फोहोरको थुप्रोमाथि बगैंचा

फोहोरको थुप्रोमाथि बगैंचा

धनकुटा : फोहोरमैला फाल्ने ठाउँ अर्थात् ल्यान्डफिल साइट भन्नेबित्तिकै छिःछिः दुरदुर हुन सक्छ । तर, धनकुटा सदरमुकाम सल्लेरीस्थित ल्यान्डफिल साइट भने घुम्नलायक ठाउँ मात्र रहेन, यो बैठकस्थलसमेत बनेको छ ।

धनकुटाका सरकारी कार्यालय प्रमुखहरूको नियमित बैठक बिहीबार ल्यान्डफिल साइटमा बनेको बगैंचामा बसेको हो । पार्कजस्तै व्यवस्थापन गरिएको यो ठाउँ अहिले पर्यटकका लागि प्रमुख गन्तव्य बनेको छ । बैठकपछि प्रमुख जिल्ला अधिकारी सीताराम कार्कीले धनकुटाको फोहोर व्यवस्थापनबारे मिडियामार्फत सुनेको बताए । त्यही कारण आफूले बैठक यहीं राख्न प्रस्ताव गरेको उनले सुनाए । यही ल्यान्डफिल साइटबाट अन्य स्थानीय तहले पनि सिक्नुपर्ने उनको भनाइ छ ।

‘संघीय राजधानी काठमाडौंमा पनि फोहोर समस्या धेरै छ । कतिपय स्थानमा मान्छे हिँड्नै नसक्ने गरी फोहोर थुप्रिएको भेटिन्छ’, उनले भने । यस्तो अवस्थामा धनकुटा नगरपालिकाले गरेको फोहोर व्यवस्थापन उदाहरणीय र अनुकरणीय भएका कारण कार्यालय प्रमुखको बैठक यस ठाउँमा गरिएको उनले बताए ।

२०६६ सालमा स्थापना गरिएको ल्यान्डफिल साइटमा नगरपालिका क्षेत्रका मुख्य चोक तथा बजारको फोहोर दैनिक संकलन गरी व्यवस्थापन गरिँदै आएको छ । यही क्षेत्रमा ४० फिट गहिरो खाडल चार वर्षमा फोहोरले भरेर २०७१ सालमा बगैंचा निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले फोहोरमैला व्यवस्थापनका लागि दैनिक २० जना खटिन्छन् । अहिले दैनिक ४० घनमिटर फोहोर संकलन हुने गरेको धनकुटा नगरपालिका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

‘फोहोर संकलन केन्द्रमा नकुहिने फोहोर मात्र आउने गरेको छ’, उनले भने, ‘कुहिने फोहोर स्थानीय बासिन्दाले घरमै व्यवस्थापन गर्छन् ।’

फोहोर संकलन केन्द्र धनकुटा सदमुकाम घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि गन्तव्यस्थल बनेको छ । यो केन्द्रमा दैनिक सय हाराहारीमा पर्यटक आउँछन् । अन्य स्थानबाट आउने भ्रमण टोलीलाई नगरपालिकाले ५ हजार रुपैयाँ शुल्क तोकेको छ । चैतमा शुल्क तोकिएपछि चार महिनामा २७ टोली अवलोकनका लागि आएको र १ लाख रुपैयाँ आम्दानी भएको जनाइएको छ ।

बैठकको समन्वय गरेका सहायक प्रमुख जिल्ला अधिकारी नूरहरि खनालले नगरपालिकाको काम प्रशंसनीय र उदाहरणीय रहेको सुनाउँदै यहाँको फोहोर व्यवस्थापनको कुरा सबैले बुझुन् भनेर बैठक आयोजना गरिएको बताए । ‘सरकारी कार्यालयबाट निस्किने फोहोर थप फोहोर बनाउने कारक नबनोस्’, उनले भने, ‘बरु आम्दानी लिने स्रोत बनोस् भन्ने उदाहरण देखाउनु नै बैठकको मूल उद्देश्य हो ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.