सशस्त्रकै मिलेमतोमा सिमेन्ट तस्करी

सशस्त्रकै मिलेमतोमा सिमेन्ट तस्करी

विराटनगर : भारतबाट नेपालतर्फ सशस्त्र प्रहरीकै मिलेमतोमा भारतीय सिमेन्टको खुल्लेआम तस्करी भइरहेको पाइएको छ। ट्याक्टर र ट्रक समेतका ढुवानीका साधनको प्रयोग गरेर सिमेन्ट तस्करी भइरहे पनि सीमा क्षेत्रमा अवैधरुपमा हुने तस्करी नियन्त्रणको मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरीले नै तस्करीलाई सहयोग र समर्थन गर्दै आएको खुलेको छ।

भारतमा उत्पादन भएको सिमेन्ट भन्सार छली गरेर नेपाल भित्र्याउँदै व्यक्तिगत तथा सार्वजनिक संरचना निर्माणमा प्रयोग गरिँदै आएको स्थानीय बासिन्दाले बताएका छन्। भारतको बथनाहादेखि मोरङको कटहरी सम्मको रेल-वे निर्माणमा समेत तस्करी गरेर भारतबाट ल्याइएको सिमेन्ट प्रयोग गरिएको हुनसक्ने नेपाल प्रहरीको आशंका छ। 

१८ दशमल ६०१ किलोमिटर रेल-वे निर्माणको काम धमाधम भइरहेको छ। आगामी कात्तिक भित्रमा विराटनगर महानगरपालिका १६ लावाघाटसम्म रेल ल्याउने योजनासहित काम भइरहेको छ। सशस्त्रसँग 'सेटिङ' मिलाउँदै भारतमा उत्पादन गरिएको सिमेन्ट दैनिक रुपमा ट्याक्टर र ट्रकको प्रयोग गरेर नेपाल ल्याउने गरिएको स्थानीय बासिन्दाले बताएका छन्। तस्करीमा संलग्नले सशस्त्रसँग सिधै 'कनेक्सन' मिलाएर सीमावर्ती विभिन्न नाका हुँदै सिमेन्ट भित्र्याउने गरे पनि अन्य सरकारी निकायले समेत नियन्त्रणका लागि वास्ता नगर्ने गरेको उनीहरुको गुनासो छ। 

भारतबाट ल्याउँदै गरेको एक सय ५० बोरा सिमेन्टसहित एउटा ट्याक्टर र तस्करीमा संलग्न विराटनगर १८ का पंकज यादवलाई नेपाल प्रहरीले शुक्रबार बिहान विराटनगर १८ भेडियारीबाट नियन्त्रणमा लिएपछि सिमेन्ट तस्करीको रहस्य बाहिर आएको हो।

भारतमा उत्पादित कंक्रिटो फायभ एड्भान्टेज नामक सिमेन्टसहित को १ त ८४५ नम्बरको ट्याक्टर र विराटनगर १८ का पंकज यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोश निरौलाले बताए।

पक्राउ परेका यादव निर्माणाधिन रेल-वे लाइनका पेटी ठेकेदार समेत रहेको खुलेको छ। ठेकेदार यादवकै सक्रियतामा सिमेन्ट तस्करी हुने गरेको पाइएपछि रेल-वे निर्माणमा समेत तस्करी गरेर ल्याइएको भारतीय सिमेन्टकै प्रयोग हुने गरेको आशंकामा थप अनुसन्धान अघि बढाइएको प्रनि निरौलाले बताए। 

प्रहरीले बरामद भएको सिमेन्ट र नियन्त्रणमा लिइएको ट्याक्टरसहित यादवलाई आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएर अनुसन्धान थालेको हो। 'यादवले सुरुमा सिमेन्ट आफ्नो नभएको दावी गरिरहेका थिए,' निरौलाले भने, 'अनुसन्धान गर्दै जाँदा सिमेन्ट यादवकै भएको र उनी लामो समयदेखि सिमेन्ट तस्करीमा संलग्न रहेको खुलेको छ।'

