कञ्चनपुरमा प्रहरीको गोलीले घाइते भण्डारालाई भेट्न गृहमन्त्री अस्पतालमा
काठमाडौं : बालिका बलात्कारको विरोधमा बिहीबार आयोजित प्रदर्शनमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका महेन्द्रनगरका अर्जुन भण्डारालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भेटेका छन्।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पुगेर गृहमन्त्री बादलले भण्डाराको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए।
गृहमन्त्री बादलले घाइते भण्डाराका आफन्तलाई उपचार निःशुल्क हुने जानकारी गराएका छन्। ‘घटनाको यथार्थ बुझ्न अनुसन्धान गर्ने गरी उच्च स्तरीय समिति गठन भइसकेको छ’, घटनाको सत्य तथ्य समितिले बाहिर ल्याउँछ। ढुक्क भएर बिरामीको उपचार गर्नुहोस्। खर्चको व्यवस्था सरकारले गर्छ।’
गृहमन्त्री बादलले सबै घाइतेको स्वास्थय लाभको कामनासमेत गरेका छन्।
बिहीबार कञ्चनपुरमा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका छन्। घाइतेमध्ये महेन्द्रनगरका अर्जुन भण्डारालाई उपचारका लागि काठमाडौं ल्याइएको हो।
अर्का घाइते तेजराज भट्टको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। अन्य घाइते भने उपचारपछि घर फर्किएका छन्। कञ्चनपुरमा ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनापछि कञ्चनपुरमा तनाव भएको हो।