ब्राजिल फुटबल संघका पूर्वअध्यक्षलाई ४ वर्ष जेल
जुरिच : ब्राजिल फुटबल संघका अध्यक्ष जोस मारिया मारिनलाई भ्रष्टाचारको आरोपमा चार वर्ष जेल चलान गरिएको छ । विश्व फुटबल महासंघ (फिफा) ले मारिनले कोफा अमेरिका फुटबलको मार्केटिङ कम्पनी परिवर्तन गर्न र प्रतियोगिताका बोर्डकास्टका लागि ठूला आर्थिक अनियमितता गरेको ठहर गर्दै चार वर्ष जेल सजायको कारबाही गरिएको हो । ८६ वर्षीय मारिनलाई यसअघि आर्थिक अनियमितता गरेको आरोपमा अमेरिकी सुरक्षाकर्मीले सन् २०१५ मा जुरिचस्थित एक होटेलबाट गिरफ्तारसमेत गरिएको थियो ।
मारिन सन् २०१२ देखि २०१५ सम्म ब्राजिल फुटबल संघका अध्यक्ष थिए । जेलसति मारिनलाई १.२ मिलियन अमेरिकी डलर जरिवानासमेत गरिएको छ । फिफाले अमेरिकी अनुसन्धान र सुरक्षा पदाधिकारीसँगको सहयोगमा अमेरिकी फुटबल महासंघको पदाधिकारीलाई जेलसहित आर्थिक जरिवानाको कारबाही गरेको यो पहिलो घटना हो ।
मारिनलाई गत डिसेम्बर २२ मा फुटबलको नाममा अनियमितता गर्दै अनाधिकृत रूपमा सम्पत्ति आर्जेको प्रमाणित गरेको थियो । फिफाको दुई सय मिलियन डलरको भ्रष्टाचार मुद्दामा मारिनलाई जेल हाल्नुपर्ने भन्दै उनीविरुद्ध चौतर्फी विरोध भएको थियो । मारिनले १३ महिना जेलसजाय बिताइसकेका छन् । उनलाई कम्तीमा १० वर्ष जेलसजाय हुनुपर्ने माग गरिए पनि स्वास्थ्य अवस्थाका कारण उनलाई जमानतमा रिहा पनि गराइएको थियो । मारिन साओ पाउलोका पूर्व गर्भनरसमेत हुन् ।