बढी कमाउनेमा सेरेना अगाडि
न्युयोर्क : अमेरिकी टेनिस सुन्दरी सेरेना विलियम्स बढी कमाउने महिला खेलाडीको शीर्ष स्थानमा छिन्। फोब्स म्यागाजिनले हालै सार्वजनिक गरेको वर्षको सर्वाधिक बढी कमाउने महिला खेलाडीको सूचीमा सेरेना अगाडि रहेकी हुन्।
फोब्सले सार्वजनिक गरेको शीर्ष १० महिला खेलाडीको सूचीमा आठ जना टेनिसका खेलाडी छन्। एक जना ब्याडमिन्टन र एक जना रेस कार ड्राइभिङकी खेलाडी छिन्। छोरीकी आमा बन्ने क्रममा १४ महिला कोर्ट बाहिर रहेर पनि सेरेनाले आर्थिक कमाइमा भने यो वर्ष पनि छलाङ मार्न सफल भइन्। उनी गत जुनदेखि कोर्टमा फर्किएकी थिइन्। सेरेनाले यस वर्ष पुरस्कार राशिबाट ६२ हजार अमेरिकी डलर कमाइन्। उनले विज्ञापनबाट भने १८ मिलियनभन्दा बढी अमेरिकी डलर हात पारेकी छन्।
यसैगरी दोस्रो स्थानमा टेनिसकै क्यारोलिन बजनियस्की छन्। उनले १३ मिलियन अमेरिकी डलर कमाएको फोब्सले जनाएको छ। तेस्रो स्थानमा रहेका टेनिसकै स्लोनी स्टेफेन्सले ११.२ मिलियन, चौथो स्थानमा रहेकी टेनिसकै गार्वियन मुगुर्जाले ११ मिलियन, पाँचौं स्थानमा रहेकी मारिया सारापोभाले १०.५ मिलियन र छैटौं स्थानमा रहेकी भेनस विलियमले १०.२ मिलियन अमेरिकी डलर कमाएकी छन्।
यसैगरी सातौं स्थानमा भारतकी ब्याडमिन्टन खेलाडी पीभी सिन्धु छिन्। उनको कमाइ ८.५ मिलियन अमेरिकी डलर छ। आठौं स्थानमा टेनिसकै सिमोना हालेप ७.७ मिलियन, नवौं स्थानमा कार रेसकी डानीका प्याट्रिक ७.५ मिलियन र १० औं स्थानमा टेनिसकी एन्जेलिक केरबर सात मिलियन अमेरिकी डलर रहेको छ।