कैटरिनाका कारण ज्याकलिनले पाइनन् फिल्म
मुम्बई : प्रियंका चोपडाले फिल्म ‘भारत’ छोडेपछि यसको चर्चा निकै भयो । फिल्ममा अब सलमान खान र कैटरिना कैफले रोमान्स गर्ने भएका छन् । ‘टाइगर जिन्दा है’ पछि दुवै एकसाथ देखिन लागेका हुन् । यसअघि सलमान र कैटरिना दबंग टुरमा एकसाथ थिए ।
उनीहरूसँग ज्याकलिन फर्नान्डिज, डेजी शाह, मनीष पाल, सोनाक्षी सिन्हाजस्ता कलाकार पनि थिए । टुरमा ज्याकलिन र कैटरिनाको सम्बन्ध राम्रो थिएन । अहिले पनि फिल्म ‘भारत’ मा ज्याकलिनलाई कैटरिनाकै कारण रोल नदिइएको बताएको छ ।
प्रियंकाले ‘भारत’ छोडेको खबर पाउनेबित्तिकै ज्याकलिनले अली अब्बास र सलमान खानसँग कुरा गर्ने कोसिस गरेकी थिइन् । ज्याकलिज आफैं सलमानलाई भेट्न पनि गइन् तर काम बनेन । सलमान खानले ज्याकलिनको अनुरोध नकारे । रेस–३ मा दुवैले एकसाथ काम गरेका थिए । अब उनीहरू किक–२ मा पनि देखिँदै छन् । तर भारतमा भने कैटरिनाकै कारण ज्याकलिनले मौका पाइनन् ।