भारतबाट सस्तोमा तस्करीको सिमेन्ट ल्याएर नेपालमा निर्माणधिन व्यक्तिगत संरचनाका लागि बेच्ने गरेको पाइएको उनले बताए। स्थानीय बासिन्दाले सशस्त्र प्रहरीलाई दैनिक रुपमा ठूलो मात्रामा भइरहेको सिमेन्ट तस्करीका बारेमा जानकारी दिइए पनि वास्ता नगर्ने गरेको गुनासो गरेका छन्। 

सिमेन्ट बरामद गरेको स्थल नजिकै बुधनगरस्थित सशस्त्र प्रहरी बेस क्याम्प पनि छ। नेपाल प्रहरीका अनुसार तस्करी भइरहेको सिमेन्ट नियन्त्रण गर्न सशस्त्र प्रहरीले सहजै सक्ने अवस्था थियो। स्थानीय बासिन्दाले अवैधरुपमा सिमेन्ट ल्याउँदै गरेको सूचना दिए पनि सशस्त्रले नियन्त्रणका लागि चासो नदिएको गुनासो गरेका छन्।

सिमेन्ट तस्करी गर्न तस्करले सशस्त्र प्रहरी बेस क्याम्प बुधनगरका प्रमुख इन्सपेक्टर कृष्ण पुजारा लगायत सशस्त्रका उच्च अधिकारीसँग 'सेटिङ' मिलाउने गरेको स्थानीय बासिन्दारको आरोप छ। 'सिमेन्ट तस्करी भइरहँदा सशस्त्र वास्तै गर्दैन,' एक स्थानीयले भने, 'त्यसको अर्थ 'सेटिङ' मिलाएर काम भइरहेको छ भन्ने नै हो।'

विराटनगर भन्सार कार्यालयका अनुसार भारतबाट भन्सार तिरेर भने सिमेन्ट ल्याउन पाइन्छ। नेपालमा उत्पादित सिमेन्ट महँगो पर्ने भएका कारण सस्तो पर्ने भारतीय सिमेन्ट तस्करी गरेर ल्याउने गरिएको नेपाल प्रहरीको भनाइ छ। 'भारतबाट सिमेन्ट ल्याउँदा नेपालमा भन्दा सस्तो पर्छ,' इप्रका रानीका प्रनि निरौलाले भने, 'सस्तो पर्ने भएकै कारण भन्सार छली गरेर सिमेन्टको तस्करी गर्ने गरेको पाइयो।'

भन्सार तिर्दा पनि मूल्य केही बढी पर्ने भएपछि सिमेन्टको तस्करी गर्ने गरिएको उनको भनाइ छ। सशस्त्रका इन्सपेक्टर पुजाराले भने तस्करीमा संलग्न कोही कसैसँग मिलेमतो नगरिएको दावी गरे। 'तस्करी नियन्त्रणका क्रममा धेरैका सामान पक्राउ गरियो होला,' उनले भने, 'तस्करीमा संलग्नले नै तस्करी गर्न नपाएपछि दुई नम्बरी धन्दा चलाउनेसँग सशस्त्रको मिलेमतो छ भनेर आरोप लगाएको हुन सक्छ।'

पुजाराले सीमा क्षेत्रबाट हुने तस्करी नियन्त्रणका लागि कोहीसँग पनि सम्झौता गर्न नसकिने बताउँदै अवैधरुपमा सामान चोरी तस्करी गर्न खोजेको पाइएमा तत्काल नियन्त्रणमा लिइने गरिएको जानकारी दिए।

सशस्त्र प्रहरी वल नेपाल गण हेडक्वाटर मोरङ नम्बर ३ का प्रमुख एसपी मनिष थापाले सशस्त्रकै मिलेमतोमा तस्करी भइरहेको भन्ने कुराको छानविन गरिने बताए। उनले तस्करीमा सशस्त्रमा कार्यरत कोही कसैको मिलेमतो र संलग्नता रहेको पाइएमा तत्काल कारवाही गरिने बताए। उनले भने, 'राजश्व चुहावट र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीले सीमा क्षेत्रमा ठूलै मेहनत गरिरहेको छ।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.