिका बस्ती बगाउने खतरा बढेको छ’, उनले थपे।
ग्रामीण सडक वर्षात्का कारण क्षति हुँदा पैदल हिँड्नसमेत समस्या भएको मरिण गाउँपालिकाका बासु मैनालीको पनि दु:खेसो छ। उनले चिप्लो, पहिरो र खाल्टाखुल्टी सडकले सवारी साधन सञ्चालनमै समस्या भएको जानकारी दिए। ‘वर्षात्पछि गाउँका सडकहरूमा सवारी साधनको त कुरै छोडौं, पैदल हिँड्नसमेत समस्या रहेछ’, उनले भने।
जिल्लामा यस्ता अधिकांश ग्रामीण सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानी तथा एम्बुलेन्स सञ्चालनमा समेत समस्या आएको पीडितको भनाई छ।
सडक निर्माण गर्दा नै करोडौं खर्चनु पर्ने र हरेक वर्षात्मा बिग्रने सडक मर्मतका लागि पुन: लाखौं रुपैयाँ खर्च गर्नु पर्ने बाध्यता छ।
वर्षाका कारण सिन्धुलीमाढीबाट मरिण क्षेत्रमा जाने सडक, कमलाखोँच जाने सडक, भीमस्थान चकमके जाने सडकका साथै जलकन्या, तीनतले, तीनकन्या लगायतका ग्रामीण सडकमा दर्जनौं स्थानमा ठुलठुला पहिरो झरेपछि सडक अवरुद्ध भएका छन्। ती सडकहरू मर्मतका लागि लाखौं रुपैयाँ लाग्ने बताइन्छ। पहिरोका कारण बिपी राजमार्गको सोलभन्ञ्याङबाट जलकन्या हुँदै मझुवासम्म पुग्ने करिब ४० किलोमिटर सडकमा दर्जनौं स्थानमा पहिरो गएको कमलामाई नगरपालिका–३ चपौलीका वडाध्यक्ष खड्ग चौलागाँईले बताए। सडक पहिरोले क्षति पुर्याएपछि त्यस क्षेत्रमा दैनिक सञ्चालन हुने ठुला तथा साना सवारी साधन दुई सातादेखि अवरुद्ध छन्। सडक अवरुद्ध हुँदा कृषि फलफूल लगायतका कृषि उत्पादन बजारसम्म ढुवानी गर्न समस्या भएको छ।