घरेलु टोली इङ्ल्यान्डविरुद्ध भारत ठूलो अन्तरले विजयी
लन्डन : बुधबार अन्तिम दिनको खेलमा जेम्स एन्डरसन ११ रनमै आउट भएसँगै भारतले इङ्ल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा दुई सय तीन रनको ठूलो अन्तरको जित हात पारेको छ। यससँगै भारतले घरेलु टोली इङ्ल्यान्डविरुद्धको पाँच टेस्टको शृंखला पनि १–२ को अवस्थामा फर्काएको छ। यसअघि पहिलो र दोस्रो टेस्टमा भने इङ्ल्यान्ड विजयी भएको थियो।
भारतलाई तेस्रो टेस्ट आफ्नो पक्षमा पार्न बुधबार अन्तिम दिनको खेलमा मात्र एक विकेट आवश्यक थियो। जुन बुधबार १७ बलको खेल सम्भव हुँदा नै भारतले प्राप्त ग¥यो। रभिचन्द्रन आश्विनले एन्डरसनलाई अजिन्क्या रहानेद्वारा क्याच आउट गराएपछि भारतको जित निश्चित भएको थियो। पाँच सय २१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको इङ्ल्यान्ड एन्डरसन आउट हुँदा तीन सय १७ रनमै समेटिन पुगेको थियो।
यसअघि भारतले आफ्नो पहिलो पालीमा तीन सय २९ रन तथा दोस्रो पालीमा तीन सय ५२ रनको योगफल खडा गरेको थियो। इङ्ल्यान्ड आफ्नो पहिलो पालीमा एक सय ६१ रनको झिनो योगफलमै रोकिएपछि जितका लागि पाँच सय २१ रनको विशाल लक्ष्य पाएको थियो।
भारतलाई तेस्रो टेस्ट दिलाउन कप्तान विराट कोहलीसहित हार्दिक पान्ड्या र जसप्रित बुमराहले सशक्त प्रदर्शन दिए। कप्तान होहलीले पहिलो पालीमा ९७ रन जोड्दा दोस्रो पालीमा एक सय तीन रनको शतकीय पाली खेले। यस्तै पान्ड्याले पहिलो पालीमा इङ्ल्यान्डलाई सस्तो योगफलमा समेट्न २९ बलको अन्तरमा पाँच विकेट लिएका थिए। यस्तै बुमराहले पहिलो पालीमा दुई तथा दोस्रो पालीमा पाँच विकेट लिए।
इङ्ल्यान्डविरुद्ध भारतका तीव्र गतिका बलर निक्कै सफल देखिए। इङ्ल्यान्डविरुद्ध दुवै पालीमा गरी तीव्र गतिका बलरले १९ विकेट लिए। बुधबारको अन्तिम एक विकेट मात्रै भारतका लागि स्पिन बलमा प्राप्त सफलता बन्यो। अन्तिम दिनको खेल चाँडै सकिने सम्भावनाका कारण आयोजकले खेल हेर्न आउने दर्शकलाई बिना शुल्क स्टेडियम प्रवेश गर्न अनुमति दिएको थियो।