आजदेखि पाथीभरा गोल्डकप
फुङलिङ : सुदूरपूर्वको हिमाली जिल्ला ताप्लेजुङमा तेस्रो संस्करणको पाथीभरा गोल्डकप फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा भारत र काठमाडौंका एकएकसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
उद्घाटन खेलमा स्थानीय कञ्चनजंघा फुङलिङ क्लब ताप्लेजुङ र रेडहर्स क्लब इलाम भिड्नेछन् । सदरमुकामस्थित भानु माविको प्रांगणमा २०२९ सालदेखि विभिन्न नाममा खेल हुँदै आएको भए पनि तीन वर्षअगाडि नाम परिवर्तन गरी पाथीभरा गोल्डकप बनाइएको हो । यस वर्षदेखि प्रतियोगिताको पुरस्कार राशि पनि बढाइएको छ ।
प्रतियोगिताको विजेता टोलीले तीन लाख एक हजार एक सय ११ र उपविजेताले एक लाख ५१ हजार एक सय ११ रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दी म्याचले पाँच हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट विधाका खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले एक महिना लगाएर खेलमैदानको स्तरोन्नति गरेका छ । आठ हजार दर्शकले एकै पटकमा खेल अवलोकन गर्न सक्ने गरीको बाँसको प्याराफिट निर्माण गरिएको छ । दर्शकको चाप अत्याधिक बढ्दै गएकोले चार वर्षदेखि अस्थायी प्यारापिट बनाउन थालिएको हो ।