मिस नेपाल यूएसएको ताज दिलाशालाई
काठमाडौं : छैटौं 'मिस नेपाल यूएसए' को ताज आफ्ना १६ प्रतियोगीलाई पछि पार्दै नेब्रास्का निवासी २४ वर्षीया दिलाशा न्यौपानेले चुमेकी छन्। उनले शीर्ष उपाधिका साथ मिस एकाडेमिक एक्सिलेन्स अवार्डसमेत जितिन्।
टेक्ससमा आयोजित अन्तिम प्रतियोगितामा टेक्ससकी २२ वर्षीया पोसा घर्तीमगर फस्ट रनरअप भइन् भने कोलोराडोकी २१ वर्षीया कृति ढुंगेल सेकेन्ड रनरअप भइन्। घर्तीमगरले मिस पर्सनालिटी, मिसकल्चर र मिस फ्रेन्डली विधाको अवार्डसमेत जितिन्।
प्रतियोगितामा टेक्ससकी आयशा ओझा मिस पब्लिक च्वाइस बनिन्। सोर्वे फाउन्डेसनको सद्भावना दूतसमेतको अवसर हात पारेकी आयशाले मिस सोसल एक्सिलेन्सको समेत अवार्ड चुमिन्। यसैगरी अदीति श्रेष्ठले मिस डिसिप्लिन, निलिया गुरुङले मिस फोटोजेनिक, विना श्रेष्ठले मिस क्याटवाक, स्वीकृति भट्टराईले मिस ट्यालेन्ट र वियन्का अधिकारीले मिस नेपाल टेक्ससको उपाधि हात पारे।
सन् २०११ देखि अमेरिकाको न्युयोर्क सहरबाट सुरु भएको प्रतियोगिता ‘मिस नेपाल यूएसए’ का संस्थापक परिकल्पनाकार इप्लानेट नेपालका सन्तोष सापकोटा र अमेरिकामा युवा नेपाली इन्टरप्रेनर अमित शाह हुन्।
टेक्ससको डलास नजिकको सहर सिटी अफ प्लानोले समेत सहकार्य गरेको प्रतियोगितामा नेपाली समाज टेक्सस र नेपाल पर्यटन बोर्डको समेत सहभागिता थियो। पूर्वमिस नेपाल मेलिना जोशी, कोरियोग्राफर सुरेश मानन्धर र फोटोग्राफर राजीव श्रेष्ठलगायतका प्रशिक्षकबाट विभिन्न प्रशिक्षणसहित प्रतियोगी फाइनलमा उत्रिएका थिए। प्रतियोगी सिगार्ने जिम्मेवारी मञ्जु दुलाल (सापकोटा) ले गरेकी थिइन्।
अमेरिकामा रहेका नेपाली युवतीको सौन्दर्य र बौद्धिकता निखार्ने उद्देश्य रहेको यो प्रतियोगिता ‘इम्पावरिङ युथ, प्रोमोटिङ नेपाल’ मूलनाराका साथ आयोजना हुँदै आएको छ। यस पटकको प्रतियोगिताको होस्ट सञ्जय गुप्ता थिए भने प्रतियोगीको फेसन डिजाइन लजिमा सुब्बा र क्षतिजा शाक्यले तयार गरेका थिए। सौन्दर्य प्रतियोगीताको यो छैटौं संस्करण नेपाल ११ इन्टरटेनमेनन्का प्रतीक सुवेदीको व्यवस्थापनमा सम्पन्न भएको थियो।